अब स्वास्थ्य बीमा अनलाइनबाटै गर्न सकिने

+
-

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत नयाँ आबद्धता, बीमालेख नवीकरण र केवाईसी विवरण अद्यावधिक गर्न अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ।

बोर्डले एचआईबी ई–पोर्टलमार्फत स्वास्थ्य बीमासम्बन्धी सेवा अनलाइनबाटै लिन सकिने व्यवस्था गरेको हो। बोर्डका अनुसार २०८३ साउन २९ गतेदेखि यो प्रणाली औपचारिक रूपमा सञ्चालनमा आएको हो।

स्वास्थ्य बीमामा नयाँ आबद्धता तथा बीमालेख नवीकरणका लागि अब सेवाग्राहीले डिजिटल माध्यमबाटै प्रक्रिया पूरा गर्न सक्नेछन्। राष्ट्रिय परिचयपत्रसँग समेत अन्तरआबद्ध गरिएको प्रणालीमा राष्ट्रिय परिचयपत्र नभएका परिवारका सदस्यले म्यानुअल रूपमा डिजिटल विवरण पेश गर्न सक्ने व्यवस्था गरिएको छ।

स्वास्थ्य बीमाको प्रिमियम ई–सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने बोर्डले जनाएको छ। व्यक्ति स्वयं वा दर्ता सहयोगीमार्फत परिवारलाई स्वास्थ्य बीमामा आबद्ध तथा बीमालेख नवीकरण गर्न सकिनेछ।

यसअघि स्वास्थ्य बीमा गरिसकेका परिवारले परिवारमूलीको स्वास्थ्य बीमा नम्बर प्रयोग गरी नयाँ प्रणालीमा जोडिएर केवाईसी विवरण अद्यावधिक तथा बीमालेख नवीकरण गर्न सक्नेछन्।

यस्तै, कार्यालय वा संगठित क्षेत्रबाट एकैपटक धेरै परिवारको बीमा आबद्धता तथा नवीकरण गर्न सकिने गरी ‘बल्क इनरोलमेन्ट’ र ‘बल्क रिन्यु’ को व्यवस्था पनि गरिएको छ।

बोर्डका अनुसार जिल्ला तथा प्रदेश तहबाट आवश्यक प्रमाणीकरण र स्वीकृतिको व्यवस्था गरिएको छ। स्वीकृति भएपछि डिजिटल स्वास्थ्य बीमा कार्ड जारी हुनेछ।

अनलाइन प्रणाली सञ्चालनमा आएसँगै स्वास्थ्य बीमामा आबद्धता र नवीकरण प्रक्रिया सहज हुनुका साथै सेवाग्राहीको समय बचत हुने तथा सेवा प्रवाहमा पारदर्शिता बढ्ने अपेक्षा गरिएको बोर्डले जनाएको छ।