सुनकोशीमा बगेका सपनाहरू – शिशिर भण्डारी

अ+
अ
अ-

– शिशिर भण्डारी

पहाड कहिल्यै
एकैचोटि भत्किँदैन ।

ऊ
हरेक वर्षा
अलि–अलि गरेर झर्छ ।

पहाडसँगै
गोरेटो बग्छ ।
वन बग्छ ।
माटो बग्छ ।

र,
कहिलेकाहीँ
एउटा सपना पनि ।

देश पनि सायद
यसरी नै भत्किँदो रहेछ—
न आवाज निकालेर,
न धुलो उडाएर,
मानिसका आँखाभित्रबाट
अलि–अलि गरेर ।

नदीले
कहिल्यै
कसैको सपना मागेको थिएन ।
ऊ त केवल
किनाराले जोगाउन नसकेकाहरू
बोकेर बग्छ ।

यस वर्ष पनि
सुनकोशीको पानीमा
दुई वृद्ध अनुहार
बिस्तारै हराए ।

तर नदीलाई कहाँ थाहा थियो—
ती आँखाहरूले
मृत्युभन्दा धेरै
जीवन कुरेका थिए ।

औषधि कुरेका थिए ।
उपचार कुरेका थिए ।
र,
देशले एकपटक
आफ्नोतिर फर्केर हेर्ला भन्ने
सानो भरोसा कुरेका थिए ।

रोग
शरीरभित्र मात्रै पलाउँदैन ।

ऊ त्यही दिन जन्मिन्छ,
जुन दिन
अस्पतालको ढोकामा
मानिसले आफ्नो नाडीभन्दा पहिले
आफ्नो खल्ती छाम्नुपर्छ ।

ऊ त्यही दिन बढ्छ,
जुन दिन
रोगसँग लड्ने साहसभन्दा
बिल तिर्ने डर ठूलो हुन्छ ।

ऊ त्यही दिन असाध्य हुन्छ,
जुन दिन
सरकार
नागरिकको अनुहार होइन,
प्रतिवेदनका अंकहरू पढ्न थाल्छ ।

एउटा बुबा
पुरानो प्रेस्क्रिप्सन पट्याउँदै
आफ्नो पीडा पनि
पट्याउन खोजिरहेका हुन्छन् ।

एउटी आमा
आफ्नो अनुहारभरि
मुस्कान ओढ्छिन्,
किनकि
छोराछोरीका आँखामा
आँसु देख्नु
रोगभन्दा धेरै दुख्छ ।

कतिपय सन्तानहरू
बुबाआमालाई बचाउने चाहना
र
आर्थिक असहायताबीच
हरेक रात हारिरहेका हुन्छन् ।

मानिस सजिलै मर्दैन।
ऊ त
बाँच्ने सबै ढोकामा
धैर्यले ढकढक्याउँछ ।
एउटा ढोका ।
अर्को ढोका ।
फेरि अर्को ।

तर
जब हरेक ढोकाभित्रबाट
मौन मात्रै फर्किन्छ,
त्यतिबेला
सुनकोसी गहिरो भएर होइन—
आशा उथलो भएर मानिस डुब्छ ।

यहाँ
भवनहरू अझै अग्लिँदै छन् ।
भाषणहरू अझै लामिँदै छन् ।
घोषणाहरू अझै चम्किरहेका छन् ।

तर
एउटा बिरामीको घरमा
आज पनि
औषधिभन्दा पहिले
ऋणको हिसाब खुल्छ ।

कतिपय रातहरूमा
मानिसलाई मृत्युले होइन,
बाँचिरहनु पर्ने
कारणहरूको अभावले थकाउँछ ।

देशको नक्सामा
सुनकोशीलाई
निलो रेखा मात्रै नकोर्नू ।

त्यहाँ
धितो परेका खेतहरूको हरियो छ ।
बेचिएका गहनाको पहेँलो छ ।
विद्यालय नपुगेका सपनाहरूको सेतो छ ।
अधुरा उपचारहरूको दुखाई छ ।
र
बाँच्न चाहँदा–चाहँदै
हार मान्न बाध्य भएका नागरिकहरूको
अदृश्य रगत पनि मिसिएको छ ।

सबैभन्दा ठूलो विपत्ति
नदीले मानिस बगाउनु होइन ।

सबैभन्दा ठूलो विपत्ति त
त्यो दिन हो,
जुन दिन
मानिसले
बाँच्नु कठिन र
हार मान्नु सहज
ठान्न थाल्छ ।

त्यो हार
एउटा परिवारको मात्र हुँदैन ।
त्यो हार
पूरै राष्ट्रको
विवेकमा लेखिएको घाउ हुन्छ ।

त्यसपछि
सुनकोशीमा
दुई जना मात्र बगिरहेका हुँदैनन्—
एउटा देशको
नागरिकप्रतिको दायित्व बगिरहेको हुन्छ ।
एउटा पुस्ताको
भोलिप्रतिको भरोसा बगिरहेको हुन्छ ।

र
हामीले
जोगाउन सक्थ्यौँ तर जोगाउन नसकेका सपनाहरू
चुपचाप बगिरहेका हुन्छन् ।

– २०८३ साउन २१ गते ।