“रूपान्तरणसहितको मजबुत एकता नै नेपाली कम्युनिस्ट आन्दोलनको भविष्य हो “

+
-

आज नेपाली कम्युनिस्ट आन्दोलन एउटा गम्भीर मोडमा उभिएको छ। हामीमाथि उठेका प्रश्नहरू सामान्य प्रश्न होइनन्। यी प्रश्न केवल विरोधी राजनीतिक शक्तिले लगाएका आरोप पनि होइनन्। यी प्रश्नभित्र हाम्रो आफ्नै राजनीतिक, वैचारिक, सांगठनिक र जीवन-व्यवहारका कमजोरीहरूको प्रतिबिम्ब छ।

आज जनताले हामीलाई सोधिरहेका छन्हि-जो परिवर्तनको सपना देखाउने कम्युनिस्टहरू आज किन आफैं परिवर्तनको आवश्यकता महसुस गर्न नसक्ने अवस्थामा पुगे ? श्रमजीवी वर्गको मुक्तिको कुरा गर्ने कतिपय नेता–कार्यकर्ता किन श्रम र उत्पादनबाट टाढिँदै गए ? जनताको सेवामा समर्पित हुनुपर्नेहरू किन व्यक्तिगत स्वार्थ, सुविधा, पद र सम्पत्ति सञ्चयको दौडमा देखिन थाले ?

कम्युनिस्ट पार्टीको लोगो लगाउँदैमा कम्युनिस्ट चरित्र निर्माण हुँदैन। मार्क्स, लेनिन, माओ वा अन्य क्रान्तिकारी नेताहरूको नाम उच्चारण गर्दैमा मार्क्सवादी जीवनशैली निर्माण हुँदैन। कम्युनिस्ट हुनु भनेको विचारलाई जीवनमा उतार्नु, श्रमलाई सम्मान गर्नु, जनताको पक्षमा उभिनु, निजी स्वार्थमाथि सामूहिक स्वार्थलाई राख्नु र आफ्नो जीवनलाई सामाजिक रूपान्तरणको साधन बनाउनु हो।

दुर्भाग्यवश, आज हाम्रो आन्दोलनभित्र यस्ता प्रवृत्तिहरू देखिएका छन्, जसले आन्दोलनलाई भित्रैबाट कमजोर बनाइरहेका छन्। कार्यकर्तालाई सिर्जनशील, सक्रिय र उत्पादनसँग जोड्नुको सट्टा आश्रित र निष्क्रिय बनाउने प्रवृत्ति छ। श्रम र उत्पादनमा लाग्नुपर्ने ठाउँमा चन्दा, सहयोग र परनिर्भरताबाट जीविका चलाउने संस्कार कतिपयमा विकास भएको छ। दलाल पूँजीवादसँग संघर्ष गर्नुपर्नेहरू त्यही पूँजीवादी संस्कृतिको प्रभाव र आकर्षणमा फस्दै गएका छन्।

अझ गम्भीर समस्या व्यक्तिवाद, गुटवाद, अहंकार र आत्मकेन्द्रित प्रवृत्ति हो। आफू मात्र सही, आफूबाहेक अरू सबै गलत भन्ने सोचले संगठनलाई सामूहिक संस्था होइन, व्यक्तिको वरिपरि घुम्ने संरचनामा बदलिदिन्छ। आलोचना सुन्न नसक्ने, आत्मालोचना गर्न नचाहने, अरूको योगदान स्वीकार गर्न नसक्ने र संगठनात्मक विधिभन्दा व्यक्तिगत सम्बन्धलाई प्राथमिकता दिने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिक र क्रान्तिकारी संस्कारलाई कमजोर बनाउँछ।

भ्रष्टाचार, बेथिति र अनियमितताको अन्त्यका लागि नेतृत्वले अभियान सुरु गर्दा त्यसलाई बलियो बनाउनुपर्ने ठाउँमा व्यक्तिगत स्वार्थका कारण असहयोग गर्ने प्रवृत्ति पनि देखिन्छ। भ्रष्टाचारविरुद्धको संघर्ष अरूलाई सुधार्ने अभियान मात्र होइन, आफैंबाट सुरु गर्नुपर्ने आत्मशुद्धिको अभियान हो।
हामीले यस्ता प्रश्नहरूबाट भाग्नु हुँदैन। बरु यी प्रश्नलाई आफ्नो आत्मसमीक्षाको सुरुवात बनाउनुपर्छ।
हामी कहाँ चुक्यौँ ?

