तातो पानी पिउनु स्वास्थ्यका लागि लाभदायक, कब्जियत र तौल नियन्त्रणमा सहयोग पुग्ने

+
-

काठमाडौं । चिकित्सकहरूले शरीरलाई स्वस्थ राख्न पर्याप्त मात्रामा पानी पिउन सल्लाह दिने गरेका छन्। केही मानिसले तातो पानी पिउने बानी अपनाउने गरेका छन् भने केहीले चिसो पानीलाई प्राथमिकता दिने गर्छन्। स्वास्थ्य विज्ञहरूका अनुसार उचित तापक्रमको तातो पानी पिउनुले विभिन्न स्वास्थ्य लाभ प्राप्त हुन सक्छ।

विशेषगरी बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ। विज्ञहरूका अनुसार करिब ५४ देखि ७१ डिग्री सेल्सियस तापक्रमको पानी उपयुक्त मानिन्छ। यसभन्दा अत्यधिक तातो पानी पिउँदा मुख, घाँटी तथा अन्ननलीमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताइन्छ।

तातो पानीबाट निस्कने वाफले नाक बन्द हुने समस्या कम गर्न, सहज रूपमा सास फेर्न तथा घाँटीको असहजता घटाउन सहयोग गर्ने विश्वास गरिन्छ। केही अध्ययनहरूले तातो पानीले नाक, घाँटी, खोकी र थकानबाट राहत दिलाउन मद्दत गर्न सक्ने देखाएका छन्। साथै पाचन प्रक्रियामा सहयोग पुग्ने, कब्जियत कम गर्न मद्दत गर्ने र रक्तसञ्चार प्रणालीलाई सक्रिय बनाउन पनि तातो पानी उपयोगी हुन सक्ने उल्लेख गरिएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार नियमित रूपमा मनतातो पानी पिउनुले तौल नियन्त्रणमा पनि सकारात्मक योगदान पुर्‍याउन सक्छ। यद्यपि तातो पानी मात्र पिउँदैमा तौल घट्ने होइन। सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ जीवनशैलीसँगै यसको प्रभाव अझ बढी देखिन सक्ने स्वास्थ्य विज्ञहरूको सुझाव छ।