पन्ध्रौँ लोकसङ्गीत सत्सङ्ग तथा म्युजिकल ज्यामिङ भव्य रूपमा सम्पन्न

अ+
अ
अ-

काठमाडौं। नेपाली लोकबाजा सङ्ग्रहालयद्वारा आयोजित पन्ध्रौँ लोकसङ्गीत सत्सङ्ग तथा म्युजिकल ज्यामिङ कार्यक्रम विभिन्न लोकसङ्गीतका प्रस्तुति र सांस्कृतिक माहोलका बीच भव्य रूपमा सम्पन्न भएको छ।

नेपाली लोकसङ्गीतको संरक्षण, अनुसन्धान र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा वरिष्ठ लोकगायक तथा अनुसन्धानकर्ता डा. आशबहादुर तामाङ प्रमुख अतिथि तथा अतिथि कलाकारका रूपमा सहभागी हुनुभएको थियो। उहाँले लोकगीतको परम्परा, महत्त्व र पुस्तान्तरणबारे प्रकाश पार्दै विभिन्न लोकगीत प्रस्तुत गर्नुभयो।

कार्यक्रममा डा. तामाङले आफ्नी आमा धनमाया तामाङले गाउनुभएको ‘नरोई नरोई बस माया, जाने बेला भयो बरी लै’ गीतको धुन पात बजाएर निकाल्नुभएको थियो। उहाँको प्रस्तुतिले नेपाली लोकसङ्गीतमा मौलिक लोकबाजा र परम्परागत धुनको महत्त्वलाई समेत उजागर गरेको थियो।

त्यसैगरी सरिता प्रजापतीले सुनिल चित्रकारको सङ्कलनमा रहेको ‘रेलै घुमेर’ लोकगीत प्रस्तुत गर्नुभयो। अन्जान बाबु शर्माले ‘चरी लैजा समाचार’ प्रस्तुत गर्नुभएको थियो भने रोशन दाहालले नारायण गोपालको चर्चित गीत ‘हे मलाई माया गर्छु भन्ने हजुर…’ प्रस्तुत गर्दै कार्यक्रमलाई थप सङ्गीतमय बनाउनुभयो।

कार्यक्रममा नेपाली लोकसङ्गीतको संरक्षण र प्रवर्द्धनमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका रामगोपाल कार्की, कुमारी योङहाङ लिम्बू लगायत विभिन्न कलाकारहरूको सहभागिता र प्रस्तुतिले सत्सङ्गलाई थप विशेष तथा स्मरणीय बनाएको थियो।

कार्यक्रममा नेपाली लोकबाजा सङ्ग्रहालयका संयोजक रामप्रसाद कडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन ओम भण्डारीले गर्नुभएको थियो।

नेपाली लोकबाजा सङ्ग्रहालय, लक्ष्मेश्वर महादेव मन्दिर, गीता गृह मार्ग, कालोपुल, टेकुमा सम्पन्न कार्यक्रममा लोकसङ्गीतप्रेमी, कलाकार, अनुसन्धानकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र सहभागिता जनाउने सम्पूर्ण लोकसङ्गीतप्रेमी, अतिथि, कलाकार तथा नेपाली लोकसङ्गीतको ज्ञान, अनुसन्धान र संरक्षणमा समर्पित व्यक्तित्वहरूप्रति नेपाली लोकबाजा सङ्ग्रहालय परिवारले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।