हामी बिग्रिनुको एउटा मात्र कारण छैन। लामो राजनीतिक यात्रामा विचार र व्यवहारबीचको दूरी बढ्दै जानु, जनतासँगको जीवित सम्बन्ध कमजोर हुनु, संगठनात्मक अनुशासन खुकुलो हुनु, आलोचना–आत्मालोचनाको संस्कार कमजोर हुनु, व्यक्तिवाद र गुटगत स्वार्थ बढ्नु तथा नेतृत्व र कार्यकर्ताको जीवनशैलीमा परिवर्तन आउनु यसका महत्वपूर्ण कारण हुन्।

१. विचार र व्यवहारबीच दूरी
हामीले समाजवाद, वर्गसंघर्ष, श्रमजीवी वर्ग र जनताको मुक्तिको कुरा धेरै गर्‍यौँ। तर कतिपय अवस्थामा आफ्नै जीवन व्यवहारलाई ती विचारसँग मिलाउन सकेनौँ। भाषणमा क्रान्ति र व्यवहारमा सुविधा-यो विरोधाभासले जनताको विश्वास कमजोर बनाउँछ।

२. श्रम र उत्पादनबाट दूरी
कम्युनिस्ट आन्दोलनको आधार श्रमजीवी वर्ग हो। तर श्रमलाई सम्मान गर्ने संस्कार कमजोर हुँदै गएर कतिपय नेता-कार्यकर्ता अरूको सहयोग र चन्दामा निर्भर हुने प्रवृत्तितर्फ गए। यसले आत्मनिर्भरता र उत्पादनशील राजनीतिक संस्कृतिलाई कमजोर बनायो।

३. जनताबाट दूरी
जनताको दुःख, किसानको खेत, मजदुरको कार्यस्थल, उत्पीडित समुदायको बस्ती र युवाको भविष्यसँग हाम्रो सम्बन्ध दैनिक जीवनमा कमजोर हुँदै गयो भने कम्युनिस्ट पार्टी केवल चुनावी संगठनमा सीमित हुने खतरा हुन्छ। जनताको बीचमा नजाने कम्युनिस्ट पार्टीले जनताको नेतृत्व गर्न सक्दैन।

४. व्यक्तिवाद र गुटवाद
संगठन विचार, विधि र सामूहिक निर्णयबाट चल्नुपर्ने हो। तर जब व्यक्ति संगठनभन्दा ठूलो र गुट पार्टीभन्दा ठूलो बन्न थाल्छ, त्यहाँ विघटनको प्रक्रिया सुरु हुन्छ।

५. आलोचना र आत्मालोचनाको क्षय
गल्ती स्वीकार गर्न नसक्ने नेतृत्व र गल्ती देखाउन डराउने कार्यकर्ता भएको संगठन स्वस्थ हुन सक्दैन। आलोचना शत्रुता होइन; सुधारको औजार हो। आत्मालोचना कमजोरी होइन; क्रान्तिकारी चरित्रको शक्ति हो।

६. नेतृत्वको जीवनशैलीमा आएको परिवर्तन
नेतृत्व जनताभन्दा अगाडि सुविधा उपभोग गर्न थाल्यो भने संगठन र जनताबीच दूरी बढ्छ। कम्युनिस्ट नेतृत्वको पहिचान पद, सम्पत्ति र सुविधा होइन-त्याग, सादगी, श्रम, इमानदारी र जनताप्रतिको निष्ठा हुनुपर्छ।

७. समयअनुकूल वैचारिक र सांगठनिक परिमार्जनको अभाव
मार्क्सवादलाई जीवित वैज्ञानिक दृष्टिकोणका रूपमा बुझ्नुपर्छ। समाज, प्रविधि, अर्थतन्त्र, उत्पादन प्रणाली, युवा पुस्ता, सञ्चार र विश्व राजनीतिको चरित्र परिवर्तन भइरहेको अवस्थामा संगठनात्मक विधि, कार्यक्रम र कार्यशैलीलाई समयअनुकूल परिमार्जन गर्न नसक्दा आन्दोलन जड बन्छ। परिवर्तनशील परिस्थितिमा रूपान्तरण हुन नसक्नु पनि एक प्रकारको राजनीतिक जडता हो।

