समाचार

अपराध लुकाउने थलो बन्दै ‘कोसी ब्यारेज’, एउटा खोज्दा भेटियो अर्को शव

मोरङ / मोरङको बेलबारी नगरपालिका–४ की २६ वर्षीय रमिला राईको हत्या गरेर सप्तकोसी नदीमा फ्यालेको सूचनाका आधारमा सोमबार पनि दिनभर प्रहरीले शवको खोजी ग¥यो । गत शक्रबारदेखि खोजीलाई निरन्तरता दिने काम भइरहेको छ । नेकपाका नेता एवं तत्कालिन एमालेको बेलबारीका पूर्व अध्यक्ष योगेन्द्र गुरुङले हत्या गरेर फ्यालेको बताएपछि गत शुक्रबारदेखि निरन्तर रुपमा शवको खोजी भइरहेको छ । तर फागुन १७ गते रातिबाट बेपत्ता भएकी रमिलाको शव फेला पर्न सकेको छैन । बरु त्यही शवको खोजी गर्ने क्रममा अर्की एक युवतीको शव फेला परेको छ ।

रमिलाको शव खोजीका लागि खटिएको प्रहरी टोलीले कोसी ब्यारेजबाट अन्दाजी ८ सय मिटर दक्षिणमा शनिबार अर्को शव फेला पारेर अनुसन्धानका लागि सप्तरी प्रहरीको जिम्मा लगाएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ तर्फ अन्दाजी ३०÷३२ वर्षको पहाडे मुलको जस्तो देखिने युवतीको शव पानी भित्र सडेको अवस्थामा फेला परेको हो । घाँटीमा सिक्री लगाएकी युवतीको शव पूरै सडेको, शरीरका केही भाग माछाले खाएकोले नचिनिने र निवस्त्र अवस्थामा रहेको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले बताए । उनले सप्तरीमा काहीं पनि यस अघि महिला वा युवती बेपत्ता भएको र हराएको भन्ने कुनै निवेदन भने नपरेको बताए ।

आफ्नै इलाकामा शव फेला परेका कारण अनुसन्धान भने सप्तरीबाटै भइरहेको एसपी बिष्टको भनाइ छ । चिनेजानेका कोही पनि सम्पर्कमा नआएका कारण पहिचान खुल्न नसकेको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको जानकारी उनले दिए । उनका अनुसार पुलमा अड्किएर रहेको आशंकामा रमिलाको शव भेटिन्छ कि भनेर कोसी ब्यारेजका ५२ वटै ढोका खुल्ला गरेर खोजी गर्ने क्रममा अलि तल युवतीको शव फेला परेको हो ।

पहिचान नखुलेकी युवतीलाई पनि कोही कसैले कहींबाट हत्या गरेर ल्याएर सप्तकोसी नदीमा फ्यालिदिएको हुन सक्ने प्रहरी अनुमान छ । ‘अन्यत्र कहीं हत्या गरेपछि ल्याएर शव फ्यालिदिएको हुन सक्छ,’ एसपी बिष्टले भने, ‘साथी–साथी घुम्न आउने क्रममा नदीतिर धकेलिदिएको पनि हुन सक्ने अनुमान गरिएको छ ।’ शव निवस्त्र अवस्थामा भेटिएका कारण बलात्कारपछि हत्या गरेर फ्यालेको हुन सक्ने प्रहरी आशंका छ ।

फागुन १७ गते राति बेलबारीका नेकपा नेता गुरुङले आफ्नै घरमा मुख र नाक थुनेर हत्या गरेपछि बोरामा पोको पार्दै बा १५ च ७९१६ नम्बरको गाडीमा राखेर कोसी ब्यारेज पु¥याएपछि रमिलाको शव नदीमा फ्यालिदिएको बताएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । ‘सीसी टिभीका केही फुटेजले पनि उक्त गाडी फागुन १७ गते राति इटहरीबाट पश्चिम लागेको देखाउँछ,’ उनले भने, ‘भोलीपल्ट विहान ४ बजेतिर गोठगाउँबाट पूर्व लागेको पुष्टि हुन्छ ।’ कोसी ब्यारेजमा रहेको सीसी टिभी फुटेजमा पनि राति १ बजेतिर गुरुङको उक्त गाडी पुल प्रवेश गरेको देखिन्छ ।

