श्रम संस्कृति पार्टीलाई संस्थागत बनाउन सुदन किराँतीको २४ बुँदे खाका

+
-

विराटनगर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले पार्टीलाई व्यक्ति केन्द्रित नभई विधि, विधान र संस्थागत प्रणालीमा आधारित ‘मोडल’ पार्टीका रूपमा विकास गर्न २४ बुँदे प्रस्ताव अघि सारेका छन्।

सुनसरीको धरानमा जारी पार्टीको केन्द्रीय समितिको बैठकमा किराँतीले पार्टीलाई व्यवस्थित, संस्थागत र लोकतान्त्रिक ढङ्गबाट सञ्चालन गर्नुपर्ने भन्दै नीतिगत तथा सांगठनिक सुधारका प्रस्ताव पेस गरेका हुन्।

पूर्वमाओवादी नेता तथा मन्त्रीसमेत रहेका किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा समाहित भएका हुन्। उनले पार्टी सञ्चालनमा लोकतान्त्रिक विधान, सामूहिक नेतृत्व, आर्थिक पारदर्शिता, संस्थागत निर्णय प्रक्रिया र डिजिटल प्रविधिलाई प्राथमिकता दिनुपर्ने प्रस्ताव गरेका छन्।

किराँतीले महत्त्वपूर्ण निर्णयहरू व्यक्ति विशेषको इच्छामा नभई पदाधिकारी तथा सम्बन्धित कमिटीको छलफल र निर्णयबाट गर्नुपर्ने बताएका छन्। साथै नेतृत्वको कार्यसम्पादनको नियमित समीक्षा, निर्वाचन आयोगमा पार्टीको विवरण अद्यावधिक तथा उम्मेदवार छनोटका लागि स्पष्ट र पारदर्शी मापदण्ड बनाउनुपर्ने प्रस्ताव गरेका छन्।

यसअघि बुधबार बसेको बैठकमा किराँती सहभागी थिएनन्। उक्त बैठकले चार महिनाअघि भएको सुदन किराँती समूहसँगको एकतालाई औपचारिक रूपमा अनुमोदन गरेको थियो। सहमतिअनुसार किराँती समूहबाट तीन जना पदाधिकारी र १५ जना केन्द्रीय सदस्य गरी १८ जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। यससँगै श्रम संस्कृति पार्टीको केन्द्रीय कार्यसमिति ४१ सदस्यीय बनेको छ।

बैठकले शान्ति पाख्रिन र प्रसाद राईलाई केन्द्रीय सचिवमा नियुक्त गरेको थियो। किराँती समूहसहित आज बसेको बैठकमा भने औपचारिक परिचय मात्रै भएको पार्टीका प्रवक्ता सत्य घलेले जानकारी दिएका छन्।

किराँतीको २४ बुँदे प्रस्ताव
क. नीति तथा संस्थागत व्यवस्था

१. विधान निर्माण — लोकतान्त्रिक, समावेशी र समयानुकूल विधान तयार गर्न विधान मस्यौदा समिति गठन गर्ने।

२. नियमावली तथा कार्यविधि — विधानको अधीनमा रही पार्टी सञ्चालन, आयोग, विभाग, कार्यालय तथा अन्य आवश्यक कार्यविधि निर्माण गर्ने।

३. आर्थिक पारदर्शिता — आर्थिक नियमावली, बजेट, लेखा तथा नियमित लेखापरीक्षणको स्पष्ट प्रणाली लागू गर्ने।

४. निर्णय, कार्यान्वयन र अनुगमन — नीति तथा निर्णय कार्यान्वयनको जिम्मेवारी, समयसीमा र नियमित अनुगमन तथा मूल्याङ्कनको व्यवस्था गर्ने।

५. निर्वाचन नीति — स्थानीय तथा प्रदेश निर्वाचनका लागि निर्वाचन रणनीति र उम्मेदवार छनोटका स्पष्ट, वस्तुनिष्ठ तथा पारदर्शी मापदण्ड तयार गर्न कार्यदल गठन गर्ने।

ख. नेतृत्व तथा कार्यशैली

६. सामूहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारी — संस्थागत निर्णय र व्यक्तिगत जवाफदेहिताको स्पष्ट प्रणाली लागू गर्ने।

