भारतमा अंग्रेज शासनकालमा नुन सत्याग्रह चलिरहेको थियो । त्यति वेला महात्मा गान्धीलाई अंग्रेज सरकारले सावरमती जेलनजिकै रहेको सावरमती आश्रममा नजरबन्द गरेको थियो ।
अंग्रेज सरकारले गान्धीमाथि निगरानी राख्ने जिम्मेवारी भने सावरमती जेलका जेलरलाई दिएको थियो ।
एकपटक गान्धीले जेलरलाई केही फलफूल पठाइदिन सन्देश पठाए ।
जेलको अघिल्तिर फलफूलको बगैँचा थियो । त्यहाँ अनेक प्रकारका फल फलिरहेका थिए ।
गान्धीजस्ता ठूला नेताले फलफूल मागेपछि जेलरले कैयाैँ टोकरी भरी–भरी फलफूल टिपेर सिपाहीमार्फत पठाइदिए । फलफूल बोकेर गएको सिपाही एकछिनपछि फर्केर आयो । उसले आफूले लगेका टोकरी र फलफूल पनि साथमै फिर्ता ल्याएको थियो ।
गान्धीले जेलरका लागि सिपाहीमार्फत सन्देश पठाएका थिए । सन्देशमा गान्धीले भनेका थिए, ‘तपाईंले पठाएको फलफूल पाएँ । यसका लागि म तपाईंप्रति अत्यन्तै आभारी छु ।
मेरा लागि दुईवटा फल नै पर्याप्त छन् । त्यसैले मैले दुईवटा फल राखेँ । बाँकी तपाईंलाई नै फिर्ता पठाइदिएको छु । कृपया यो अरू कैदीबन्दीलाई बाँडिदिनुहोला ।

