समाचार

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीद्धारा संयुक्त रुपमा अरुण तेस्रोको शिलान्यास

वैशाख २८, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संयुक्त रुपमा अरुण तेस्रोको शिलान्यास गरेका छन् ।

बटन थिचेर शिलान्याससँगै दुई प्रधानमन्त्रीले खुसीका साथ अंकमाल गरे।

९०० मेगावाट क्षमताको परियोजनाका लागि लगानी बोर्डले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्धक एसजेभिएन नेपाललाई विद्युत् उत्पादन अनुमतिपत्र समेत प्रदान गरिसकेको छ। भारतको सरकारी लगानीसमेत रहेको सतलजले अरुण तेस्रो बनाउन लागेको हो। सतलजले अरुण तेस्रो निर्माणका लागि एसजेभिएन नामको कम्पनी नेपालमा दर्ता गराएको छ।

यसअघि अरुण तेस्रोको शिलान्यासका लागि गत वर्ष नै भारतीय प्रधानमन्त्री नेपाल आउने चर्चा चलेको थियो। त्यस्तै प्रधानमन्त्री ओलीले गत चैत २३ देखि २५ गतेसम्मको भारत भ्रमणका क्रममा समेत परियोजनाको शिलान्यास गर्ने तयारी थियो तर हुन सकेको थिएन।

एमाले सरकारमै रहँदा दुई दशकअघि अरुण तेस्रो आयोजना तुहिएको थियो।

आयोजनाले व्यावसायिक उत्पादन शुरु गरेपछि १० वर्षसम्म शतप्रतिशत आयकर छुट पाउनेछ । यसको पाँच वर्षपछि भने नेपाल सरकारले ५० प्रतिशत आयकर छुट दिने व्यवस्था गरिएको छ । आयोजना बनाउनका लागि आयात गरिने सम्पूर्ण सामग्रीको आयातमा समेत ५० प्रतिशत भन्सार छुट दिने पनि पीडीएमा उल्लेख छ ।

आयोजना निर्माणको अवधि ५ वर्ष तय गरिएको छ । आवश्यक भएमा थप साढे चार वर्ष समय थप्न सकिने व्यवस्था पनि छ । तर, हिजो राष्ट्रिय हित विपरीत भएको भन्दै विश्व बैंकसँग भएको सम्झौता तोड्न भूमिका खेलेको एमालेकै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला भारतीय प्रधानमन्त्री मोदीसँग मिलेर आयोजनाको शिलान्यास गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

भारतीय सरकारी कम्पनी सतलज जलविद्युत निगमले अरुण तेस्रो जिम्मा पाएको १० वर्षपछि आयोजना निर्माणको शिलान्यास भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *