राष्ट्रिय कविता प्रतियोगिता, विजेतालाई ५० हजार पुरस्कार

अ+
अ
अ-

मकवानपुर । भीमफेदी गाउँपालिकाले साहित्यकार तुलसी थापाको स्मृतिमा राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्ने भएको छ। गाउँपालिकाले इच्छुक कवि तथा स्रष्टालाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ। गाउँपालिकाले आफ्नो आधिकारिक वेबसाइटमार्फत पनि सूचना तथा निर्णयहरू सार्वजनिक गरेको छ।

गाउँपालिकाको सूचनाअनुसार प्रतियोगिता भदौ ७ गते आयोजना हुनेछ। प्रतियोगितामा सहभागी हुने कविहरूले साउन मसान्तभित्र कविता पठाइसक्नुपर्नेछ।

प्रतियोगिताका लागि कविता मौलिक तथा यसअघि कुनै माध्यमबाट प्रकाशित वा प्रसारित नभएको हुनुपर्नेछ। कविता १५० शब्दमा नबढाई लेखिएको हुनुपर्ने र एक जना कविले एउटा मात्र कविता पठाउनुपर्नेछ।

त्यस्तै, कृत्रिम बुद्धिमत्ता प्रयोग गरी तयार गरिएको कविता स्वीकार नगरिने गाउँपालिकाले जनाएको छ। कविता पठाउँदा कविले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट रूपमा खुलाउनुपर्नेछ।

उत्कृष्ट १० कविता छनोट गरी कवितावाचनका लागि सहभागी गराइनेछ र छनोट भएका कवि स्वयं उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ। प्रतियोगितामा प्रथम हुने कविलाई रु. ५० हजार, द्वितीयलाई रु. ३० हजार, तृतीयलाई रु. २० हजार तथा दुई जनालाई रु. १०/१० हजार प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।