अर्घाखाँची । नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ ।
परम्परागत बाजाको गुञ्जन, आकर्षक भेषभूषा, सात तालको विशिष्ट लय र धार्मिक विधिसहित प्रस्तुत गरिने यो नाचले नेवार समुदायको सांस्कृतिक विरासतलाई मात्र होइन, जिल्लाको सामाजिक सद्भाव र सांस्कृतिक विविधतालाई समेत उजागर गर्दै आएको छ ।
पुस्तौँदेखि संरक्षण हुँदै आएको भैरव नाच अर्घाखाँचीका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायको साझा सांस्कृतिक पहिचान हो । सन्धिखर्क नगरपालिका–१ को पटुवाथुम, वडा नं १२ को डिभर्ना तथा भूमिका स्थान नगरपालिका–८ को नुवाकोट र लात्तेबाँजमा बसोबास गर्ने नेवार समुदायले फरकफरक वर्षमा यो नाच निकाल्ने परम्परा कायम राखेका छन् । यसवर्ष भूमिकास्थान–८ को नुवाकोट भैरव समाजले नाच प्रदर्शन गरेको छ । नेवा समाज अर्घाखाँची–रुपन्देहीले बुटवलमा समेत यसको प्रदर्शन गरेको छ । दुवै समाजले सन्धिखर्कलगायत विभिन्न स्थानमा भैरव नाच देखाएका छन् ।
भैरव नाचको आफ्नै धार्मिक विधि र समय सीमा छ । अर्घाखाँचीमा श्रीकृष्ण जन्माष्टमीदेखि सुरु हुने यो नाच कात्तिक औँसीसम्म प्रदर्शन गर्ने चलन छ । अर्घाखाँची भैरव नाच संरक्षण समितिका संयोजक राजकुमार श्रेष्ठका अनुसार देउसी–भैलोको मादल बज्नुअघि नै भैरव नाच विसर्जन गरिसक्नुपर्ने स्थानीय मान्यता छ । यसले नाचलाई सामान्य मनोरञ्जनभन्दा माथि उठाएर धार्मिक आस्था र परम्परागत अनुशासनसँग जोडेको छ ।
भैरव नाचमा काल भैरव मुख्य पात्रका रूपमा प्रस्तुत हुन्छन् भने श्वेत भैरव र रक्त भैरव सहायक पात्रका रूपमा रहन्छन् । उनीहरूसँगै डंकिनी अर्थात् नर्तकीको भूमिका पनि महत्वपूर्ण हुन्छ । पात्रअनुसार फरक रङ, शृङ्गार र पहिरन प्रयोग गरिन्छ । भैरवको स्वरूप धारण गर्ने कलाकारलाई परम्पराअनुसार ख्वापः अर्थात् खप्पर, विशेष कपडा, माला र चमरले सजाइन्छ । चमरका रूपमा चौँरी गाईको पुच्छर प्रयोग गर्ने चलनसमेत रहेको छ ।
यी भेषभूषा र शृङ्गारले नाचलाई दृश्यात्मक रूपमा आकर्षक बनाउनुका साथै पात्रको धार्मिक महत्व पनि झल्काउँछन् । समयक्रममा शृङ्गारका सामग्रीमा केही परिवर्तन र नयाँ सामग्रीको प्रयोग भए पनि यसको मौलिक स्वरूप र धार्मिक मान्यता जोगाउनुपर्नेमा समुदाय सचेत छ । भैरवको स्वरूपमा सजिएका कलाकारलाई भगवानको प्रतीक मानेर पूजा गर्ने परम्परा रहेको संयोजक श्रेष्ठ बताउनुहुन्छ । नाच सुरु गर्नुअघि तान्त्रिक विधिअनुसार पूजा गरिन्छ र त्यसपछि निर्धारित ताल तथा परम्पराअनुसार प्रस्तुति अगाडि बढाइन्छ ।
यस नाचको अर्को विशिष्ट पक्ष सात तालको लय हो । सामान्यतया सात तालसम्म नाचिने भैरव नाचमा प्रत्येक तालको गति र प्रस्तुति फरक हुन्छ । अर्घाखाँची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष काजी श्रेष्ठका अनुसार एउटा ताल करिब १० मिनेटसम्म चल्ने गर्छ । त्यसपछि छोटो विश्राम लिएर अर्को ताल सुरु गरिन्छ । सातवटै तालको आफ्नै विशेषता हुने भएकाले नर्तक र बाजा बजाउने कलाकारबीचको तालमेलले नाचलाई थप आकर्षक बनाउँछ ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार भैरव नाचमा खीं बाजा अर्थात् मिर्दुङ मुख्य बाजाका रूपमा प्रयोग गरिन्छ । यसका अतिरिक्त झुर्मा अर्थात् झ्याली, सहनाई र धंकुरीलगायतका बाजा बजाइन्छन् । यी बाजाको विशिष्ट धुनसँगै नर्तकको चाल र ताल मिल्दा नाचको मौलिकता झल्किन्छ । मुख्य बाजा बजाउने व्यक्ति नेवार समुदायका हुने परम्परा रहे पनि सहायक वाद्यवादकका रूपमा अन्य समुदायका व्यक्तिसमेत सहभागी हुने गरेका छन् । यसले समुदायबीचको सांस्कृतिक सहकार्यलाई समेत अभिव्यक्त गरेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।
भैरव नाचमा धार्मिक तथा तान्त्रिक विधिलाई विशेष महत्त्व दिइन्छ । स्थानीय जनविश्वासअनुसार पाँचौँ र छैटौँ तालमा तान्त्रिक विद्यामा निपूर्ण व्यक्तिमा भैरव उत्रिने गर्छन् । यस्तो अवस्थामा नर्तक मात्र नभई दर्शकसमेत काम्ने गरेको विश्वास स्थानीयमा छ । विधि र पूजामा त्रुटि भए क्षति हुन सक्ने मान्यता रहेकाले नाचको तयारीदेखि विसर्जनसम्म विशेष सावधानी अपनाइन्छ । यही विश्वास र अनुशासनले यस नाचलाई अन्य मनोरञ्जनात्मक प्रस्तुतिभन्दा अलग पहिचान दिएको छ ।
भैरव नाचको कार्यक्रममा धार्मिक प्रस्तुतिसँगै मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिन्छ । लाठी नाच अर्थात् टाकुनडोली, घोडा नाच, चरा नाच र लाहुरे–लाहुरेनी नाचजस्ता प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाउँछन् । यसबाट स्थानीय कलाकारले आफ्नो कला प्रदर्शन गर्ने अवसर पाउनुका साथै विभिन्न परम्परागत नृत्य र सीपको संरक्षणमा समेत सहयोग पुग्ने गरेको छ ।
सन्धिखर्क नगरपालिका–१ का माधव श्रेष्ठका अनुसार भैरव नाच नेवार समुदायको ऐतिहासिक तथा प्रचलित नाच भए पनि यसको लोकप्रियता समुदायको सीमाभन्दा बाहिरसम्म फैलिएको छ । सन्धिखर्कको टुँडिखेलमा आयोजना हुने भैरव नाच अवलोकन गर्न हजारौँ दर्शक उपस्थित हुने गरेका छन् । नाच हेर्न नेवार समुदायका अतिरिक्त अन्य समुदायका मानिसको समेत उल्लेख्य सहभागिता रहने गरेको छ ।


