उत्पादनसँगै प्रसारण र वितरण सुधार सरकारको प्राथमिकता : ऊर्जामन्त्री श्रेष्ठ

अ+
अ
अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विद्युत् क्षेत्रमा अब उत्पादन वृद्धि मात्रै पर्याप्त नभई प्रसारण र वितरण प्रणालीको क्षमता, गुणस्तर तथा विश्वसनीयता सुधारलाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन्।

प्रतिनिधिसभामा बोल्दै मन्त्री श्रेष्ठले औद्योगिक करिडोर तथा विभिन्न क्षेत्रमा बारम्बार ट्रिपिङ, भोल्टेजमा उतार–चढाव र ट्रान्सफर्मरको समस्याका कारण विद्युत् गुणस्तरबारे गुनासो आउने गरेको बताए। यस्ता समस्या समाधानका लागि मन्त्रालयले अध्ययन गरी नेपाल विद्युत् प्राधिकरणलाई सुधार तथा कार्यान्वयनका लागि सिफारिस पठाइसकेको उनको भनाइ छ।

उनले बढ्दो विद्युत् खपतसँगै ट्रान्सफर्मर र फिडरको क्षमता वृद्धि, सबस्टेसन विस्तार, प्रसारण तथा वितरण लाइन स्तरोन्नति र प्रणाली सुधारलाई तीव्रता दिइएको जानकारी दिए। काठमाडौं उपत्यका तथा प्रमुख सहरमा स्मार्ट मिटरिङ र सबस्टेसन अटोमेसन विस्तार गर्ने कामसमेत अघि बढाइएको उनले बताए।

वर्षायाममा हावाहुरी, चट्याङ, बाढी र पहिरोका कारण विद्युत् संरचनामा क्षति पुग्दा आपूर्ति अवरुद्ध हुने गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले सीमित स्रोतसाधनका बीच प्राधिकरणका कर्मचारी मर्मत तथा पुनःस्थापनामा खटिरहेको बताए।

विद्युत् उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न ऊर्जा मन्त्रालयको ११५१ र नेपाल विद्युत् प्राधिकरणको ११५० हटलाइन चौबीसै घण्टा सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो तीन महिनामा मन्त्रालयको हटलाइनमार्फत प्राप्त १८ हजार ३ सय गुनासा सम्बोधन गरिएको मन्त्री श्रेष्ठले यसअघि जानकारी दिएका थिए।

मन्त्री श्रेष्ठले भरपर्दो प्रसारण, गुणस्तरीय वितरण र बढ्दो आन्तरिक विद्युत् मागको प्रभावकारी व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाएर उपभोक्तालाई नियमित, गुणस्तरीय र विश्वसनीय विद्युत् सेवा उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको स्पष्ट पारे।