टुकी नेटवर्क विशेष सम्पादकीय
बुधबार बिहान तिब्बत क्षेत्रमा रहेको ताल फुटेपछि आएको भीषण बाढीले नेपालको रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्म पुर्याएको मानवीय तथा भौतिक क्षतिले सिंगो नेपाल स्तब्ध बनेको छ। विपद्को वास्तविक क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन। तर प्रारम्भिक रूपमा सार्वजनिक भएका सरकारी निकाएका आधिकारीक विवरण र विभिन्न स्थानमा भएको विनाशले यो सामान्य बाढी नभई ठूलो प्राकृतिक विपत्ति हो ।
यस विपत्तिले मृत्यु, बेपत्ता, घाइते र विस्थापनसँगै घर, व्यवसाय, सडक, पुल, विद्युत् संरचना तथा अन्य भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ। बुधबार रातिसम्म मृत्यु हुनेको संख्या २५७ नाघेकाे थियो । यस्तै नारायणी नदीमा समेत ५० भन्दा बढी शव भेटिएको समाचार सार्वजनिक भएका थिए। यद्यपि विवरणको अन्तिम पुष्टि तथा एकीकृत तथ्यांक आउन बाँकी छ। त्यसैले उद्धार, खोजी, उपचार, राहत र विस्थापित नागरिकको व्यवस्थापन हुनुपर्छ।
यस विपत्तिको एउटा महत्वपूर्ण पक्ष के हो भने बाढी आउन सक्ने संकेत तथा पूर्वसूचना प्राप्त भएपछि नदी, खोला र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा व्यवसायीलाई सतर्क गराउने र सम्भावित जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रयास गरिएको थियो।
सरकारले पूर्वसूचना प्राप्त भएलगत्तै सक्रियता देखाउनु सकारात्मक पक्ष हो। प्रधानमन्त्री बालेन्द्र साहले विपद्को गम्भीरतालाई ध्यानमा राख्दै राष्ट्रिय विपद् व्यवस्थापनसम्बन्धी बैठक तत्काल बोलाउनुका साथै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेर उद्धार तथा राहतलाई तीव्र बनाउन पहल गरेका थिए। विपद्को समयमा निर्णयमा हुने ढिलाइले थप मानवीय क्षति निम्त्याउन सक्ने भएकाले राज्यको यस्तो तदारुकता स्वागतयोग्य छ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई तत्काल खोज, उद्धार, राहत तथा व्यवस्थापनमा परिचालन गरिनु अर्को महत्वपूर्ण कदम हो। नेपाली सेनाले मेडिकल टोलीसहित उद्धार तथा उपचारका लागि जनशक्ति विपद्स्थलमा परिचालन गरेको थियो । कठिन भौगोलिक अवस्था, तीव्र बहाव र सञ्चार तथा यातायातमा आएको अवरोधका बीच सुरक्षाकर्मीले गरिरहेको उद्धार प्रयास प्रशंसनीय छ।
कतिपयलाई समयमै सूचना नपुग्नु र अचानक आएको बाढीले ठूलो जोखिम सिर्जना हुनु गम्भीर समीक्षा गर्नुपर्ने विषय हो। पूर्वसूचना मात्र पर्याप्त हुँदैन्, नागरिकले तत्काल सुरक्षित स्थानमा पुग्न सक्ने प्रभावकारी संयन्त्र पनि आवश्यक हुन्छ।
प्रधानमन्त्री बालेन्द्र साहले विपद्को सामना गर्न सबै राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय तथा राज्यका सम्बन्धित पक्षलाई एकजुट भएर लाग्न गरेको आह्वान सकारात्मक छ। विपक्षी दलका नेता भिष्मराज आङदाम्बेले सरकारले देखाएको तदारुकताप्रति धन्यवाद व्यक्त गर्नु विपद्को समयमा राजनीतिक परिपक्वताको उदाहरण हो।
यसैगरी नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत विभिन्न राजनीतिक दलहरूले आफ्ना नेता तथा कार्यकर्तालाई राहत र उद्धारमा परिचालित हुन आग्रह गरेका छन्। प्रदेश तथा स्थानीय तहका नेता–कार्यकर्तालाई पनि घटनास्थलमा पुगेर उद्धार, राहत तथा व्यवस्थापनमा सहयोग गर्न गरिएको आह्वानलाई अहिलेको आवश्यकता ठानिएको छ।
बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठकसमेत स्थगित गरिएको सन्दर्भले विपद्लाई राज्यको सर्वोच्च प्राथमिकतामा राखेको देखिन्छ । यस्तो बेला संसद्, सरकार, प्रतिपक्ष, राजनीतिक दल र नागरिक समाजबीचको सहकार्य आवश्यकता छ।
नेपालमा आएको यस अकल्पनीय विपत्तिप्रति छिमेकी मुलुक चीन र भारतले समेत चासो देखाएका छन्। राहत तथा उद्धारका लागि आवश्यक सामग्रीको सूची उपलब्ध गराउन आग्रह गर्नु र सहयोगको तत्परता देखाउनु सकारात्मक अन्तर्राष्ट्रिय सहकार्य हो। विश्व बैंकले समेत नेपालमा राहत, उद्धार तथा पुनर्निर्माणका लागि सहयोग गर्ने घोषणा गरेको छ। यस्तो सहयोगलाई पारदर्शी, आवश्यकतामा आधारित र प्रभावित नागरिकसम्म पुग्ने गरी परिचालन गर्न राज्यले विशेष ध्यान दिनुपर्छ।
