समाचार
विभिन्न पालिकामा निर्वाचन परिचालन कमिटी भेला

माघ १७, शनिबार, २०८२
काभ्रेपलाञ्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकले जिल्लाका विभिन्न पालिकामा निर्वाचन परिचालन कमिटीको भेला सम्पन्न गरेको छ। भेलामा आगामी निर्वाचनलाई लक्षित गर्दै अन्तरक्रिया तथा चुनावी रणनीतिका विषयमा छलफल गरिएको हो।
पार्टीका अनुसार पाँचखाल, मण्डनदेउपुर, बनेपा नगरपालिका तथा भुम्लु गाउँपालिकामा निर्वाचन परिचालन कमिटीको भेला सम्पन्न भएको छ। भेलामा पालिका संयोजकहरू, कमिटी सदस्य तथा पार्टीका जिम्मेवार नेताहरूको उपस्थिति रहेको थियो।
भेलामा पालिका तथा वडास्तरमा चुनाव चिन्ह र उम्मेदवारलाई मतदातामाझ चिनाउने उद्देश्यले घरदैलो अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ। साथै, वडास्तरमा निर्वाचन परिचालन कमिटी गठन गर्ने, मतदाता शिक्षा तथा प्रचार–प्रसारका लागि स्वयंसेवक छनोट गर्ने र चुनाव चिन्ह मतदातालाई स्पष्ट रूपमा चिनाउने अभियानमा सक्रियतापूर्वक लाग्ने निर्णय गरिएको पालिका कमिटीका एक सदस्यले जानकारी दिए।
पालिका संयोजकहरूका अनुसार संगठन विस्तार, मतदाता अभिमुखीकरण र चुनावी अभियानलाई प्रभावकारी बनाउने विषयमा व्यापक छलफल भएको थियो। आगामी दिनमा पार्टीले वडास्तरदेखि नै संगठित रूपमा चुनावी गतिविधि अगाडि बढाउने जनाएको छ।
#काभ्रेपलाञ्चोक
#नेपालीकम्युनिस्टपार्टी
#निर्वाचनपरिचालनकमिटी
#चुनावीरणनीति
#घरदैलोअभियान
#स्थानीयराजनीति

