छुर्पीको पेटेन्ट र चीन निर्यात खुलाउन सरकारसँग एमाले सांसद थेवेको माग

+
-

काठमाडौ । एमाले सांसद क्षितिज थेवेले नेपालमा उत्पादन हुने छुर्पीको उचित मूल्य र बजार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। बिहीबार संघीय संसद्को बैठकमा बोल्दै उनले छुर्पी उत्पादन र निर्यातसँग जोडिएका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।

उनका अनुसार नेपालमा वार्षिक करिब साढे चार लाख किलो छुर्पी उत्पादन हुने गरेको छ। तर, छुर्पीको पेटेन्ट राइट लिन नसक्दा उत्पादकले उचित मूल्य पाउन नसकेको समस्या रहेको उनले बताए।

सांसद थेवेले कोभिड–१९ महामारीपछि नेपाली छुर्पी चीनमा निर्यात हुन नसकेको विषय पनि उठाए। चीनमा छुर्पी निर्यात रोकिनुको कारण के हो भन्ने विषयमा सरकारले राजनीतिक तथा कूटनीतिक पहल गरी स्पष्ट पार्नुपर्ने उनको भनाइ छ।

त्यस्तै, खोप नलगाइएका गाईभैँसीमा समेत परीक्षण गर्दा खोरेत रोग नदेखिएको भन्दै उनले सम्बन्धित क्षेत्रलाई खोरेत रोगमुक्त क्षेत्र घोषणा गर्न सरकारसँग आग्रह गरे। खोरेत रोगमुक्त क्षेत्र घोषणा गर्न सके छुर्पीको पेटेन्ट राइट लिनसमेत सहज हुने उनको धारणा थियो।

सांसद थेवेले छुर्पीको पेटेन्ट राइटको प्रक्रिया तत्काल अघि बढाउँदै उत्पादकलाई उचित मूल्य र बजारको सुनिश्चितता गर्न तथा चीनमा रोकिएको छुर्पी निर्यात पुनः सञ्चालनका लागि आवश्यक कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन्।