भदौ १ देखि नियमित प्रक्रियाबाटै एलपी ग्यास बिक्री–वितरण हुने

Nepal Oil Corporation. Photo: THT file
अ+
अ
अ-

काठमाडौं । नेपाल आयल निगमले भदौ १ गतेदेखि खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै हुने जनाएको छ।

निगमले साउन ३१ गते जारी गरेको सूचनाअनुसार सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास बिक्री–वितरणको व्यवस्था मिलाइएको हो। उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ।

निगमका अनुसार ग्यास बिक्री–वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन विक्रेता तथा वितरकले दैनिक बिक्रीको विवरण उपलब्ध गराउनुपर्नेछ। दैनिक बिक्री गर्ने विक्रेता/वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर संख्यासहितको विवरण निगममा प्रत्येक दिन बिहान ९ बजेसम्म उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, विक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरसमेतको विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित ग्यास उद्योगलाई उपलब्ध गराउनुपर्ने निगमले जनाएको छ। सम्बन्धित उद्योगले उक्त विवरण सोही दिन निगमलाई उपलब्ध गराउनुपर्नेछ।

निगमले ग्यास वितरण गर्दा अत्यावश्यक प्रयोजनका लागि प्रयोग गर्ने घरायसी उपभोक्तालाई उच्च प्राथमिकतामा राखी बिक्री–वितरण गर्न पनि निर्देशन दिएको छ।

ग्यास ढुवानी तथा वितरण कार्यमा सुरक्षाको दृष्टिले सहजीकरण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ। साथै, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरी निगमबाट खटिएका जनशक्तिसहितको संयुक्त टोलीमार्फत ग्यास वितरण कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।

नजिकका विक्रेताबाट कुनै कारणवश ग्यास प्राप्त गर्न नसकेका वा तत्काल अत्यावश्यक परेका उपभोक्ताले निगममा सञ्चालनमा रहेको (QRT) को मोबाइल नम्बर ९८५१४५४५१२४ र ९८५१४५४५१२८ मा सम्पर्क गर्न निगमले अनुरोध गरेको छ।

यससँगै पछिल्ला दिनमा देखिएको एलपी ग्यास वितरणसम्बन्धी असहजता क्रमशः सामान्य अवस्थामा फर्काउने निगमको तयारी देखिएको छ। पछिल्ला दिनमा निगमले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट समेत अत्यावश्यक उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था गरेको थियो।