मार्क्सदेखि लेनिनसम्म : विचारलाई जीवनसँग जोड्ने प्रश्न
कार्ल मार्क्सले समाजलाई केवल व्याख्या गर्ने होइन, त्यसलाई परिवर्तन गर्ने प्रश्नलाई केन्द्रमा राख्नुभयो। एंगेल्ससँग मिलेर उहाँले श्रम, वर्ग, उत्पादन सम्बन्ध र पूँजीवादी शोषणको वैज्ञानिक विश्लेषण गर्नुभयो।
तर मार्क्सवाद किताबमा थन्क्याएर राख्ने सिद्धान्त होइन। त्यसलाई आफ्नो देश, समाज र समयको ठोस परिस्थितिमा प्रयोग गर्नुपर्छ। लेनिनले क्रान्तिकारी पार्टी निर्माणमा संगठन, अनुशासन, वैचारिक स्पष्टता र जनतासँगको सम्बन्धलाई अत्यन्त महत्वपूर्ण बनाउनुभयो। संगठन बलियो हुनु भनेको सदस्य संख्या धेरै हुनु मात्र होइन; सदस्यहरू विचार, अनुशासन, जिम्मेवारी र वर्गीय प्रतिबद्धतामा बलियो हुनु हो।
आज हामीले यही प्रश्न आफैंलाई सोध्नुपर्छ- हाम्रो संगठन कति ठूलो छ भन्नेभन्दा पनि हाम्रो संगठन कति वैचारिक, अनुशासित, जनमुखी र क्रियाशील छ ?

माओले क्रान्तिकारी राजनीतिमा जनतासँगको सम्बन्धलाई केन्द्रमा राख्दै जनताबाट सिक्ने र सिकेको कुरा पुनः जनतामाझ लैजाने जनदिशाको विकास गर्नुभयो। यसको अर्थ कम्युनिस्ट नेतृत्व जनतामाथि शासन गर्ने शक्ति होइन; जनताबाट सिक्दै जनताको मुक्ति प्रक्रियामा सहभागी हुने राजनीतिक शक्ति हो।
हो चि मिन्हको राजनीतिक जीवनले पनि सादगी, अनुशासन, त्याग र जनताप्रतिको निष्ठाको महत्व देखाउँछ। त्यसैले क्रान्तिकारी नेतृत्वको प्रश्न केवल राजनीतिक पदको प्रश्न होइन; चरित्र र जीवनशैलीको प्रश्न पनि हो।

अब कसलाई दोष दिने होइन, आफूलाई बदल्ने हो
आजको आवश्यकता कसलाई दोष दिने भन्ने बहस होइन। नेतृत्वले कार्यकर्तालाई दोष दिने, कार्यकर्ताले नेतृत्वलाई दोष दिने र सबैले परिस्थितिलाई दोष दिने हो भने परिवर्तन कहिल्यै आउँदैन। रूपान्तरणको सुरुवात आफैंबाट गर्नुपर्छ। नेतृत्व बदलिनुपर्छ। कार्यकर्ता बदलिनुपर्छ। जीवनशैली बदलिनुपर्छ। कार्यशैली बदलिनुपर्छ। संगठनात्मक संस्कार बदलिनुपर्छ। जनतासँगको सम्बन्ध बदलिनुपर्छ। र राजनीतिक-वैचारिक सोचलाई पनि समयअनुकूल समृद्ध बनाउनुपर्छ। हामीले फेरि श्रमलाई सम्मान गर्नुपर्छ। उत्पादनमा जोडिनुपर्छ। आत्मनिर्भर बन्नुपर्छ। जनताको घरदैलोमा पुग्नुपर्छ। जनताको समस्या आफ्नो समस्या ठानेर समाधानका लागि अग्रभागमा उभिनुपर्छ। कम्युनिस्ट नेता जनताभन्दा अगाडि सुविधा खोज्ने व्यक्ति होइन; जनताको दुःखमा सबैभन्दा अगाडि उभिने व्यक्ति हो।

