समाचार
विराटनगरमा दाईजो माग गर्ने पक्राउ
विराटनगर / दाईजो माग गर्दै ५ दिन अघि मण्डपमै बेहुली छाडेर हिंडेका मोरङको जहदा गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । राजवंशीले विवाह भइरहेका बेला दाईजो मागेको र दाईजो दिन नसक्ने बताएपछि यही जेठ ४ गते विहानका राति १ बजे मण्डपमै बेहुली छाडेर हिंडेको जाहेरी प्रहरीमा परेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार २४ वर्षीय राजवंशी र २१ वर्षीय एक युवतीबीच मागी विवाह भइरहेको थियो । त्यही क्रममा दाईजो नदिएको भन्दै बेहुली अस्वीकार गरेर बेहुला पक्ष फर्किएको थियो । बेहुला र बेहुली दुवै पक्षबीच कुराकानी भएर राजीखुसीका साथ जेठ ३ गते बिहे गर्ने सल्लाह भए बमोजिम बेहुली पक्षले बिहेको तयारी गरेको थियो । सबै तयारी पूरा गरेर बिहेको कार्यक्रम चलिरहेका बेला बेहुला राजवंशीले मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेवल दाईजो मागेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डीएसपी श्रेष्ठको भनाइ छ । उनका अनुसार आर्थिक अवस्था न्यून भएकोले माग भए बमोजिमको सामग्री दाईजो वापत दिन नसक्ने कुरा बेहुली पक्षले गरेसँगै राजवंशीले मण्डपमै बेहुली छाडेर हिंडेको पाइएको छ ।



