अ+
अ
अ-
– रमी प्रिया
हजारौं युध्दका खतहरु छातिमा लुकाई
तमाम आला विभीषिकाहरु ढुकढुकीले थिचेर
अनवरत यात्रामा खटिएकी मायालू धराको
विशाल काखको स्यानो बिन्दू टेकेर
आज म पोखिरहेछु —
एक मुठ्ठी प्रेम
प्रत्येक मानिसहरूको हृदयमा !
थोरै नै सहि —
फुटुन् अङ्कुरहरू प्रतिप्रेममा
चलोस् वसन्तको एकछत्र राज
फैलियोस् टाढा टाढासम्म गाढा अत्तरहरू !
उर्लेर सारा मधुवन
प्रेमिल मातमा विभोर हर एक मुटु
उघारुन् परेलीहरु अर्को मुटुको खोजीमा
र भेटुन् त्यहाँ—
एकथान आफ्नै प्रतिछाँया !
उप्रान्त—
लागोस् पूर्णबिराम त्रासद युद्वका अक्षरहरू
र मुस्कुराउन् धरा प्रत्येक पल असीम आनन्दले !
कामना गरिरहेछु कि—
कतै खेर नजाओस् यो एकमुठ्ठी प्रेम !


