समाचार

नेकपा माक्र्सवादी पार्टीकाे निर्वाचन क्षेत्रगत प्रतिबद्धता सार्वजनिक

फागुन ९ शनिबार ,२०८२
काठमाडौ । नेकपा माक्र्सवादी पार्टीकाे निर्वाचन क्षेत्रगत प्रतिबद्धता सार्वजनिक गर्दै उम्मेदवारले स्थानीय विकास, सुशासन र वातावरण संरक्षणलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्। सार्वजनिक गरिएको ११ बुँदे प्रतिबद्धतामा खानेपानी तथा ढल व्यवस्थापनदेखि लिएर फोहोरको दीर्घकालीन समाधानसम्मका विषय समेटिएका छन्।

प्रतिबद्धताअनुसार खानेपानी तथा ढल व्यवस्थापनलाई प्रमुख मुद्दा बनाई संसद्मामा समाधानको पहल गरिने उल्लेख छ। सडक पूर्वाधार निर्माणमा आवश्यक बजेट सुनिश्चित गरी गुणस्तरीय निर्माणको अनुगमन गरिने जनाइएको छ। प्रदूषण नियन्त्रणका लागि आवश्यक कानुन निर्माण र कार्यान्वयनमा दबाब दिइने पनि बताइएको छ।

वातावरण संरक्षण अन्तर्गत व्यवस्थित पार्क तथा हरियाली प्रवर्द्धन, व्यावसायिक तथा सीपमूलक शिक्षाको कार्यान्वयनमा जोड दिइने प्रतिबद्धता गरिएको छ। सरकारी सेवालाई सहज, सरल र जनमुखी बनाउने तथा ज्येष्ठ नागरिक विश्रामस्थल र सबै उमेर समूहका लागि मनोरञ्जन पार्क निर्माण गरिने उल्लेख छ।

त्यस्तै, सार्वजनिक पार्कलाई सबैका लागि उपयोगी बनाउँदै पुस्तकालयसहित स्वअध्ययन पार्कको विकास गरिने योजना अघि सारिएको छ। शहरी विपन्न वर्गका लागि घरेलु उद्योग, नाडुलो पसल, ठेलागाडा व्यापार र कवाडी संकलनलाई व्यवस्थित गर्ने कार्यक्रम ल्याइने जनाइएको छ।

सडक तथा खोला मापदण्डबाट प्रभावितहरूको हकमा दोहोरो मापदण्ड हटाई नीतिगत समाधान खोजिने र खाद्यवस्तुको मूल्य नियन्त्रण तथा नियमनमार्फत स्वस्थकर खाद्यवस्तु सहज उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिएको छ।

फोहोरको स्थायी व्यवस्थापनका लागि परिणाममुखी पहल गरिने र क्षेत्र विकासका लागि प्रत्येक महिना नियमित स्थलगत भ्रमण गरिने प्रतिबद्धता पनि उम्मेदवारले जनाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *