हरितालिका तिजमा पशुपतिनाथका चारै ढोका खुल्ने

+
-

काठमाडौं । हिन्दू महिलाहरूको विशेष पर्वका रूपमा लिइने हरितालिका तिजको अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका खुला गरिने भएका छन्।

भदौ २९ गते तिजका दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीका लागि चारवटै ढोका खुला गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

दर्शनार्थीको सहज व्यवस्थापनका लागि मन्दिरमा पाँचवटा लाइनको व्यवस्था मिलाइएको छ। साथै, महिला दर्शनार्थीको सुरक्षालाई विशेष प्राथमिकता दिँदै महिला सुरक्षाकर्मीहरूलाई समेत परिचालन गरिएको कोषले जनाएको छ।

तिजका अवसरमा पशुपतिनाथ क्षेत्रमा भक्तजनको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनलाई पनि व्यवस्थित बनाइएको छ। दर्शनार्थीको आवागमन सहज बनाउन सुरक्षा तथा ट्राफिक व्यवस्थापनका आवश्यक तयारी गरिएको जनाइएको छ।