पर्या कविता: धुवाँ रानी !

अ+
अ
अ-

पर्या कविता: धुवाँ रानी !

– बाउसे –
       
लामो समयदेखि
म तिम्रो प्रेममा थिएँ ।

आगोको उत्पत्ति भएकै दिनदेखि
झ्याङ्गिएको थियो हाम्रो प्रेम ।

त्यसपछि –
मैले भात तिहुन बनाउँदै गर्दा
तिमी मेरै साथमा हुन्थ्यौ ।

साँझबिहान
मैले आङ ताताउँदा
तिमी मेरै साथमा हुन्थ्यौ ।

म लास भएर जल्दै गर्दा पनि
नजिकै उभिएर टुलुटुलु हेर्दै रुनेहरूका आँखामा
तिमी नै पिलपिल गरिरहेकी हुन्थ्यौ ।

हुँदाहुँदा
कतिसम्म भएको थियो भने
तिमीलाई चुम्बा नखाई
मेरो मनको धितै मर्दैनथ्यो ।
तिम्रो साथ नपाए
मेरो सबारी नै चल्दैनथ्यो ।
कुनै उद्योगको धुरीबाट तिमी नमुस्कुराई
मेरो दालै गल्दैनथ्यो / मेरो जीविकै चल्दैनथ्यो ।

तर धुवाँ रानी !
अब भत्किएको छ मेरो त्यो अज्ञानताको मन्दिर
जहाँ सजाएर राख्ने गर्थें म तिमीलाई ।
तसर्थ अब
तिमीले नफालेकै जाती मेरो आकाशमा तिम्रो इन्देणी जाल
देखाउन नखोजेकै जाती मलाई तिम्रो प्रेमको पराकाष्ठा  ।

मेरा गाउँका छिमेकी दुम्सीहरूले जसरी
तिमीसँग सहवासको आनन्द लिंदै
आफ्नो वंशकै अन्तिम श्वास फेर्नु छैन मैले  ।

आफ्नो बाँकी जीवनको मिठासकालागि
सुकिली जलपरी वा घामकी उज्याली छोरीसँग प्रेम नगरेर
आफैँलाई फोसिल बनाउने तिम्रो षड्यन्त्रको जालोमा
अब कदापि फँस्नु छैन मैले ।