मलेसियामा जारी एसिया कपको टिकट हात पार्न नेपालसहित १० टोलीबीच कडा प्रतिस्पर्धा

+
-

काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कप २०२६ को उपाधि जित्ने लक्ष्यसहित नेपालसहित एसियाका १० टोली प्रतिस्पर्धामा छन्। प्रतियोगिताको विजेताले आगामी सन् २०२७ मा हुने एसिया कपमा स्थान बनाउने भएकाले यस प्रतियोगितालाई एसियाली क्रिकेटमा महत्वपूर्ण मानिएको छ

प्रतियोगितामा नेपाल, मलेसिया, हङकङ, बहराइन र साउदी अरेबिया समूह ‘ए’मा छन्। यस्तै समूह ‘बी’मा ओमान, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, सिंगापुर र कतार रहेका छन्।

दुवै समूहमा पाँच-पाँच टोली छन्। समूह चरणका खेलपछि प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलमा विजयी हुने दुई टोलीले सेप्टेम्बर १२ मा उपाधिका लागि फाइनल खेल्नेछन्।

नेपालका लागि प्रतियोगिता अझ महत्वपूर्ण छ। नेपालले यसअघि बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ। आज नेपालले समूह चरणको दोस्रो खेलमा आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।

प्रिमियर कपको उपाधि जित्ने टोलीले एसिया कपको टिकट मात्र पाउने छैन, एसियाका शीर्ष क्रिकेट राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्ने अवसरसमेत पाउनेछ। भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानजस्ता टेस्ट राष्ट्रहरू सहभागी हुने एसिया कपमा स्थान बनाउन नेपालका लागि प्रिमियर कप जित्नु विशेष महत्वको विषय हो।

त्यसैले नेपालका लागि मलेसियामा जारी यो प्रतियोगिता केवल अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता नभई एसियाली क्रिकेटको शीर्ष मञ्चमा फर्किने महत्वपूर्ण बाटो बनेको छ। समूह चरणमा राम्रो प्रदर्शन गर्दै सेमिफाइनल र त्यसपछि फाइनल जित्न सके नेपालले २०२७ काे एसिया कपमा आफ्नो स्थान सुरक्षित गर्नेछ।