पुस्तान्तरण होइन, रूपान्तरण
आज कम्युनिस्ट आन्दोलनको संकट समाधानका लागि “पुस्तान्तरण” भन्ने शब्द धेरै सुनिन्छ। तर हामीले यसलाई पनि आलोचनात्मक दृष्टिले हेर्नुपर्छ। पुस्तान्तरण हुँदैमा आन्दोलन रूपान्तरण हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन। कुन उमेर समूहको व्यक्ति पार्टीको नेतृत्वमा पुग्दा पार्टी क्रान्तिकारी, जनमुखी, इमानदार र गतिशील हुन्छ भन्ने कुनै वैज्ञानिक मापदण्ड छैन। उमेरले विचारको परिपक्वता, त्याग, वर्गीय प्रतिबद्धता, श्रमप्रतिको सम्मान, जनतासँगको सम्बन्ध वा संगठन निर्माण गर्ने क्षमता स्वतः सुनिश्चित गर्दैन। पुरानो पुस्ताको ठाउँमा नयाँ पुस्ता ल्याउँदैमा पुरानो प्रवृत्ति समाप्त हुँदैन। व्यक्तिवाद, अवसरवाद, गुटवाद, सुविधाभोगी संस्कृति र जनताबाट टाढिने प्रवृत्ति पुस्ता हेरेर आउँदैन; राजनीतिक संस्कार र चरित्रसँग जोडिएर आउँछ। त्यसैले हाम्रो बहस “को पुरानो ?” र “को नयाँ ?” भन्ने मात्र हुनुहुँदैन। मूल प्रश्न हुनुपर्छ-
को रूपान्तरित छ ? को जनताको पक्षमा दृढतापूर्वक उभिन सक्छ ? को आफ्नो स्वार्थभन्दा आन्दोलन र वर्गको स्वार्थलाई माथि राख्न सक्छ ? को श्रम गर्न तयार छ ? को आलोचना स्वीकार गर्न सक्छ ? को आत्मालोचना गर्न सक्छ ? को संगठनलाई व्यक्ति होइन, विचार र विधिबाट चलाउन सक्छ ? हामीलाई कृत्रिम पुस्तान्तरण होइन, सामूहिक राजनीतिक, वैचारिक र जीवन-व्यवहारको रूपान्तरण चाहिएको छ।
पुरानो पुस्ताको संघर्ष र अनुभव हाम्रो सम्पत्ति हो। नयाँ पुस्ताको ऊर्जा, सिर्जनशीलता र नयाँ प्रविधिसँगको सम्बन्ध हाम्रो शक्ति हो। तर दुवैलाई जोड्ने सूत्र एउटै हुनुपर्छ-क्रान्तिकारी चरित्र र रूपान्तरण।

मजबुत एकताको आधार के हो ?
आज हामीलाई एकता चाहिएको छ। तर जस्तोसुकै एकता होइन। पद बाँडफाँडको एकता होइन। गुट मिलाउने गणित होइन। चुनावी लाभका लागि गरिएको अस्थायी सम्झौता होइन। हामीलाई विचार, उद्देश्य, नीति, अनुशासन, जिम्मेवारी र संघर्षमा आधारित मजबुत एकता चाहिएको छ। एकता तब मात्र दिगो हुन्छ, जब हामी एकअर्काको सम्मान गर्न सिक्छौँ। फरक विचार सुन्न सक्छौँ। आलोचना स्वीकार गर्न सक्छौँ। व्यक्तिगत वैमनस्य र पुराना कटुतालाई आन्दोलनको भविष्यभन्दा माथि राख्दैनौँ। हामी आफ्नो वर्गबाट केही टाढा पुगेका छौँ भने फर्कनुपर्छ-श्रमजीवी जनताकहाँ, किसान-मजदुरकहाँ, उत्पीडित समुदाय र युवाको जीवनका वास्तविक प्रश्नतर्फ। हामी पूर्ण रूपमा समाप्त भएका छैनौँ।

हाम्रो आन्दोलनको ऐतिहासिक आधार समाप्त भएको छैन। जनताका समस्या समाप्त भएका छैनन्। शोषण, असमानता, उत्पीडन र अन्याय समाप्त भएका छैनन्। त्यसैले समाज रूपान्तरणका लागि संगठित वामपन्थी आन्दोलनको आवश्यकता पनि समाप्त भएको छैन। तर आन्दोलनलाई पुनर्जीवन दिनुअघि हामीले आफूलाई पुनर्जीवित गर्नुपर्छ।

