लेखनाथ सिकारू
श्रम संस्कृति पार्टीको विस्तार केवल नयाँ दलको उदय होइन, पुरानो राजनीतिक संस्कृतिप्रतिको अविश्वासको खुला अभिव्यक्ति पनि हो ।
नेपाली राजनीतिमा एउटा पुरानो भनाइ छ किल्ला बाहिरबाट जति बलियो देखिए पनि भित्रबाट कमजोर भएपछि त्यसलाई ढाल्न ठूलो सेना चाहिँदैन। कोशी प्रदेशमा पछिल्लो समय देखिएको राजनीतिक परिदृश्यलाई यही दृष्टान्तबाट हेर्न सकिन्छ।
कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलले वर्षौँदेखि आफ्नो प्रभाव जमाउँदै आएका पहाडी भूगोलदेखि तराईसम्म नयाँ राजनीतिक शक्तिको विस्तार देखिन थालेको छ। त्यो विस्तारको केन्द्रमा छ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी।
चार महिना, केही महिना वा एउटा चुनावको हिसाबले मात्र हेर्दा श्रम संस्कृति पार्टीलाई नयाँ दलको एउटा प्रयोग भन्न सकिन्छ। तर राजनीतिक मनोविज्ञानको गहिराइमा पुगेर हेर्ने हो भने यसको उदय त्यति सामान्य घटना होइन। यो पुराना दलका लागि एउटा प्रश्नपत्र हो, जसको उत्तर उनीहरूले चुनावी घोषणापत्रमा होइन, आफ्नै संगठन र नेतृत्वको ऐनामा खोज्नुपर्नेछ। किनकि जनताले नयाँ पार्टीलाई मात्र रोजिरहेका छैनन्। उनीहरूले पुरानो राजनीतिक संस्कृतिलाई पनि अस्वीकार गर्न थालेका छन्।
हर्क साम्पाङको शक्ति कहाँबाट आयो ?
हर्क साम्पाङको राजनीतिक शक्ति कुनै परम्परागत पार्टी संगठनबाट जन्मिएको होइन। न उनको पछाडि दशकौँ पुरानो पार्टी संरचना थियो, न राजनीतिक परिवारको विरासत। उनको राजनीतिक पूँजी बनेको हो श्रम, स्थानीयता, प्रत्यक्षता र आक्रामक जनसम्पर्क।
धरानको मेयर हुँदै देखि उनले खानेपानीदेखि सार्वजनिक श्रमसम्मका अभियानमार्फत उनले आफूलाई ‘नेता’भन्दा ‘काम गर्ने मान्छे’का रूपमा स्थापित गरे। नेपाली राजनीतिमा यो सामान्य कुरा जस्तो लागे पनि यसको मनोवैज्ञानिक प्रभाव ठूलो छ। दशकौँदेखि नेताहरूले विकासका भाषण गरे। योजनाका कुरा गरे। बजेटका कुरा गरे। समाजवाद, समृद्धि, सुशासन र जनताको मुक्तिका कुरा गरे। तर जनता फेरि उही ठाउँमा उभिए। त्यहीँ हर्क साम्पाङ आए र भने पहिले काम गरौँ। यही एउटा सरल राजनीतिक सन्देशले उनलाई परम्परागत राजनीतिबाट अलग बनायो।
उनको शैली विवादास्पद छ। उनको अभिव्यक्ति धेरैपटक उत्तेजक हुन्छ। राजनीतिक संयमको अभाव रहेको आलोचना पनि हुन्छ। तर राजनीतिक लोकप्रियताको एउटा कठोर सत्य के हो भने जनताले कहिलेकाहीँ परिपक्व भाषणभन्दा आफूले देखेको कामलाई बढी विश्वास गर्छन्। हर्कको यही पूँजी अहिले पार्टीको राजनीतिक पूँजी बन्न पुगेको छ।
‘श्रम’ कम्युनिष्टको नारा थियो, हर्कको राजनीतिक अभ्यास बन्यो
श्रम संस्कृति पार्टीको उदयले सबैभन्दा असहज प्रश्न नेपाली कम्युनिष्टहरूलाई सोधेको छ। श्रम, श्रमिक, उत्पादन र जनश्रम कम्युनिष्ट राजनीतिको आधारभूत शब्दावली हो। नेपाली कम्युनिष्ट आन्दोलनले यही भाषामा पुस्तौँदेखि राजनीति गर्दै आएको छ। तर प्रश्न अब बदलिएको छ। जनताले सोध्न थालेका छन्श्र मको कुरा गर्ने को हो होइन, श्रम गर्ने को हो ? यही प्रश्नको व्यवहारिक उत्तर दिने प्रयास हर्क साम्पाङले गरे।
