भोजपुर भिडन्तकाे नालीबेली : यसरी मारिएछन भोजपुरमा बिप्लवका नेता र घुमुवा प्रहरी(फाेटाेहरू सहित )

अ+
अ
अ-

भोजपुर / भोजपुरको सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान हुँदा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घुमुवाका रूपमा सक्रिय प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेका भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले जानकारी दिएका छन । उनले भने, ‘भोजपुर बजार नजिकै हटियामा प्रहरीमाथि विप्लवका कार्यकर्ताले गोली प्रहार गर्दा प्रहरीतर्फ एक जवानको मृत्यु भएको छ, मुसलधारे पानी परेकाले घटनास्थलमा जान सक्ने अवस्था छैन ।’ बुधबारे हटियामा भिडन्त भएको प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए । अहिले दुवैजनाको शव भोजपुर जिल्ला अस्पतालमा राखिएको छ ।

गत जेठ ७ गते ट्याम्के–मैयुङ गाउँपालिकाको धोद्रे जङ्गलमा प्रहरीको गोली लागेर भोजपुरकै कुदाक काउलेका तीर्थराज घिमिरे ‘राजु’ मारिए । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा लागेको २० दिनमै प्रहरीले चलाएको गोली लागेर उनले ज्यान गुमाएका थिए। तर, विप्लवलाई प्रहरीले गिरफ्तार गरेपछि गोली हानेर हत्या गरेको दाबी विप्लवले गर्दै आएको छ । विप्लवका एक नेता शैलेशले आफ्नो समूहमा रहेका तीर्थलाई प्रहरीले घेरामा हालेपछि समातेर यातना दिइ गोली हानेर हत्या गरेको दाबी गरेका थिए ।

आफ्ना कार्यकर्तालाई गिरफ्तार गरेपछि हत्या गरेको भन्दै विप्लवले त्यसको बदला लिने योजना सुरुबाटै बनाएको थियो । तर सोलुखम्बुको छेस्काममा प्रहरी चौकी कब्जा गरेको समाचार बाहिरिएसँगै विप्लवका नेता कार्यकर्ताले लुक्नुपर्ने बाध्यता आएको थियो । गत जेठ १९ गते छेस्काम चौकी घटनापछि सरकारले सशस्त्र र जनपथको ठुलो टोली उतारेर विप्लवको खोजी थालेको थियो । त्यसक्रममा भोजपुर, संखुवासभा र खोटाङबाट समेत प्रहरी टोली डिएसपीकै कमाण्डमा परिचालित थियो। प्रहरीको निरन्तर निगरानीका कारण खुम्चिन बाध्य विप्लवका कार्यकर्ता बर्षेझरीसँगै चलायमान भएका थिए । प्रतिकुल मौसमका कारण प्रहरीको गस्ती नियमित हुन नसकेपछि विप्लवका कार्यकर्ताको उपस्थित सदरमुकाम नजिकका गाउँसम्म पुगेको थियो ।
ट्याम्के मैयुङको धोद्रेमा आफ्ना एक कार्यकर्ताको प्रहरीले ज्यान लिएपछि विप्लवका कार्यकर्ता आक्रमक भएका थिए । यसको पुष्टि असार १८ गते ट्याम्के मैयुङ–१ को वडा कार्यालयमा आगजनी र तोडफोडले पुष्टि गर्छ । त्यही दिन भोजपुरको देउरालीस्थित सौदा चोकमा एउटा घरेलु बम भेटिएको थियो । जसलाई निष्कृय पार्न नेपाली सेनाको २ नम्बर बाहिनी कार्यलयबाट टोली नै आउनु परेको थियो ।

भोजपुर सदरमुकाम भन्दा केही तल शनिबार र बुधबार हटिया लाग्ने गर्छ । उक्त हटियाको पश्चिमतर्फ जनयुद्धको समयमा माओवादीमा हिँडेर भागेकी एक कार्यकर्ताले पाँचधारे होटल चलाइरहेकी छन् । उक्त होटलमा बुधबार बिहान साढे ८ बजेपछिको समयमा पुगेका थिए विप्लवका ओखलढुंगा सेक्रेटरी निरकुमार राई ‘प्रशान्त’ । उनको घर भोजपुरको साविक बोया गाउँ विकास समिति (हाल षडानन्द नगरपालिका) मा पर्छ । उनी अर्का साथी सहित पाँचधारे होटलमा बसेका थिए । प्रहरीको सूचनालाई मान्ने हो भने उनी बिहानै मदिराले मातेको अवस्थामा थिए । प्रशान्त पाँचधारे होटलमै रहेका बेला नेपाल प्रहरीका घुमुवा सञ्जीव राईसहितको सादा पोशाकको टोली होटलमा पस्यो ।

‘होटलमा पसेपछि प्रहरीको सादा पोशाकको टोली र प्रशान्तबीच विवादको अवस्था उत्पन्न भयो’, भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा भन्छन, ‘विवादकै क्रममा प्रशान्तले प्रहरी जवान सञ्जीवमाथि गोली हाने । त्यसपछि प्रहरीको जवाफी कारबाहीमा प्रशान्तको पनि ज्यान गयो ।’
यसैबिच प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालले भोजपुर घटनाबारे संसदलाई जानकारी गराएका छन् । बुधबारको संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा महानिरीक्षक खनालले घटनाबारे जानकारी गराएका छन ्। ’भोजपुर नगरपालिकाको हटिया बजारमा नेपाल प्रहरीमाथि एक्कासि गोली चल्यो, जवाफी फायरिङमा नेपाल प्रहरीका एक र विप्लव पक्षका एक कार्यकर्ताको मृत्यु भएको पुष्टि भएको छ’ महानिरीक्षक खनालले भने । घटनास्थलबाट एउटा चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको पनि महानिरीक्षक खनालले जानकारी दिए । महानिरीक्षक खनालका अनुसार नेपाल प्रहरीको घुमुवा टोलीमाथि एक्कासि गोली चलेको थियो ।

भिडन्तमा नेपाल प्रहरीका एकजना र विप्लवका कार्यकर्ता एकजना गरी दुईजनाको मृत्यु भएको छ । यता भोजपुर नै घर भएका नेत्रविक्रम चन्द ‘विप्लव’का एकजना केन्द्रीय सदस्यले भने प्रहरी जवान सञ्जीवको मृत्यु प्रहरीकै गोलीबाट भएको दाबी गरेको छ । ती केन्द्रीय सदस्यले अहिलेसम्म प्रहरी र सेनामाथि आक्रमण गर्ने आफूहरुको कुनै नीति नभएको दाबी गरे । ‘प्रशान्त ओखलढुंगा सेके्रेटरी हुन् । उनी पार्टीमा बिदा लिएर घर गएका थिए । उनले कुनै किसिमको हतियार बोकेका थिएनन’, विप्लवका ती नेताले भने, ‘प्रशान्तसँगको घम्साघम्सीका क्रममा प्रहरीले चलाएको गोली सञ्जीवलाई लागेको हो । प्रशान्त निसश्त्र थिए ।’ विप्लवका ती नेताले आफ्नै गोलीबाट सञ्जीवको मृत्युपछि प्रशान्तलाई प्रहरीले समातेर गोली हानेको दाबी गरेका छन । ‘प्रशान्तलाई होटलबाट बाहिर लगेर खोल्सामा गोली हानिएको छ’, उनले भने, ‘उनीसँग हतियार थिएन, उनको कार्यक्षेत्र भोजपुर नभएकाले उनी निशस्त्र अवस्थामा ओखलढुंगाबाट त्यहाँ पुगेका थिए ।’