अन्तिम कुरा : आफूलाई बदलौँ, आन्दोलनलाई बदलौँ
हामीले विगतको गौरवलाई केवल सम्झेर पुग्दैन। जेल-नेल भोगेका, संघर्ष गरेका र आफ्नो जीवनको सर्वोत्तम समय समाज रूपान्तरणका लागि समर्पित गरेका योद्धाहरूको इतिहासलाई सम्मान गर्ने सबैभन्दा ठूलो तरिका उनीहरूको कथा दोहोर्‍याउनु होइन-त्याग, इमानदारी, साहस र वर्गीय निष्ठालाई आजको जीवनमा पुनः स्थापित गर्नु हो। अब हामीले एउटा गम्भीर संकल्प गर्नुपर्छ- नेतृत्व पनि रूपान्तरण हुनेछ। कार्यकर्ता पनि रूपान्तरण हुनेछ। नयाँ पुस्ता पनि रूपान्तरण हुनेछ। पुरानो पुस्ता पनि रूपान्तरण हुनेछ। किनकि हामीमध्ये कोही पनि रूपान्तरणभन्दा बाहिर छैनौँ। रूपान्तरण भनेको पद परिवर्तन होइन। अनुहार परिवर्तन मात्र होइन। पुस्ताको नाम परिवर्तन मात्र होइन। रूपान्तरण भनेको चेतना परिवर्तन हो। रूपान्तरण भनेको जीवन व्यवहार परिवर्तन हो।रूपान्तरण भनेको श्रम र उत्पादनसँग जोडिनु हो। रूपान्तरण भनेको जनतासँगको सम्बन्ध पुनर्स्थापित गर्नु हो। रूपान्तरण भनेको निजी स्वार्थमाथि सामूहिक स्वार्थ स्थापित गर्नु हो। रूपान्तरण भनेको भ्रष्टाचार, बेथिति, अवसरवाद र व्यक्तिवादविरुद्ध आफ्नै पंक्तिबाट संघर्ष सुरु गर्नु हो। रूपान्तरण भनेको आलोचना सुन्ने र आत्मालोचना गर्ने साहस हो। हामीले अब नयाँ अनुहार खोजेर मात्र पुग्दैन-नयाँ चरित्र निर्माण गर्नुपर्छ। नयाँ पुस्ता खोजेर मात्र पुग्दैन-नयाँ राजनीतिक चेतना निर्माण गर्नुपर्छ। नेतृत्व बदल्ने कुरा गरेर मात्र पुग्दैन-नेतृत्व गर्ने संस्कार बदल्नुपर्छ। संगठन विस्तार गरेर मात्र पुग्दैन-संगठनको आत्मा पुनर्स्थापित गर्नुपर्छ। कम्युनिस्ट आन्दोलनलाई बचाउने कुनै जादुई सूत्र छैन। न पुस्तान्तरणले यसको ग्यारेन्टी गर्छ, न पद परिवर्तनले, न नाराले, न केवल चुनावी सफलताले। यसको भरपर्दो बाटो एउटै हो-सामूहिक रूपान्तरण। नेतृत्वको रूपान्तरण। कार्यकर्ताको रूपान्तरण। जीवनशैलीको रूपान्तरण। कार्यशैलीको रूपान्तरण। संगठनात्मक संस्कारको रूपान्तरण। राजनीतिक र वैचारिक चेतनाको रूपान्तरण। र यही रूपान्तरणबाट निर्माण हुने वैचारिक स्पष्टता, जनमुखी चरित्र, अनुशासित संगठन, इमानदार नेतृत्व र वर्गीय प्रतिबद्धतासहितको मजबुत एकता नै हाम्रो भविष्य हो। आफूलाई बदलौँ-संगठनलाई बदलौँ-आन्दोलनलाई बदलौँ। रूपान्तरणसहितको मजबुत एकता नै हाम्रो भविष्य हो।

केन्द्रीय कमिटी सदस्य नेपाली कम्युनिस्ट पार्टी