काठमाडौँ — मनोहरा साहित्य समाजको ११६औं रचना वाचन शृङ्खलासँगै संस्थाका अध्यक्ष एवं स्रष्टा डिल्लीराज अर्यालको मुक्तक संग्रह ‘एक एक पाइला’ को लोकार्पण भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका उपाध्यक्ष डा. चिरञ्जीवी रेग्मीको सभानायकत्व तथा फित्कौली डटकमका सम्पादक एवं साहित्यकार नरनाथ लुईंटेलको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो। अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ र डा. मधुसूदन लामिछानेको विशिष्ट आतिथ्य रहेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव भावकेशर बरालले गर्नुभएको थियो।
सभाध्यक्ष डा. रेग्मीको स्वागत मन्तव्यसँगै सुरु भएको शृङ्खलाको पहिलो चरणमा सञ्जय सोती, मधुसूदनप्रसाद घिमिरे, चेवन बस्नेत, बलराम बिष्ट, केशव घिमिरे तथा टीका मिलन लगायतका स्रष्टाहरूले विविध छन्द, भाव र विषयवस्तुमा आधारित आ-आफ्ना सृजना प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको दोस्रो चरणमा प्रमुख अतिथि लगायतका मञ्चासीन व्यक्तित्वहरूबाट डिल्लीराज अर्याल रचित नयाँ कृति ‘एक एक पाइला’ को संयुक्त रूपमा लोकार्पण गरियो। उक्त अवसरमा समीक्षक डा. मधुसूदन लामिछानेले कृतिमाथि सटिक र रोचक समीक्षा गर्दै यसका विशिष्ट साहित्यिक पक्षहरूबारे प्रकाश पार्नुभएको थियो भने स्रष्टा अर्यालले कृतिको रचनागर्भबारे संक्षिप्त पाठाभिमुख गराउनुभएको थियो।
कृति लोकार्पण पश्चात् पुनः सुरु भएको रचना वाचनको चरणमा क्रमश: अनुभव आत्रेय, वासुदेव पौड्याल, प्रेमनाथ घिमिरे, मेनका आचार्य पोखरेल, परशुराम पराशर, जीवनाथ धमला, कृष्णप्रसाद पौड्याल, पदम दाहाल, दुर्गा घिमिरे, मान्यता कार्की, सूर्यप्रसाद डुम्रे, घनश्याम प्रसाईं, डिल्लीप्रसाद मूलतिहुन, लालबाबु शर्मा, रामशरण न्यौपाने, भुवन शिवाकोटी, एम. के. पराशर, गोपाल बराल, मधुसूदन आचार्य, सम्पत् काफ्ले, केशव ज्ञवाली, अप्सरा पोखरेल, वसन्त रिजाल, भावकेशर बराल र गोविन्द घिमिरे ‘वेदमणि’ लगायतका स्रष्टाहरूले मधुर लयका गीति, शास्त्रीय तथा मुक्त छन्दका कविता र गजलहरू प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि नरनाथ लुईंटेलले वाचित रचनाहरू तथा कार्यक्रमको सान्दर्भिकताबारे आफ्ना संक्षिप्त विचार व्यक्त गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा दिवंगत स्रष्टा दुर्गालाल श्रेष्ठ र राजेन्द्र विमलप्रति हार्दिक श्रद्धाञ्जली समर्पण गर्दै उहाँहरूलगायत भाद्र १० गतेको प्राकृतिक प्रकोपमा परी देह त्याग गर्न पुग्नुभएका सम्पूर्ण व्यक्तित्वहरूको मुक्तिको कामना गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो। तत्पश्चात् सभाध्यक्षको अनुमतिले संस्थाका सचिवद्वारा कार्यक्रमको औपचारिक समापन भएको जानकारी गराइएको थियो।


