बिचार/ब्लग
चादनी शाहले “उकाली ओरालिहरुमा”जस्तो राम्रो गीत रचना गरिकी थिइन,यो गीत उनको जिवनको अन्तिम पलको घटनासँग मिलेको थियो
कवयित्री चाँदनी शाहको कलमले यथार्थताको धरातल समातेको पाइन्छ । पीडा, बोझ र समस्यालाई अनुभूति गर्न र तिनै बेहोरा कल्पना गर्नमा निक्कै भिन्नता हुन्छ । राष्ट्रिय दायित्वमा रहेर पनि आफ्नो जिन्दगानीलाई सरलताका साथ अरूमाझ प्रस्तुत गर्ने काम कठिन हुन्छ र त्यो एउटा तपस्या पनि मानिन्छ ।रानी ऐर्श्र्यबाट चाँदनी शाहको नाउँद्वारा साहित्यको सृजना हुने गथ्र्यो । त्यसैले पनि ‘चाँदनी शाहका रचना’ (गीतिकवितासङ्ग्रह : २०४३) नेपाली जनजीवनमा चर्चित भयो । कवयित्री शाहका काव्यमा नेपाली जनजीवनको टड्कारो प्रतिविम्ब पाइन्छ ।
शाहका प्रायः सम्पूर्ण गीतिकविताहरू तारादेवीद्वारा गाइएका छन् भने अधिकांश गीतहरू नातिकाजीद्वारा सङ्गीतबद्ध भएका छन् । चाँदनी शाहका गीत नारायणगोपाल, शिवशङ्कर, तारा थापा, मिलन चँखू, आनन्द कार्की र कुन्ती मोक्तानद्वारा पनि गाइएका छन् भने उनका गीतमा अम्बर गुरुङ, शिवशङ्कर, दीपक जङ्गम र शिलाबहादुर मोक्तानका सङ्गीत पनि परिसकेका छन् । उनका रचनाको विविध भाषामा अनुवाद भएको छ भने प्रतिनिधि नेपाली साहित्यकारका समीक्षामा आधारित नरेन्द्रराज प्रसाईको सम्पादनमा ‘चाँदनी शाह : आफ्नै आकाश, आफ्नै परिवेश’ (२०४३) नामक बृहत् समालोचनात्मक ग्रन्थ पनि प्रकाशित भएको छ ।