जनतासँगै सडकमा उत्रिने, ढुंगा बोक्ने, सरसफाइ गर्ने, वृक्षरोपण गर्ने, स्थानीय उत्पादन र श्रमलाई राजनीतिक संस्कृतिसँग जोड्ने अभ्यासले ‘श्रम’लाई भाषणको विषयबाट व्यवहारको विषय बनाइदियो। विडम्बना के छ भने श्रमको राजनीति गर्ने पुराना कम्युनिष्ट दलहरू सत्ताको लामो अभ्याससँगै आफैँ श्रमबाट टाढिँदै गएको आरोप खेपिरहेका छन्।
त्यसैले श्रम संस्कृति पार्टीको उदयलाई कम्युनिष्टहरूको विरुद्धको एउटा वैचारिक व्यंग्यका रूपमा पनि हेर्न सकिन्छ। जसले श्रमको राजनीति सिकायो, उसले श्रम बिर्सियोस जसलाई श्रमको राजनीति थाहा थिएन, उसले श्रमलाई राजनीतिक पहिचान बनायो। यही विरोधाभास आजको नेपाली राजनीतिको गम्भीर विषय हो।
पुराना दल किन डराइरहेका छन् ?
नयाँ दलको उदय हुँदा पुराना दल चिन्तित हुनु स्वाभाविक हो। तर अहिलेको चिन्ता केवल चुनाव हार्ने चिन्ता होइन। यो राजनीतिक आधार खस्किँदै गएको चिन्ता हो।
संखुवासभा, पाँचथर इलाममा पुराना दलका नेता-कार्यकर्ता श्रम संस्कृतिमा प्रवेश गर्नु, धनकुटामा कांग्रेस पृष्ठभूमिका नेताहरू आकर्षित हुनु, भोजपुरमा एमालेसँग जोडिएका जनप्रतिनिधि नयाँ राजनीतिक धारतर्फ जानु यी घटना अलग अलग व्यक्तिगत निर्णय हुन सक्छन्। तर यी घटनालाई एकै ठाउँमा राखेर हेर्दा अर्को तस्वीर देखिन्छ। त्यो तस्वीर हो पुराना दलभित्रको मोहभंग।
राजनीतिमा कार्यकर्ता पार्टी छाडेर अर्को पार्टीमा जानु नयाँ कुरा होइन। तर जब कार्यकर्ताले पार्टीको झण्डाभन्दा आफ्नो राजनीतिक भविष्य महत्वपूर्ण ठान्न थाल्छ, त्यसबेला समस्या संगठनभित्र हुन्छ।
आज कांग्रेसको कार्यकर्ता कांग्रेससँग किन असन्तुष्ट छ ? एमालेको कार्यकर्ता एमालेसँग किन निराश छ ?
माओवादी पृष्ठभूमिका नेता नयाँ विकल्पमा किन पुगिरहेका छन् ? यी प्रश्नको उत्तर हर्क साम्पाङको भाषणमा मात्र छैन। यसको उत्तर पुराना दलका बैठककक्ष, गुटगत समीकरण, टिकट वितरण, नेतृत्व चयन र सत्ताको अभ्यासमा पनि लुकेको छ।
पुराना दलको सबैभन्दा ठूलो समस्या इतिहासमा बाँच्ने बानी
कांग्रेससँग लोकतन्त्रको इतिहास छ। एमालेसँग कम्युनिष्ट आन्दोलनको इतिहास छ। माओवादी हालको नेकपासँग गणतन्त्र स्थापनाको इतिहास छ। तर समस्या यहीँबाट सुरु हुन्छ। इतिहासले वर्तमानको असफलता छोप्न सक्दैन।
जनताको एउटा पुस्ता यस्तो पनि छ जसले कांग्रेसले राणा शासनविरुद्ध गरेको संघर्ष देखेन। एमालेको भूमिगत इतिहास देखेन। माओवादी जनयुद्ध देखेन। उसले देखेको कुरा हो आजको बेरोजगारी, महँगी, भ्रष्टाचार, ढिलासुस्ती, राजनीतिक भागबन्डा र नेताको जीवनशैली।
त्यसैले आजको पुस्तालाई ‘हामीले देशका लागि धेरै गरेका छौँ’ भन्ने तर्कले मात्र प्रभावित गर्न सकिँदैन। उनीहरूको प्रतिप्रश्न हुन्छ अब के गर्दै हुनुहुन्छ ? यही प्रश्नको जवाफ दिन नसक्दा पुराना दलहरू क्रमशः रक्षात्मक हुँदै गएका छन्।
रास्वपापछि हर्क: असन्तुष्टिको अर्को रूप
