काभ्रेपलान्चोक । धुलिखेल अस्पतालले आगामी भदौ १ गतेदेखि बहिरंग सेवामा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन गर्ने जनाएको छ।
अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डबाट निर्धारित स्वास्थ्य बीमा थैलीमा भएको आर्थिक तथा प्राविधिक सीमितताका कारण स्थगन भएको स्वास्थ्य बीमा गत असार ३० गते बीमा बोर्डले परिमार्जन गरेको उल्लेख छ।
परिमार्जनपछि आर्थिक सहजता र भुक्तानीको सुनिश्चिततामा आश्वासन प्राप्त भएकाले भदौ १ गतेदेखि बहिरंग सेवामा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन गरिने अस्पतालले जनाएको हो।
अस्पतालका अनुसार नेपाल सरकारले ताेकेकाे बिदा हुने दिन, आइतबार लगायत सार्वजनिक बिदाका दिन स्वास्थ्य बीमा सेवा सञ्चालन हुने छैन।
त्यस्तै, स्वास्थ्य बीमा सेवा लिन आउँदा सेवाग्राहीले यसअघि नै प्रथम सेवा बिन्दुबाट जारी गरिएको रेफरल पुर्जी अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।


