समाचार

एक दशकभित्र देशको मुहार फेरिन्छ :प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दशकभित्र देशको मुहार फेरिने बताएका छन् । सात दशक राजनीतिक आन्दोलन र परिवर्तनमा देश रुमल्लिएको र अब संविधान र संघीयता कार्यान्वयनमा आइसकेकाले एक दशकभित्र देशको मुहार फेरिने उनले बताए । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जारी अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको आइतबार समापन गर्नेक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

एमाले र माओवादी केन्द्रबीचको एकतासँगै देशमा अस्थिरतासमेत समाप्त भएको प्रचण्डले बताएका छन् । अब सबैको ध्यान विकास र समृद्धिकेन्द्रित हुनुपर्ने उनको भनाइ छ । उनले सोक्रममा अबको पहिलो काम जनताको अनुहारमा खुसी ल्याउने गरी काम गर्ने प्रतिबद्धता पनि जनाए । अन्नपूर्ण गाउँपालिका प्रचण्डको जन्मथलो पनि हो । यो गाउँपालिकालाई देशकै नमुनाका रूपमा स्थापित गरेर विश्वभरका मानिस एकपटक पुग्नैपर्ने स्थानको रूपमा विकास गर्ने उनको भनाइ छ ।

हाई अल्टिच्युड केन्द्र स्थापनाबारे अध्ययन
सो अवसरमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले घान्द्रुकमा हाई अल्टिच्युड तालिम केन्द्र स्थापना गर्न मन्त्रालयले अध्ययन गरिरहेको बताए । खेलकुद र पर्यटनलाई जोडेर यस क्षेत्रको विकाससँगै समृद्धिलाई संँगसँगै अघि बढाउने उनको भनाइ छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं महोत्सव संयोजक ललित गुरुङले समग्र अन्नपूर्ण आधारशिविर पदमार्ग क्षेत्रको विकास र पूर्वाधार निर्माण गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको जानकारी दिए ।

नयाँ पत्रिकालाई सम्मान
महोत्सव समापनका अवसरमा महोत्सव आयोजकले नयाँ पत्रिकालाई सम्मानसमेत गरेको छ । अन्नपूर्ण पदमार्गसँगै यस क्षेत्रको प्रचार–प्रचारमा विशेष सहयोग गरेकोमा नयाँ पत्रिकालाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पुष्पकमल दाहल प्रचण्डले नयाँ पत्रिकाका तर्फबाट पत्रिकाका अध्यक्ष, प्रबन्ध निर्देशक तथा सम्पादक कृष्णज्वाला देवकोटालाई सम्मानपत्रसहित सम्मान गरेका थिए ।यसैगरी, आयोजकले महोत्सव उद्घाटनका दिन १७ जेठमा नयाँ पत्रिकाका कास्की संवाददाता रोहितराज पराजुलीलाई समेत सम्मान गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *