समाचार

२०१७ मा भाषा परीक्षा उत्तीर्ण गरेका युवाले तत्काल रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह

काठमाडौँ, २८ कात्तिक । रोजगारी अनुमति प्रणाली इपिएस अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका युवाले तत्काल रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन् ।

सन् २०१८ को  भाषा परीक्षा उत्तीर्ण भएका व्यक्ति कामका लागि कोरिया पुगिसक्दासमेत सन् २०१७ मा परीक्षा उत्तीर्ण गरी सूचीमा रहेका युवा कोरिया जान नपाएको भन्दै उनीहरुले जतिसक्दो छिटो लैजान पहल गर्न आग्रह गरेका हुन् ।

इपिएस पीडित नेपाल समूह गठन गरी उनीहरुले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । आज शान्तिवाटिकामा आयोजित कार्यक्रममा पीडित समूहका अध्यक्ष लेखराज कार्कीले सन् २०१७ मा भाषा परीक्षा उत्तीर्ण भएका व्यक्तिको कोरिया जाने प्रक्रिया तत्काल अगाडि बढाइनुपर्ने बताउनुभयो ।

सन् २०१७ मा भाषा परीक्षा पास गरेका कामदारको प्रक्रिया अघि नबढाई २०१८ मा भाषा परीक्षा उत्तीर्ण गरेका कामदारलाई प्राथमिकता दिइएकाले आफूहरु अन्यायमा परेको उहाँले बताउनुभयो । इपिएस प्रणालीलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गरी भाषा परीक्षा उत्तीर्ण कामदारलाई कोरिया लगिसकेपछि मात्र नयाँ परीक्षा सञ्चालन गर्नसमेत उनीहरुले आग्रह गरेका छन् ।

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले २०१७ को भाषा परीक्षा उत्तीर्ण कामदारलाई प्राथमिकताका आधारमा लैजान त्यहाँको मानव संसाधन विभागसँग आग्रह गरेको छ । विभागका प्रतिनिधिसँग मङ्गलबार भएको छलफलमा सन् २०१७ को भाषा परीक्षा उत्तीर्ण गरी सूचीमा रहेका कामदारलाई समयावधिभित्रै कोरिया लैजान अनुरोध गरिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।

भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका कामदार दुई वर्षभित्र कोरिया गइसक्नुपर्ने प्रावधान छ । २०१७ को भाषा परीक्षा उत्तीर्ण गरी सूचीमा रहेका करीब पाँच हजार कामदार कोरिया जानबाट वञ्चित रहेको इपिएस नेपाल पीडित समूहले जनाएको छ ।

रोजगारीको आकर्षक गन्तव्यका रुपमा रहेको दक्षिण कोरिया नेपालीको रोजाइमा पर्दै आएको छ । गत असोज मसान्तसम्म ७५ हजार ६७९ कामदार रोजगारीका लागि कोरिया पुगेको इपिएस कोरिया शाखाले जनाएको छ । त्यस्तै सन् २०१८ को भाषा परीक्षा उत्तीर्ण गरेका सात हजार ९९८ मध्ये सात हजार ४८१ कामदार कोरिया पुगिसेका छन् । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *