बिप्लव कार्यकर्ता र प्रहरीको गोली हानाहान, गस्तीमा सेनाका तीन हेलिकोप्टर

अ+
अ
अ-

संखुवासभा / सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच सिलिचोङ गाउँपालिका–१ होयङमामा सोमबार बिहान गोली हानाहान भएपछि सेनाका तीनवटा हेलिकोप्टर पुगेका छन् । काठमाडौंबाट पुगेका नेपाली सेनाको हेलिकोप्टरले गोली हानाहान भएको सिलिचोङको क्षेत्रमा हवाई गस्ती गरिहेका छ । तीनै हेलिकोप्टरबाट काठमाडौँबाट सशस्त्र र नेपाल प्रहरीका ५० जना भन्दा धेरै सिपाहीँ सिलिचोङमा उतारिएको छ ।

सदरमुकाम खाँदबारी पुगेर सेनाको हेलिकोप्टरले सिलिचोङको बस्ती र मकालुवरुण जंगलको क्षेत्रमा गस्ती गरिरहेका हुन् । स्रोतका अनुसार सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५।२५ जनाको बेग्लाबेग्लै टोली सेनाको एमआई १७ हेलिकोप्टरबाट संखुवासभामा उतारिएको छ ।

सेनाका हेलिकोप्टरसँगै सदरमुकामबाट सशस्त्र प्रहरीको २० जनाको टोली स्थल गस्तीमा छ । त्यसैगरी प्रहरी निरीक्षकको कमाण्डमा थप १७ जनाको टोली पनि घटनास्थलतर्फ परिचालित भएको छ । ताम्कु र सिसुवाबाट पनि प्रहरीको टोली घटनास्थलतर्फ परिचालित भएको छ । सिलिचोङ गाउँपालिका–१ का वडाअध्यक्ष लक्ष्य राईले बिहान १० देखि साढे १० बजेको समयमा गाउँमा गोली चलेको बताएका छन् । उनका अनुसार अटोमेटिक राइफलबाट मकै पड्के जस्तै गोली चलेको हो । तर घटनामा हताहती या अन्य क्षतिबारे प्रहरीले केही बोलेको छैन । यसैबीच जिल्ला सुरक्षा समितिको बैठक सदरमुकाम खाँदबारीमा बसिरहेको छ । घटनाबारेमा जिल्लाका सुरक्षा अधिकारीहरुले बोल्न अस्वीकार गरिरहेका छन् ।

संखुवासभामा भएको भनिएको विप्लव समूहका कार्यकर्ता र प्रहरीवीचको फायरिङ निकै टाढा–टाढाको भएको प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर ज्ञवालीले जानकारी दिए । उनका अनुसार पहिला विप्लव समूहले फायरिङ खोलेपछि प्रहरीले जवाफी फायरिङ खोलेको हो । उनले भने, ‘त्यो फायरिङ निकै टाढाको फायरिङ हो । कुनै मानवीय क्षति वा अन्य कुनै घटना भएको छैन ।’ डिआइजी ज्ञवालीले प्रहरीको थप टोली घटनास्थलतर्फ लागेको बताएका छन ।