एउटा देशको हिमाली क्षेत्रमा भएको प्राकृतिक घटनाको प्रत्यक्ष प्रभाव अर्को देशको भूभागमा विनाशका रूपमा देखिएको छ। त्यसैले यसलाई राष्ट्रिय विपद्का रूपमा सीमित गरेर हेर्नुभन्दा सीमापार वातावरणीय तथा जलवायुजन्य जोखिमका रूपमा पनि बुझ्न आवश्यक छ। तिब्बत क्षेत्रबाट आएको बाढीले नेपालको तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याउनु हिमाली क्षेत्रमा तीव्र बदलिँदै गएको वातावरणीय अवस्थाकाे गम्भीर संकेत हो।
नेपाल जलवायु परिवर्तनको प्रत्यक्ष कारणभन्दा बढी त्यसको परिणाम भोगिरहेको मुलुक हो। हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिउँ पर्ने प्रकृतिमा आएको परिवर्तन, हिमनदी तथा हिमतालमा देखिएको असामान्य अवस्था, हिउँ छिटो पग्लिने समस्या र हिमाली पारिस्थितिक प्रणालीमा देखिएका परिवर्तनले आगामी दिनमा यस्ता विपद्को जोखिम अझ बढाउन सक्ने संकेत गर्छन्।
केही समययता साहित्यकार, कवि, कलाकार तथा वातावरणप्रेमीहरूले हिमाली क्षेत्र संरक्षण र ‘हिउँ बचाऊ’ अभियानमार्फत हिमालमा देखिएको वातावरणीय संकटबारे आवाज उठाउँदै आएका थिए । जडीबुटी, हिमाली जैविक विविधता, कालापत्थर क्षेत्रको वातावरणीय परिवर्तन, हिउँ नपर्ने वा हिउँ छिटो पग्लिने अवस्थाजस्ता विषयमा विद्वान् तथा वातावरणविद्हरूले व्यक्त गर्दै आएका चिन्तालाई पनि अब अझ गम्भीरतापूर्वक लिनुपर्ने अवस्था आएको छ। त्यसैको एउटा सम्भावित चेतावनीका रूपमा अध्ययन गर्नुपर्छ। एउटा घटनालाई मात्र आधार बनाएर सम्पूर्ण निष्कर्ष निकाल्नु वैज्ञानिक हुँदैन, तर यस्ता घटनाको आवृत्ति, तीव्रता र हिमाली क्षेत्रमा भइरहेको परिवर्तनलाई जलवायु विज्ञानको दृष्टिले गम्भीर अध्ययन गर्नु अनिवार्य छ।
यो विपत्ति अवसर पनि हो,पुनर्निर्माणमा नयाँ सोच चाहिन्छ।विपत्तिपछि सडक, पुल, घर र अन्य संरचना पुनर्निर्माण गर्नु मात्र पर्याप्त हुँदैन। अब जोखिमको पुनर्मूल्यांकन गरेर पुनर्निर्माण गर्नुपर्छ। जहाँ नदीले आफ्नो पुरानो बहाव क्षेत्र फिर्ता लिएको छ, त्यहाँ पुनः अव्यवस्थित बस्ती बसाल्नु हुँदैन। जोखिमयुक्त स्थानमा रहेका बस्ती तथा व्यवसायलाई दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने नीति आवश्यक हुन्छ। पुनर्निर्माण गर्दा जलवायु परिवर्तन र भविष्यका विपद्को जोखिमलाई आधार बनाउनुपर्छ।
टुकी नेटवर्क डट कम परिवार यस दुःखद् घडीमा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गर्दछ। शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको तत्काल खोजी, उद्धार तथा परिवारसँग पुनर्मिलनका लागि राज्यका सबै संयन्त्र प्रभावकारी रूपमा परिचालन हुनु पर्छ । सरकारले राहत, उद्धार, उपचार र विस्थापित नागरिकको व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखोस्। उद्धारपछि राहत, राहतपछि पुनर्स्थापना र त्यसपछि दीर्घकालीन पुनर्निर्माणको स्पष्ट कार्ययोजना बनाइयोस्।
यो हिमाली क्षेत्रमा बढ्दै गएको वातावरणीय असन्तुलन, जलवायु परिवर्तन र सीमापार प्राकृतिक जोखिमबारे नेपालसहित अन्तर्राष्ट्रिय समुदायलाई दिएको गम्भीर चेतावनी हुन सक्छ। त्यसैले नेपालले यस विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा समेत उठाउनुपर्छ। हिमाली मुलुकका साझा जोखिमबारे क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्छ। जलवायु परिवर्तनका कारण बढी जोखिममा परिरहेका नेपालजस्ता मुलुकले जलवायु न्यायको आवाज अझ बलियो बनाउनुपर्छ।
राष्ट्रिय विपद्को यो घडीमा सम्पूर्ण नेपाली एकजुट बनौँ। उद्धारमा हातेमालो गरौँ। राहतमा सहयोग गरौँ। बेपत्ताको खोजीमा राज्यलाई साथ दिऔँ। र यस विपत्तिबाट भविष्यका लागि आवश्यक पाठ सिकौँ।