७. संस्थागत निर्णय प्रक्रिया — महत्त्वपूर्ण निर्णयहरू पदाधिकारी तथा सम्बन्धित कमिटीको छलफल र निर्णयबाट गर्ने तथा निर्णयको अभिलेख राख्ने।

८. अनुशासन र विवाद समाधान — प्रभावकारी अनुशासन आयोग गठन गरी आचारसंहिता लागू गर्ने तथा कारबाही र आन्तरिक विवादलाई विधिसम्मत प्रक्रियाबाट समाधान गर्ने।

९. जिम्मेवारीको वैज्ञानिक बाँडफाँड — नेता तथा कार्यकर्ताको क्षमता, अनुभव, रुचि, योगदान र आवश्यकताका आधारमा जिम्मेवारी निर्धारण गर्ने।

१०. नेतृत्व सहयोग र समीक्षा — आवश्यक विज्ञसहित अध्यक्षको सचिवालय गठन गर्ने तथा नेतृत्वको कार्यसम्पादनको नियमित समीक्षा गर्ने।

११. आन्तरिक लोकतन्त्र र संवाद — नेतृत्व र कार्यकर्ताबीच नियमित संवाद, सुझाव तथा मतभेद समाधानको प्रभावकारी संयन्त्र विकास गर्ने।

ग. सङ्गठन तथा व्यवस्थापन

१२. वैधानिक अद्यावधिक — निर्वाचन आयोगमा पार्टीको विवरण तत्काल अद्यावधिक गर्ने।

१३. केन्द्रीय कार्यालय सुदृढीकरण — केन्द्रीय कार्यालयलाई व्यवस्थित, प्रविधिमैत्री र नमुनायोग्य बनाउने।

१४. सङ्गठनात्मक एकीकरण — विभिन्न राजनीतिक धार, समूह तथा पार्टीबाट आएका साथीहरूको क्षमता र योगदानका आधारमा उचित व्यवस्थापन गर्ने।

१५. डिजिटल पार्टी निर्माण — सदस्यता, सङ्गठन, अभिलेख, बैठक, निर्णय, आर्थिक विवरण तथा सञ्चारलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने।

१६. प्रदेश तथा स्थानीय सङ्गठन — प्रदेश इन्चार्ज तथा सहइन्चार्ज तोक्ने र स्थानीय तहसम्म सङ्गठन निर्माण, पुनर्गठन तथा नियमित समीक्षा गर्ने।

१७. जनवर्गीय तथा पेशागत सङ्गठन — आवश्यकता अनुसार जनवर्गीय तथा पेशागत सङ्गठन गठन र परिचालन गर्ने।

१८. श्रमदान अभियान — श्रम संस्कृतिलाई स्थापित गर्न श्रमदान विभाग गठन गरी सिर्जनात्मक र जनमुखी ढङ्गबाट श्रमदान अभियान सञ्चालन गर्ने।

१९. प्रशिक्षण र नेतृत्व विकास — नेता तथा कार्यकर्ताका लागि नियमित राजनीतिक, वैचारिक, सङ्गठनात्मक तथा नेतृत्व विकास प्रशिक्षण सञ्चालन गर्ने।

२०. कार्यक्रम समन्वय — पार्टीका महत्त्वपूर्ण कार्यक्रम सम्बन्धित कमिटी वा विभागसँग पूर्वसमन्वय र छलफल गरेर मात्र सञ्चालन गर्ने।

२१. एकता तथा संवाद — पार्टी एकतामा आउन चाहने अन्य पार्टी, समूह वा व्यक्तिसँग संवाद र समन्वय गर्न अधिकारसम्पन्न तथा प्रभावकारी एक वार्ता समिति गठन गर्ने।

२२. सङ्गठनात्मक रिपोर्टिङ — केन्द्र, प्रदेश र स्थानीय तहबीच स्पष्ट समन्वय, नियमित प्रतिवेदन तथा कार्यसम्पादन समीक्षा प्रणाली लागू गर्ने।

२३. एकीकृत सूचना प्रणाली — पार्टीका आधिकारिक निर्णय, सूचना र धारणा सम्प्रेषणका लागि एकीकृत सञ्चार प्रणाली विकास गर्ने।

२४. वार्षिक कार्ययोजना — माथि उल्लेखित सबै विषयलाई कार्यान्वयनमा लैजान वार्षिक क्यालेन्डर बनाएर जारी गर्ने।