चुरे संरक्षणका लागि छुट्टै समिति गठन गर्न सांसदको माग

+
-

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद चन्द्रेश्वर मण्डलले मधेश प्रदेशका सडक पूर्वाधार तथा चुरे संरक्षणका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले मधेशको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गतको कमला पुल निर्माण कार्यमा तीव्रता दिन सरकारसँग माग गरे।

सिरहाको जम्दा नजिकको दियानी सडक दुई वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भए पनि छ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएको र हाल काम रोकिएको भन्दै उनले तत्काल निर्माण कार्य अघि बढाउन सरकारसँग आग्रह गरे।

त्यस्तै, उनले चुरे संरक्षणलाई प्रभावकारी बनाउन छुट्टै समिति गठन गर्नुपर्ने बताए। विगतमा वन तथा वातावरण मन्त्रालयले शाखा स्थापना गरी चुरे संरक्षणको काम अघि बढाए पनि प्रभावकारी हुन नसकेको उनको भनाइ थियो।

पूर्वराष्ट्रपति डा. रामवरण यादवको पहलमा चुरे संरक्षणका लागि समिति गठन गरी अभियान सञ्चालन गरिएको स्मरण गर्दै उनले वर्तमान सरकारले उक्त समिति खारेज गरेर चुरे संरक्षणको जिम्मेवारी वन मन्त्रालयमा फर्काएको बताए।

चुरे संरक्षण प्रभावकारी नहुँदा मधेश प्रदेशमा आगामी दिनमा ठूलो जैविक तथा वातावरणीय संकट निम्तिन सक्ने भन्दै उनले विशेषज्ञसहितको छुट्टै समिति गठन गरी चुरे संरक्षण अभियानका रूपमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराए।

उनले मधेशको पूर्वाधार विकाससँगै चुरे संरक्षणलाई पनि सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।