समाचार
कर्मचारीतन्त्रमा पाइलैपिच्छे घुसखोरी : प्रचण्ड

चितवन / नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीतन्त्रमा पाईलै पिच्छे घुसखोरी हुने गरेको बताएका छन् । उनले घुसखोरीको अन्त्य नहुँदासम्म बिकास नहुने भन्दै कमचारीको मिलेमतोमा हुने घुसखोरी तोड्निु पर्ने बताए ।
निर्माण व्यवसायी संघ चितवनको २५ औं साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई प्याकेजमा ठेक्का दिने मिलेमतो कर्मचारीहरुबाटै हुने गरेको बताए । आफूले सरकार र मन्त्रालयको सचिवलाई भनेर ठूला विकास निर्माण एउटैलाई नदिन आग्रह गरेको स्मरण गर्दै उहाँले ठूलो ठेक्का एउटै ठेकेदारलाई दिने चलनले काम गरे पनि हुने नगरे पनि हुने शैली विकसित भैरहेको बताए ।
अध्यक्ष दाहालले पाँच÷सात वटा पुल एउटै ठेकेदारलाई दिदा साना निर्माण व्यवसायी रोएर हिँडेका उल्लेख गर्दै ठूला ठालुले ठेक्कामा एकाधिकार जमाएको गुनासो गरे । भूकम्प र नाकाबन्दीको समयमा निर्माण व्यवसायीहरुले काम गर्न नपाएको गुनासो विगतदेखि नै आएको बताउँदै उनले हर्जना नलगाईकन एक वर्ष समय थप्न आफ्नो पूरै पहल हुने आश्वासन दिए ।