गुरुङले कोसी ब्यारेजको २९ नम्बर गेटबाट शव नदीमा फ्यालिदिएको अनुसन्धानको क्रममा लिइएको बयानमा बताएका छन् । गत शनिबार गुरुङलाई पनि शवको खोजीका लागि कोसी ब्यारेज पु¥याइएको थियो । त्यसपछि स्थानीय बासिन्दा, नेपाल र सशस्त्र प्रहरीले खोजी जारी राखेका छन् । ‘उद्धार विज्ञ टोली, पौडी खेल्न सक्ने पौडीबाज प्रहरी, नदीमा माछा मार्ने पेशा चलाउँदै आएका माझीहरु पनि शवको खोजीमा जुटेका छन्,’ एसपी केसीले भने, ‘डुंगाको सहायताले स्पेशल टोलीले पनि सप्तकोसी आसपास र पानी भित्र खोजी गर्ने काम भइरहेको छ ।’

प्रहरीका अनुसार गुरुङको लोकेशन घटना भएको भनिएको समयमा कोसी ब्यारेज आसपासमै देखाएको छ । ‘लगातार शव खोजी गरिरहे पनि फेला परेको छैन,’ प्रहरीका एक अनुसन्धान अधिकृलते भने, ‘भनेको मात्रै आधारमा शव नभेटिएसम्म अपराध स्थापित गर्न गाह्रो हुन्छ ।’ बरामद गरिएको गुरुङको गाडीबाट पनि घटनाका बारेमा केही सुवत प्रमाणहरु फेला पार्न नसकिएको उनले बताए । भौतिक सवुत प्रमाणहरुले अपराधलाई पुष्टि गर्न सक्नु पर्ने अवस्थामा तत्कालै गुरुङलाई पक्राउ नगर्दा शव नै नभेटिएपछि तनाव थपिएको प्रहरीको भनाइ छ । ‘रमिला बेपत्ता भएकै दिन गुरुङलाई नियन्त्रणमा लिन सकेको भए हुन्थ्यो । त्यसको एक सातापछि भागेर इलाम पुगेको अवस्थामा पक्राउ गर्न सकियो,’ ती अनुसन्धान अधिकृतले भने, ‘प्रमाणहरु नष्ट गर्न गुरुङलाई एक साताको अवधि पर्याप्त भयो ।

कोसीमा शव फ्यालेको धेरै भएका कारण बगाएर भारततिर पु¥याइसकेकाले पनि फेला पार्न नसकिएको हुन सक्छ ।’ पूर्वपश्चिम राजमार्गमा पर्ने कोसी ब्यारेजमा २४ घण्टा नै चेकजाँचका लागि नेपाल र सशस्त्र प्रहरीको टोली तैनाथ छ । कोसी ब्यारेजसम्म पुग्न बेलबारीबाट राजमार्गका धेरैवटा प्रहरी युनिट काट्नु पर्छ । पुल प्रवेश गर्ने ठाउँ पनि नेपाल र सशस्त्र प्रहरीकै निगरानीमा हुन्छ । पुल तर्दा गुरुङले चलाएको गाडीको इन्ट्री समेत नगरको पाइएको छ । ‘तत्कालै त्यतिबेला नै उ माथि अनुसन्धान गर्न सकेको भए शव भेट्ने सम्भावना हुन्थ्यो,’ एक प्रहरीले भने, ‘रातको समयमा पुलको बीचमा गाडी रोकिएपछि अलि शंकास्पद रुपमा हेरिएको भए पनि गुरुङलाई तत्कालनै पक्राउ गर्न सकिन्थ्यो ।’

‘अझ रातको समयमा गुड्ने सवारी साधनमा अवैध वस्तुहरुको ओसारपसार र अपराधिक घटनाको सम्भावना बढी हुने हेक्का राखेर राम्रो सँग चेकजाँच गर्नु पर्ने हो । चेकजाँच भएको भए शव गाडीमा राखेर कोसीतर्फ हिंडेका गुरुङ बीचैबाट पक्राउ पर्थे,’ एक प्रहरी अधिकारीले भने, ‘राजमार्ग सुरक्षाका लागि अपनाइएको रणनीति कमजोर देखियो । रात परेका बेला धेरै ठाउँमा चेकजाँच हुनु पर्नेमा त्यो पनि देखिएन ।’

सुरक्षा लापरवाहीकै कारण गुरुङले मृत्त शरीर गाडीमा बोकेर कोसी ब्यारेज पु¥याउँदै सप्तकोसी नदीमा फ्याल्न सकेको प्रहरी अधिकारीहरुको ठम्याई छ । यस घटनाले सुरक्षा चेकजाँचमा हुने गरेको चरम लापरवाही र कमजोरीलाई उजागर गरेको स्थानीय रामेश्वर मण्डलले बताए । उनले पुलको पश्चिमतर्फ बढेको गाडी केही बेरमै फर्किएर आउँदा पनि वास्ता नगर्नु र राति गुड्ने गाडीलाई शंकास्पद रुपमा नहेरिनु कोसी ब्यारेज आसपासमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको ठूलो लापरवाही भएको बताए ।

रमिलाको शव सप्तकोसी नदीमा फ्यालेको र त्यसकै खोजी गर्दा अर्की युवतीको शव फेला परेपछि अपराधमा संलग्नले आफ्नो अपराध लुकाउने थलोका रुपमा कोसी ब्यारेजलाई प्रयोग गर्ने गरेको पुष्टि भएको प्रहरी अधिकारीको भनाइ छ । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र फूयालले सप्तकोसी नदी र कोसी ब्यारेज आसपासलाई संवेदनशील क्षेत्रका रुपमा लिएर विशेष निगरानी बढाउन थालिएको बताए । ‘एउटा खोज्दा अर्को शव फेला परेपछि हामी पनि अचम्ममा परेका छौं,’ उनले भने, ‘अपराधमा संलग्नले मान्छेको हत्या गरेपछि अपराधबाट सजिलै पार पाउन सप्तकोसीमा ल्याएर शव फ्यालिदिने गरेको यी दुई घटनाबाट पुष्टि हुन्छ ।’

हत्यामा संलग्नले नदीमा फ्यालेपछि नदीले बगाएर शव गायब बनाइहाल्ने र नभेटिने भएका कारण यसो गर्ने गरेको हुन सक्ने उनको ठम्याई छ । ‘कोसी ब्यारेजबाट फ्यालिएको शव तत्कालै भारतीय भूमिमा पुगिहाल्छ,’ उनले भने, ‘भारततर्फ शव भेटिए पनि भारतीय सुरक्षाकर्मीले नेपालबाट ल्याएको भनेर खासै मतलव नगर्ने र शव भेटिएको कुरा पनि नेपाली सुरक्षाकर्मीलाई जानकारी नदिने गर्दा अपराधमा संलग्नले उन्मुक्ती पाउने सम्भावना धेरै रहन्छ ।’

शव भेटिए पनि पानीले प्रमाण नष्ट गरिदिने र अनुसन्धानमा जटिलता उत्पन्न हुने भएकाले अपराधिक कार्य गर्ने व्यक्तिहरुलाई शव फ्याल्न अहिलेसम्म सजिलो स्थिती भइरहेको पाइएको डीएसपी फूयालले बताए । उनले कोसी ब्यारेज आसपासमा प्रविधि मैत्री निगरानी थालिने बताए । ‘कोही कसैले घुम्न लिएर जाने बहानामा पनि हत्या गरेर शव नदीमा फ्यालिदिन वा पानी खेल्ने बहानामा नदीतिर धकेलिदिन सक्ने देखियो,’ उनले भने, ‘अपराधबाट सहज रुपमा उन्मुक्ती पाउन पनि अन्त हत्या गरेर ल्याएको शव कोसी ब्यारेजको पुलबाट नदीतिर फ्यालिदिंदा पानीको बहाव उच्च रहने नदीले तत्कालै बगाएर लगिहाल्छ ।’

सम्पत्तिका लागि वा कुनै गलत नियत राखेर हुने हत्या जस्तो जघन्य अपराधको ढाकछोप गर्न नदीमा शव फ्यालिदिंदा प्रहरी र परिवारले खोजी गरे पनि नभेट्टाउने सम्भावन रहने उनले बताए । भने, ‘अपराध लुकाउन कोसी ब्यारेजलाई प्रयोग गर्दा प्रहरीलाई घटना अनुसन्धानमा चुनौति थपिएको छ ।’

गुरुङलाई म्याद थप

रमिलाको हत्या गरेर शव सप्तकोसीमा फ्यालेको बताएका गुरुङलाई प्रहरीले सोमबार व्यक्ति बेपत्ता पारेको कसूरमा म्याद थप गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी केसीले अदालतबाट म्याद थप गरेर गुरुङमाथि अनुसन्धान अघि बढाइएको जानकारी दिए । ‘शव फेला परेको भए कर्तब्य ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइने थियो,’ उनले भने, ‘तत्काल शव नभेटिएका कारण व्यक्ति बेपत्ता पारेको कसूरमा मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालिएको छ ।’ शव फेला परेपछि भने उनीमाथि कर्तब्य ज्यान मुद्दा नै चलाइने प्रहरीले जनाएको छ । शव नभेटिने सम्भावना पनि त्यत्तिकै रहेको प्रहरीको भनाइ छ ।

गुरुङ र रमिलाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र त्यही सम्बन्धमा दरार उत्पन्न भएपछि गुरुङले हत्या गरेर शव सप्तकोसी नदीमा फ्यालिदिएको हुन सक्ने प्रहरीको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *