समाचार

आगलागीबाट मुगुमा १७ घर जलेर नष्ट

आज बिहान ९ बजेदेखि ३ बजेसम्म आगलागी हुँदा मुगुको एक दुर्गम गाउँ खरानीमा परिणत भएको छ । मुगु कार्मारोङ गाउँपालिका वडा नं ४ किम्री गाउँमा आगलागी हुँदा १७ घर जलेर खरानी भएका हुन् ।

आगलागी पीडित छिरिङ लामाका अनुसार गाउँको माथिल्लो लहरमा रहेका घर तथा त्यहाँका अन्न, लत्ताकपडा र नगद सबै नष्ट भएका छन् । आगलागीबाट लामाको घर पनि पूर्णरुपमा नष्ट भएको छ ।

स्थानीयवासीले १९ घर जलेको जानकारी दिए पनि जिल्ला प्रशासन कार्यालयले १७ घर जलेको बताएको छ । सदरमुकामदेखि एक दिनको पैदल दूरीमा पुगिने सो गाउँमा सञ्चार सम्पर्क जोड्न कठिन भएकाले क्षतिको विस्तृत विवरण आउन भने ढिलाइ भइरहेको बताइएको छ ।

बिहान ९ बजेदेखि शुरु भएको आगो अपराह्न ३ बजेपछि मात्र नियन्त्रणमा आएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागी नियन्त्रण र पीडितको उद्घारका लागि प्रहरी चौकी पुलुबाट प्रहरी गए पनि टाढा भएका कारण प्रहरी समयमै पुग्न गाह्रो भएको र सम्पर्क गर्न पनि कठिनाइ भएको छ ।

घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दुई दिन पैदल दक्षिण पूर्व रहेकाले सदरमुकामबाट तत्काल राहतका लागि जान समस्या भएको छ ।

पीडित परिवारलाई पुनःस्थापित र राहत दिनेबारे आजै प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रकोप व्यवस्थापन समितिका अध्यक्षको सभापतित्वमा भएको बैठकले अग्निपीडितका लागि तत्काल प्रतिपरिवार १० हजारका दरले राहत उपलब्ध गराइने निर्णय गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *