समाचार

जन्मदेखि मृत्युसम्म ज्योतिष विज्ञानको महत्व उत्तिकै

भक्तपुर / आधुनिक युगमा पनि ज्योतिष विज्ञानको महत्व उत्तिकै रहेकामा सरोकारवालाले जोड दिएका छन् । नेपाल ज्योतिष परिषद् जिल्ला समिति भक्तपुरले आज आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले ज्योतिष हुँ भन्ने सबैमा यससम्बन्धी राम्रो ज्ञान नहुँदा जनमानसमा ज्योतिष विज्ञानप्रति विश्वास कमजोर हुन थालेको भन्दै चिन्ता व्यक्त गरे ।

आधुनिक युगमा पनि ज्योतिष विज्ञानको महत्व उत्तिकै रहेकामा जोड दिँदै उनले जनमानसमा विश्वास दिलाउन यस क्षेत्रमा समर्पित भएर लाग्ने सक्रिय हुनुपर्ने बताए । ज्योतिष विज्ञानको ख्याल नगर्दा समाजका विभिन्न क्षेत्रमा समस्या आएको भन्दै कर्ममय मानव जीवनका लागि कर्म गर्नका लागि शुभ मुहूर्तको आवश्यकता रहेकामा जोड दिए ।

उनले पर्व सुधारका लागि अधिक मासलाई एक महिनाअघि ल्याउन दबाब आएको भन्दै अधिक मासलाई १३ महिना नराखी १२ महिना कायम गर्नुपर्ने बताए । ज्योतिष मास हरेक ३२ महिना १६ दिनमा आउने गर्दछ । विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेलले शुक्र र बृहस्पति अस्त भएको बेला महत्वपूर्ण कर्म गर्न साइत नहुने बताए ।

दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष डा सहदेव बिष्टले ज्योतिष विज्ञानको महत्वका बारेमा जोड दिँदै समयलाई चिन्न नसक्ने मानिसले कहिल्यै उन्नति गर्न नसक्ने बताए । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका अध्यक्ष माधवराज पाण्डेले ज्योतिष विज्ञानको महत्व र प्रभाव मान्छेको जन्मदेखि मृत्युसम्म रहेको बताए ।

परिषद्का जिल्ला समिति अध्यक्ष केदारप्रसाद जोशीले ज्योतिष विज्ञान तथ्यपरक हुनुपर्नेमा जोड दिँदै खोजअनुसन्धानलाई जारी राख्दै ज्योतिष विज्ञानको महत्व र गरिमालाई जीवित राख्नुपर्ने बताए ।

कार्यक्रममा ज्योतिष डा वीरेन्द्रप्रसाद कायस्थ, ज्यो पण्डित बिष्णुदत्त लेखक र दिव्यश्ववर सिटौलाले कार्यपत्र प्रस्तुत गरे थिए । उनिहरुले वेद, पुराण, उपनिषद् र नीति दर्शनले नै यसको महत्व उजागर गरेको बताउँदै अन्धकारले नदेखिने वस्तु दीपकले देखाए झैँ ज्योतिष शास्त्रले पनि भूत, भविष्य र वर्तमानको आँकलन गर्ने उल्लेख गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *