काठमाडौं । बालाजु क्षेत्रमा सवारी चालक तथा सर्वसाधारणलाई विभिन्न बहाना बनाई झुक्याएर मोबाइल चोरी गर्ने आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विभिन्न मिति र समयमा बालाजु क्षेत्रमा सवारी चालक तथा सर्वसाधारणलाई बरबहाना बनाई झुक्याउने र त्यस क्रममा मोबाइल चोरी गर्ने गरेको सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–६ बस्ने ३३ वर्षीय रञ्जित भण्डारी र रसुवाको उत्तरगया गाउँपालिका–४ घर भई काठमाडौंको मनमैजु बस्ने २३ वर्षीय नबिन थिङ्ला रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट १२ थान मोबाइल र राहदानी दुई थान बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई मोबाइल चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

