काठमाडौ । बिपी काेइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो प्रत्यारोपण सेवा सुरु गर्ने तयारी तीव्र पारिएको छ।
नेपाल सरकारको सहकार्यमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भवन निर्माण, अत्याधुनिक उपकरण व्यवस्थापन तथा चिकित्सक र नर्सलाई तालिम प्रदान गर्ने योजना अघि बढाइएको हो ।
अस्पतालका निमित्त निर्देशक डा. उमेश नेपालीका अनुसार केही साताअघि चिनियाँ प्राविधिक टोलीसँग बोन म्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनबारे विस्तृत छलफल गरिएको थियो।
बोन म्यारो शरीरका हड्डीभित्र रहेको नरम तन्तु हो, जहाँ रातो रक्तकोश (RBC), सेतो रक्तकोश (WBC) र प्लेटलेट्स उत्पादन हुन्छन्। एप्लास्टिक एनेमिया, रक्त क्यान्सर (ल्युकेमिया) तथा बोन म्यारोसँग सम्बन्धित अन्य रोगका कारण यी रक्तकोश उत्पादनमा समस्या आएमा बोन म्यारो प्रत्यारोपण आवश्यक पर्न सक्छ।
चिकित्सकहरूका अनुसार बोन म्यारो परीक्षण वा प्रत्यारोपणका लागि सामान्यतया सुईमार्फत बोन म्यारो वा रगतको नमुना लिइन्छ, जसमा ठूलो चिरफार गर्नुपर्ने आवश्यकता पर्दैन।
परियोजना कार्यान्वयनका लागि चीन सरकारले करिब ३७ मिलियन चिनियाँ युआन खर्च गर्ने जनाएको छ। यस सम्बन्धमा नेपाल सरकार र चिनियाँ अन्तर्राष्ट्रिय सहयोग निकाय बीच सम्झौता भइसकेको छ।
वि.सं. २०५१ सालमा चीन सरकारकै सहयोगमा स्थापना भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यो सेवा सञ्चालनमा आएपछि नेपालमै जटिल रक्तसम्बन्धी क्यान्सरको उपचार सहज हुने र क्यान्सर उपचार सेवाले नयाँ फड्को मार्ने चिकित्सकहरूको विश्वास छ।


