पार्टीभित्र बस्ने, आफ्नै पार्टीको विरोध गर्ने शैली ठीक भएन : ओली

+
-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र खाइराखेका र पाइराखेकाहरू नै असन्तुष्ट रहेको बताउनुभएको छ।

झापामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीभित्र ठूलो र धेरै लाभ लिएकाहरू नै असन्तुष्ट भएको तर सामान्य कार्यकर्ताहरू भने असन्तुष्ट नरहेको बताउनुभयो।
उहाँले सामान्य कार्यकर्ताहरूले पार्टीलाई भोट दिएको तर आफूले केही माग नगरेको र उनीहरू असन्तुष्ट पनि नरहेको दाबी गर्नुभयो।

ओलीले पार्टीभित्र लोकतन्त्र र प्रजातन्त्र रहेको भन्दै अध्यक्ष हटाउनुपर्‍यो भन्ने असन्तुष्टि पार्टीका कमिटीमा राख्नुपर्ने बताउनुभयो। पार्टीका बैठक, छलफल र भेलाहरूमा असन्तुष्टि व्यक्त गर्न पाइने भए पनि सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत अध्यक्ष हटाउनुपर्‍यो भन्दै प्रचारबाजी गर्नु उचित नभएको उहाँको भनाइ थियो।

‘पार्टीभित्र बस्ने तर आफ्नै नेता र पार्टीको विरोध गर्ने’ शैली ठीक नभएको बताउँदै ओलीले असन्तुष्ट नेताहरूप्रति कडा संकेत गर्नुभयो।

विवाह र सम्बन्धविच्छेदको प्रसंग जोड्दै उहाँले पार्टी पनि त्यस्तै भएको बताउनुभयो। अध्यक्ष मन नपरे पार्टी छोडेर जान सकिने उल्लेख गर्दै ओलीले पार्टीभित्र बसेर आफ्नै पार्टी र नेतृत्वको विरोध गर्दै हिँड्नु उचित नभएको बताउनुभयो।

ओलीको यस्तो अभिव्यक्तिलाई एमालेभित्र पछिल्लो समय देखिएको आन्तरिक असन्तुष्टितर्फ लक्षित रूपमा हेरिएको छ। पछिल्लो समय पार्टीका केही उच्च तहका नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

ओलीले पार्टीका बैठक र कमिटीमा आफ्ना कुरा राख्न नसक्ने तर बाहिर सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोख्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै त्यस्तो शैली नअपनाउन नेताहरूलाई आग्रह गर्नुभएको हो।