समाचार
भारतीय फिल्म अवार्डका लागि नेपालले बजेट छुट्याएको छैन : संचारमन्त्री बाँस्कोटा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारले भारतीय फिल्म एकेडेमी अवार्ड आइफाको लागि बजेट नछुट्याइएको स्पष्ट पार्नुभएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले आइफालाई नेपालमा कार्यक्रमको लागि स्थान दिएको भएपनि बजेट नछुट्याइएको दाबी गर्नुभयो ।
मन्त्री बास्कोटाले सरकारले जस्तोसुक्कै काम गर्दापनि आलोचना मात्रै गरेको भन्दै गुनासो समेत व्यक्त गर्नुभयो । सरकारले गरेको राम्रो कामलाई समेत नराम्रो भन्दै प्रचार गर्ने प्रचारवादी सोच भएका मानिसहरुको विकास भएको भन्दै उहाँले जनतालाई भ्रममा नपर्न सुझाव समेत दिनुभयो ।
आइफाको विषयमा बोल्दै मन्त्री बास्कोटाले भन्नुभयो नेपालमा गर्न दिने सरकारले निर्णय गरेको भएपनि बजेट भने छुट्याइए छैन । आइफाले नेपालमा कार्यक्रम गर्ने भनेर ठाउँ मागेकाले ठाउँ उपलब्ध गराउने निर्णय गरिएको उल्लेख गर्दै यस्तै कार्यक्रम गर्न हलिउडले प्रस्ताव ल्याए पनि सरकार सकारात्मक रहेको दाबी गर्नुभयो ।