पछिल्लो राजनीतिक उभारलाई हेर्दा एउटा महत्वपूर्ण परिवर्तन देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलप्रतिको व्यापक असन्तुष्टिलाई राष्ट्रिय राजनीतिको केन्द्रमा ल्यायो। नयाँ अनुहार, सुशासन, भ्रष्टाचारविरोध र परम्परागत दलको विकल्पको नाराले ठूलो जनमत आकर्षित गर्यो। तर त्यसको समानान्तर अर्को प्रश्न पनि जन्मियो-के सबै असन्तुष्टि एउटै राजनीतिक भाषामा व्यक्त हुन्छ ? जवाफ हो हुँदैन। कोशीमा हर्क साम्पाङको उदयले यही कुरा देखाएको छ। यहाँ असन्तुष्टिसँगै पहिचान, स्थानीय स्वाभिमान, श्रम र केन्द्रप्रतिको अविश्वास मिसिएको छ।
कोशी नामकरणपछि चलेको पहिचान आन्दोलनको प्रभाव अझै राजनीतिक चेतनामा जीवित छ। त्यस आन्दोलनले खोजेको प्रतिनिधित्व र नेतृत्वको एउटा हिस्सा हर्क साम्पाङमा देखिएको विश्लेषणलाई पूर्णतः बेवास्ता गर्न सकिँदैन। त्यसैले श्रम संस्कृति पार्टी केवल ‘पुराना दलविरोधी’ शक्ति होइन। यो कोशीको विशेष राजनीतिक मनोविज्ञानसँग जोडिएको वैकल्पिक शक्ति बन्न खोजिरहेको छ।
सुदन किरातीको आगमनले दिएको अर्को संकेत
श्रम संस्कृति पार्टीमा सुदन किरातीको प्रवेशलाई सामान्य पार्टी परिवर्तनका रूपमा हेर्नु राजनीतिक रूपमा कमजोर विश्लेषण हुनेछ। किनकि किराती आफैँ लामो राजनीतिक अनुभव भएका नेता हुन्। उनको आगमनले श्रम संस्कृति पार्टीको राजनीतिक क्षितिजलाई फराकिलो बनाउने सम्भावना बोकेको छ। हर्क साम्पाङसँग जनआकर्षण छ। किरातीसँग राजनीतिक अनुभव छ। यदि यी दुई पूँजी सही ढंगले संयोजन भए भने पार्टीले एउटा नयाँ राजनीतिक संरचना निर्माण गर्न सक्छ। तर यहीँ एउटा खतरा पनि छ। पुराना दलका नेता भित्र्याउँदै जाँदा नयाँ दल पुरानै दलको नयाँ संस्करण बन्न सक्छ। जनताले नयाँ झण्डा मात्र खोजेका होइनन्। उनीहरूले नयाँ राजनीतिक संस्कार खोजेका हुन्।
यदि श्रम संस्कृति पार्टीमा पनि गुट बन्न थाले, पदका लागि संघर्ष सुरु भयो, टिकट वितरणमा पुरानै शैली आयो, नेता–कार्यकर्ताबीच दूरी बढ्यो र सत्ता नै अन्तिम लक्ष्य बन्यो भने हर्क साम्पाङको सम्पूर्ण राजनीतिक प्रयोगमाथि प्रश्न उठ्नेछ। त्यसैले पुराना दलबाट नेता भित्र्याउनु मात्र विस्तार होइन। उनीहरूलाई नयाँ राजनीतिक संस्कृतिमा रूपान्तरण गर्नु वास्तविक चुनौती हो।
हर्कका लागि पनि अब ‘माफ गर्ने समय’ सकियो
यहाँ एउटा कुरा स्पष्ट हुनुपर्छ। पुराना दल असफल हुँदैछन् भन्दैमा नयाँ दल स्वतः सफल हुँदैन। जनताको असन्तुष्टिमा सवार भएर चुनाव जित्न सकिन्छ। तर देश चलाउन सकिँदैन। सडकमा श्रम गर्न सजिलो छ- राज्यको जटिल अर्थतन्त्र चलाउन कठिन छ। भ्रष्टाचारविरुद्ध बोल्न सजिलो छस भ्रष्टाचार रोक्ने संस्थागत संरचना बनाउन कठिन छ। पुराना दललाई गाली गर्न सजिलो छस आफैँ सत्ता सञ्चालन गर्दा पारदर्शिता कायम राख्न कठिन छ। त्यसैले श्रम संस्कृति पार्टीको असली परीक्षा अब सुरु भएको छ।
संसदमा पुगेपछि उसले बजेट, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, रोजगारी, परराष्ट्र नीति, संघीयता, प्रशासन सुधार र प्रदेश अधिकारका विषयमा स्पष्ट दृष्टिकोण दिनुपर्नेछ। ‘हामी फरक छौँ’ भन्नु पर्याप्त हुँदैन। फरक कसरी छौँ भन्ने देखाउनुपर्छ।
‘पहरेदार’ बन्ने कि अर्को सत्ताधारी बन्ने ?
