बिचार/ब्लग

तरकारी बेचेको रकमले पक्की घर बनाउदै चौधरी, गर्छन वार्षिक तीन लाख बढी आम्दानी

तरकारी बिक्री गरेर आएको रकम जम्मा गरी कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ सुन्दरीफाँटाका गयाप्रसाद चौधरीले पक्की घर बनाउन थाल्नुभएको छ । सात वर्षदेखि व्यावसायिक तरकारी खेतीमा सङ्लग्न चौधरीले वार्षिक रुपमा रु तीन लाख बढी आम्दानी गर्दै आउनुभएको छ । उहाँको खेतमा बोडी, काँक्रा, लौका, रामतोरिया, फर्सी र खुर्सानी लटरम्म फलेको छ । हिउँदमा मात्रै खेतमा फलेको तरकारी बिक्री गरेर उहाँले रु एक लाख बढी आम्दानी गर्नुभएको थियो ।

मजदूरी गरेर विगतमा दैनिक मुस्किलले रु तीन सय ज्याला पाइन्थ्यो । उहाँले भन्नुभयो, “त्यो ज्यालाको रकमले घरखर्च चलाउनै मुस्किल थियो, तरकारीखेती गर्न थालेपछि विगतका दुःखका दिन बिर्सेका छौं ।” उहाँले थप्नुभयो, “तरकारी बेचेको रकमले घरखर्च सहज रुपमा चलाइ पक्की घर बनाउन थालेको छु ।

सबै तरकारी बिक्री गरेर आएको रकमले सम्भव बनाएको हो । ” गयाप्रसाद मात्रै गाउँमा तरकारीखेती गर्ने एक्ला किसान भने होइनन् । गाउँमा बसोवास गर्ने १४० परिवारमध्ये ७५ परिवार तरकारी खेतीमा संलग्न छन् । तरकारी खेतीमा संलग्न सबै जनाले पाँचदेखि दश कठ्ठा जग्गामा तरकारीखेती गरेका छन् ।

सबै भन्दा बढी कलावती चौधरीले हिउँदमा सय क्विन्टल बढी गोलभेँडा मात्रै बेच्नु भएको छ । गोलभेँडा बेचेर एकै मौसममा रु तीन लाख बढी आम्दानी हात परेको उहाँले बताउनुझयो ।

अहिले काँक्रा मात्रै २० क्विन्टल बित्री भइसकेको उहाँले बताउनुभयो । यो वर्ष काँक्रा धेरै फल्यो । उहाँले भन्नुझयो, “रु ४० हजारको काँक्रा बित्री भइसक्यो । अझmै खेतमा रु ५० हजार बढीको काँक्रा होला, त्यो बित्री गर्न बाँकी छ ।”

दुई छोरी र एक छोराको उच्च शिक्षा अध्ययानको खर्च तरकारी खेतीले धानिदै आएको उहाँले बताउनुभयो । तरकारी खेतीको कमाइबाटै कलुवापुरमा रु ५० हजार मूल्य पर्ने चौधरी परिवारले घडेरीका लागि जग्गा जोडेका छन् ।

तरकारीखेतीबाट छिमेकीले आम्दानी गरेको देखेर श्रीराम चौधरीले समेत पाँच कठ्ठा जग्गामा तरकारीखेती गर्न थाल्नुभएको छ । खेतमा अन्नबाली लगाइसकेपछि भारतमा कमाइका लागि जाने गर्नुभएका चौधरीले छिमेकीले तरकारीखेतीबाटै लाखौं कमाउन थालेको देखेपछि त्यसकै सिको गर्दै तरकारी खेतीलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।

तीन वर्षदेखि तरकारीखेती गर्दै आएका चौधरीले वार्षिक रुपमा रु एक लाख ७५ हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । भारतमा काम गरेर घर आउँदा रु २० हजार जति मात्रै कमाइ हुने गरको थियो । उहाँले भन्नुभयो, “तरकारी खेतीबाट त्यस भन्दा छ गुणा बढी आम्दानी हुनथालेको छ । तरकारी किन्नु परेको छैन । खेतबाट सहज रुपमा पाइन थालेको छ ।”

तरकारी खेतीबाट आम्दानी हुन थालेपछि भारत र वैदेशिक रोजगारीका लागि तेस्रोमुलुक तर्फ युवापलायन हुने क्रमसमेत रोकिएको छ । गाउँका युवा खेतमै पौरख गरेर तरकारी फलाइ आत्मर्निभरतर्फ उन्मुख भएको समाजसेवी मायाराम चौधरीले बताउनुभयो ।

तरकारी खेतीमा संलग्न धेरै जनाले आधुनिक तरिकाले खेती गर्नका लागि तालीम लिएका छन् । तरकारी खेतीमा रोगकीराको समस्या देखा परे मोबाइलबाटै जेटिएलाई फोन गरेर समाधानका उपायबारे जानकारी लिने गरेका छन् ।

सिँचाइका लागि तरकारीमा संलग्नहरुले आफ्नै लगानीमा स्यालो ट्युवेल जडान गरेका छन् । उत्पादित तरकारी गोरु गाडा, मोटरसाइकल र अटोमा राखेर बजारसम्म पुर्‍याएर बेच्दै आएका छन् । सडकको बिग्रदो अवस्थाका कारण वर्षातका बेला तरकारी ढुवानीमा निकै सास्ती व्यहोर्नु परेको बालकिसन चौधरीले बताउनु भयो । तरकारीमा संलग्नका बालबालिका सुविधा सम्पन्न काठमाडौँ, धनगढी र महेन्द्रनगर लगायतका कलेज र विद्यालयमा पढ्दैआएका छन् ।

तरकारी खेतीमा लागेकाको जग्गा ऐलानी हुँदा बैंकलगायतका वित्तीय संस्थाबाट ऋण नपाउँदा तरकारी खेतीलाई विस्तार गर्न र अझै बढी आधुनिक बनाइ बढी उत्पादन लिनबाट वञ्चित रहेका छन् ।

अधिकांशले गाउँका कृषि समूह र महिला समूहबाट ऋण लिई तरकारी खेतीका लागि आवश्यक रासायनिक मल, किटनाशक, बीउ र कृषि औंजार खरीद गर्दै आएका छन् । तरकारीखेतीका लागि कुनै पनि निकायबाट सहयोग नपाइएको किसानको भनाइ थियो ।
सुन्दरीफाँटा गाउँका बासिन्दाले वार्षिक रुपमा रु ६० लाख बढीको तरकारी उत्पादन गर्दै आएका बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *