काभ्रेपलान्चोक । प्रगतिशील लेखक संघ (प्रलेस) काभ्रेको नियमित साहित्यिक कवि गोष्ठी बनेपास्थित किट्ली क्याफेमा विभिन्न साहित्यिक प्रस्तुतिसहित सम्पन्न भएको छ।
साहित्यिक सिर्जना, विमर्श र समालोचनामार्फत समकालीन समाजका विविध पक्षलाई उजागर गर्ने उद्देश्यले आयोजित गोष्ठीमा प्रलेस काभ्रेसँग आबद्ध तथा स्थानीय कवि, साहित्यकार र स्रष्टाहरूको सहभागिता रहेको थियो।
प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रलेस काभ्रेका इन्चार्ज गोबिन्द शृङ्खला प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको सञ्चालन सचिव दिनेश खरेलले गरेका थिए भने नवराज उत्साहीले स्वागत मन्तव्य राखेका थिए।
गोष्ठीको विशेष आकर्षणका रूपमा वरिष्ठ साहित्यकार हरिप्रसाद चौलागाईंलाई ‘स्रष्टा विशेष’*का रूपमा प्रस्तुत गरिएको थियो। चौलागाईंले आफ्ना सिर्जनात्मक यात्रासँग सम्बन्धित पाँच वटा कविता वाचन गरेका थिए। उनका कवितामा सामाजिक जीवन, मानवीय अनुभूति, समयका अन्तर्विरोध र समकालीन समाजका यथार्थहरू अभिव्यक्त भएका थिए।
‘स्रष्टा विशेष’ प्रस्तुतिपछि प्रलेस काभ्रेको तर्फबाट साहित्यकार चौलागाईंलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो। लामो साहित्यिक साधना र नेपाली साहित्यमा पुर्याएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा रक्तिम लामा, दिनेशराज खरेल, मुरहरी रायमाझी ‘हरि’, श्रीकृष्ण पाण्डे, नवराज उत्साही, उपेन्द्र दाहाल, बलराम बिष्ट, भवानी पाण्डे, अल्फि फोहिन फाक्लुक्पालगायतका स्रष्टाहरूले समसामयिक कविता वाचन गरेका थिए।
कविता वाचनपछि प्रमुख अतिथि गोबिन्द शृङ्खलाले प्रस्तुत रचनामाथि समालोचनात्मक टिप्पणी गरेका थिए। उनले साहित्य मनोरञ्जनको माध्यम मात्र नभई समाज र समयलाई बुझ्ने, प्रश्न गर्ने तथा परिवर्तनको चेतना निर्माण गर्ने महत्वपूर्ण माध्यम भएको बताए।
उनले समकालीन यथार्थलाई साहित्यमा समेट्दा कलात्मक पक्षसँगै वैचारिक गहिराइ र सामाजिक सरोकारलाई पनि ध्यान दिनुपर्ने धारणा राखे।
गोष्ठीमा सहभागी स्रष्टाहरूबीच कविता तथा प्रस्तुत रचनाको विषयवस्तु, शैली, शिल्प, विम्ब र सामाजिक पक्षबारे अन्तरक्रियासमेत भएको थियो। नियमित साहित्यिक कार्यक्रमले नयाँ र पुराना पुस्ताका स्रष्टाबीच सिर्जनात्मक संवाद बढाउनुका साथै स्थानीय साहित्यिक गतिविधिलाई थप सक्रिय बनाउने सहभागीहरूको धारणा थियो।
प्रलेस काभ्रेले सिर्जना, विचार र विमर्शलाई समाजसँग जोड्दै नियमित साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ। पछिल्लो गोष्ठीले पनि काभ्रेली साहित्यिक क्षेत्रमा निरन्तर सिर्जना र संवादको आवश्यकता थप उजागर गरेको आयोजकको भनाइ छ।