श्रम संस्कृति पार्टीका सांसदहरूले आफूहरूलाई संसदमा ‘पहरेदार’का रूपमा प्रस्तुत गरेका छन् – सरकारका राम्रा काममा समर्थन र गलत काममा खबरदारी गर्ने। यो लोकतन्त्रका लागि स्वस्थ भूमिका हो।तर नेपाली राजनीतिमा विपक्षमा हुँदा पहरेदार र सत्तामा पुगेपछि पुरानै शैली अपनाउने उदाहरण कम छैन। त्यसैले श्रम संस्कृति पार्टीको विश्वसनीयता एउटा कठोर परीक्षणबाट गुज्रनेछ। उसले आफूलाई मन नपर्ने सरकारको मात्र होइन, आफूलाई फाइदा पुग्ने सरकारको गलत निर्णयको पनि विरोध गर्न सक्छ कि सक्दैन ? आफ्नै पार्टीका नेता गलत हुँदा कारबाही गर्न सक्छ कि सक्दैन ? आफ्नै समर्थकले नियम मिच्दा त्यसलाई रोक्न सक्छ कि सक्दैन ? यही प्रश्नले श्रम संस्कृति पार्टी नयाँ शक्ति हो कि पुरानो संस्कृतिको अर्को संस्करण हो भन्ने निर्धारण गर्नेछ।
पुराना दलका लागि हर्कभन्दा ठूलो खतरा ‘हर्क बन्ने चाहना’ हो
कांग्रेस, एमाले र हालको नेकपाका लागि सबैभन्दा ठूलो खतरा हर्क साम्पाङ स्वयं होइनन्। सबैभन्दा ठूलो खतरा त उनीहरूका आफ्नै कार्यकर्ताले हर्क बन्ने चाहना राख्न थाल्नु हो। अर्थात् जनतामाझ जाने। श्रम गर्ने। स्थानीय समस्या उठाउने। नेताको वरिपरि घुम्नुभन्दा जनताको बीचमा बस्ने। टिकट र पदभन्दा परिणामलाई प्राथमिकता दिने।
यदि पुराना दलका कार्यकर्ताले यही प्रश्न आफ्नै नेतृत्वसँग सोध्न थाले भने संगठनभित्रको पुरानो अनुशासन कमजोर हुन सक्छ। त्यसैले हर्कको उदयको सबैभन्दा ठूलो प्रभाव चुनावी मतमा होइन, राजनीतिक व्यवहारको तुलनामा पर्न सक्छ।
अब नेताले भाषण गरेपछि जनताले सोध्ने छन् काम कहाँ छ ? पार्टीले समाजवाद भन्यो भने सोधिनेछ-श्रम कहाँ छ ? सुशासन भन्यो भने सोधिनेछ-तपाईंको आफ्नै पार्टीभित्र सुशासन कहाँ छ ? पहिचानको कुरा गर्यो भने सोधिनेछ निर्णय प्रक्रियामा हाम्रो प्रतिनिधित्व कहाँ छ ? यही प्रश्नहरूको चाप पुराना दलमाथि बढ्दै जानेछ।
कोशीबाट सुरु भएको संकेत देशभर पुग्ला ?
श्रम संस्कृति पार्टीको सबैभन्दा ठूलो सम्भावना पनि यही हो र जोखिम पनि यही। कोशीमा पहिचान, श्रम र स्थानीय असन्तुष्टिको संयोजनले यसलाई उर्वर भूमि दिएको छ। तर यही राजनीतिक सूत्र देशका सबै भूगोलमा समान रूपमा लागू हुन्छ भन्ने छैन। मधेशको राजनीतिक मनोविज्ञान फरक छ। कर्णालीको प्राथमिकता फरक छ। सुदूरपश्चिमको राजनीतिक संरचना फरक छ। काठमाडौंको मतदाता र ग्रामीण नेपालको मतदाता एउटै मनोविज्ञानमा छैन। त्यसैले श्रम संस्कृति पार्टीले ‘हर्कको लोकप्रियता’लाई ‘राष्ट्रिय राजनीतिक सिद्धान्त’मा बदल्न सक्नुपर्छ।
त्यसका लागि उसले श्रमलाई राष्ट्रिय अर्थतन्त्रसँग, पहिचानलाई समावेशी लोकतन्त्रसँग, स्थानीयतालाई संघीय शासनसँग र जनआक्रोशलाई नीतिगत सुधारसँग जोड्नुपर्नेछ। त्यो गर्न सके श्रम संस्कृति पार्टी एउटा क्षेत्रीय लहरबाट राष्ट्रिय विकल्प बन्न सक्छ। नसके कोशीको एउटा राजनीतिक प्रयोगमै सीमित हुन सक्छ।
हर्कको उदयभन्दा पुराना दलको पतन ठूलो समाचार हो
हर्क साम्पाङको उदय आफैँमा समाचार हो। तर त्योभन्दा ठूलो समाचार हो-किन हर्कको आवश्यकता महसुस भयो ? जनताले अचानक हर्कलाई रोजेका होइनन्। लामो समयदेखि जम्मा भएको असन्तुष्टिले उनलाई एउटा अवसर दिएको हो। पुराना दलका शीर्ष नेताहरूले यो कुरा बुझ्न ढिला गरे भने समस्या हर्कसँग हुनेछैनस समस्या उनीहरूकै संगठनसँग हुनेछ। आज श्रम संस्कृति पार्टीमा पुराना दलका नेता-कार्यकर्ता प्रवेश गरिरहेका छन्। भोलि त्यही आकर्षण अझ विस्तार भयो भने त्यसलाई ‘दल बदल्ने अवसरवादी प्रवृत्ति’ भनेर मात्र खारेज गर्न मिल्नेछैन। किनकि अवसरवादीहरू सधैँ अवसर भएको ठाउँमा जान्छन्। यदि अवसर पुराना दलभित्रै थियो भने उनीहरू त्यहाँबाट किन बाहिरिन्थे ?
यही प्रश्नको उत्तर खोज्नु कांग्रेस, एमाले, नेकपा र अन्य परम्परागत दलका लागि अब राजनीतिक विलासिता होइन, अस्तित्वको प्रश्न हो। हर्क साम्पाङले पुराना दलको किल्ला तोडिसकेका छन् कि छैनन्, यसको फैसला गर्न अझै समय लाग्छ। तर एउटा कुरा भने स्पष्ट भइसकेको छ किल्लाको पर्खालमा चिरा परेको छ। त्यो चिरा चुनावी परिणामले मात्र परेको होइन। जनताको मनोविज्ञानले पारेको हो।
श्रम संस्कृति पार्टी सफल हुन्छ कि असफल, हर्क साम्पाङ राष्ट्रिय नेता बन्छन् कि कोशीका सीमित राजनीतिक पात्रमै रहन्छन् यी सबै प्रश्न भविष्यले तय गर्नेछ। तर आजको यथार्थ यति हो नेपाली जनता अब पुराना दलसँग इतिहासको हिसाब होइन, वर्तमानको हिसाब मागिरहेका छन्। र हर्क साम्पाङको सबैभन्दा ठूलो राजनीतिक उपलब्धि यही हो कि उनले पुराना दललाई एउटा असहज प्रश्न सोध्न बाध्य बनाएका छन् ‘तपाईंहरूले यति लामो समय राजनीति गर्नुभयो, तर जनताले अब तपाईंहरूलाई किन पत्याउनुपर्छ ?’ यस प्रश्नको उत्तर हर्कले होइन, अब कांग्रेस, एमाले, नेकपा र अन्य पुराना दलले दिनुपर्नेछ। किनकि नयाँ राजनीतिक शक्तिको जन्मभन्दा पनि खतरनाक कुरा हुन्छ पुराना शक्तिले आफ्नो पतनको कारण बुझ्न अस्वीकार गर्नु।


