समाचार

कर्मचारी र भूमाफियाको मिलेमतोमा मैतीदेवीको जग्गा झ्वाम

काठमाडौं : गुठीयार र मालपोत कर्मचारीको मिलेमतोमा मैतीदेवी मन्दिरको जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरी भोगचलन गर्दै आएको पाइएको छ, जसका कारण मन्दिरको जग्गा मासिँदै गएको छ। राजधानी दैनिकमा समाचार छ।

नवदुर्गामध्येकी एक महत्त्वपूर्ण शक्तिपीठ मैतीदेवीको नाममा रहेको गुठी तथा निजी गुठीका नाममा रहेका जग्गा गुठीयार तथा भूमाफियाको चलखेलका कारण मासिँदै गएको हो। मन्दिरका गुठीयारले जग्गालाई निजी नाममा ल्याई विभिन्न व्यक्तिलाई भोगचलन गर्न दिएको प्रमाण राजधानीले फेला पारेको छ।

यसरी मन्दिरको जग्गा व्यक्तिकोमा जानुमा मालपोत कार्यालयको भूमिका शंकास्पद देखिएको छ। ३ भदौ २०५० मा मन्दिरको नाममा लालपुर्जा रहेको कित्ता नम्बर ९४ अन्तर्गत १५ आना २ पैसा जग्गा देवनारा मुनिकारको नामबाट सानुमाया मुनिकारले भोगचलनको अनुमति पाएको देखिन्छ। यद्यपि, मन्दिरको नाममा लालपुर्जा रहेकाले भोगचलनका लागि मन्दिरले स्वीकृति दिनुपर्ने हुन्छ।

हाल सो कित्ता तीन व्यक्तिका नाममा कित्ताकाट भई गएको मालपोत कार्यालयको तथ्यांकले देखाउँछ। यसरी मन्दिरको नाममा रहेको जग्गा कब्जा गर्न भूमाफिया र मालपोत कर्मचारीको मिलेमतो देखिएको छ। मन्दिर व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी पाएको मैतीदेवी क्षेत्र प्रबन्ध समितिका तत्कालीन सदस्य सचिव मोहनबहादुर श्रेष्ठले भूमाफियाका कारण मन्दिरको जग्गा मासिँदै गएको र यसमा भूमाफिया र मालपोत कर्मचारीको मिलेमतो रहेको दाबी गरे।

View Post

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *