– चन्द्रबहादुर लामा
झ्यालको चौघेराभित्रबाट बाहिर हेर्दा आकाश कहिले असाध्यै खुल्ला र कहिले बकुल्लो रङ्गको उदास लाग्छ। हिजो साँझ त्यही आकाशमा रङ्गहरूको उत्सव थियो, आज त्यही आकाश शून्यको महासागर बनेर मेरो सामुन्ने उभिएको छ। के आकाश परिवर्तन भएको हो? या मेरो आँखाको नानीभित्र तैरिरहेको मनको मौसम फेरिएको हो? एउटा शाश्वत सत्य मेरो मस्तिष्कको भित्तामा ठोक्किरहन आइपुग्छ कि हामी संसारलाई त्यस्तो देख्दैनौँ जस्तो त्यो वास्तवमा छ, बरु हामी संसारलाई त्यस्तो देख्छौँ जस्ता हामी आफैँ छौँ।
मेरो टेबलमा एउटा पुरानो चश्मा छ। त्यसको लेन्समा केही धुलो जमेको छ। जब म त्यो चश्मा लगाएर बगैँचातिर हेर्छु, फूलहरू धमिलो देखिन्छन् र पुतलीका रङ्गहरू हराएजस्तो भान हुन्छ। मैले बगैँचालाई “कस्तो कुरुप” भनेर सराप्नुअघि एकपटक आफ्नै चश्माको सिसा पुछ्नुपर्ने हुन्छ। जीवन पनि ठ्याक्कै त्यस्तै एउटा चश्मा हो, जसलाई हामीले आफ्ना अनुभव, पूर्वाग्रह, शिक्षा र संवेगका धागोहरूले बुनेका छौँ। हामी प्रत्येक व्यक्तिको एउटा आफ्नै निजी संसार छ, जुन बाहिरको साझा संसारभन्दा नितान्त भिन्न छ।
म सम्झन्छु, बाल्यकालमा झरी पर्दा मलाई लाग्थ्यो कि आकाश रोइरहेको छ। किनकि त्यसबेला मेरो मनमा एउटा अज्ञात डर र एक्लोपनको बादल मडारिइरहन्थ्यो। तर जब हुर्किँदै गएँ र प्रेमको पहिलो स्पर्शले मन अङ्कुरित भयो, त्यही झरी मलाई धर्तीको तिर्खा मेट्ने सङ्गीत जस्तो लाग्न थाल्यो। पानी त्यही थियो, हाइड्रोजन र अक्सिजनको त्यही मेल, तर मेरो “म” फेरिएको हुनाले वर्षाको परिभाषा नै बदलियो। संसार त केवल एउटा रित्तो क्यानभास रहेछ, जसमा हामी आफ्नै भावनाको कुचीले रङ्ग भरिरहेका हुन्छौँ।
हाम्रो चेतना एउटा यस्तो ऐना हो, जसले बाहिरको प्रकाशलाई मात्र परावर्तन गर्दैन, बरु भित्रको छायालाई पनि बाहिरै प्रक्षेपण गरिदिन्छ। एउटा लोभी मानिसलाई संसारका हरेक हातहरू आफ्नै खल्तीतिर सोझिएका जस्ता लाग्छन्। एउटा शङ्कालु प्रेमीलाई आफ्नी प्रेमिकाको सामान्य मुस्कानमा पनि षड्यन्त्रको गन्ध आउँछ। एउटा सन्तलाई ढुङ्गामा पनि देवताको आकृति देखिन्छ भने एउटा कसाईलाई जीवित प्राणीमा पनि केवल मासुको थुप्रो मात्र देखिन्छ। यी सबै दृष्टिकोणहरूमा संसार दोषी छैन, दोषी त त्यो लेन्स छ जसबाट ती मानिसहरू संसारलाई निहालिरहेका छन्।
मैले कतिपय साँझहरूमा सडकको किनारामा बसेर मानिसहरूको लर्को हेरेको छु। कसैका लागि त्यो सडक गन्तव्यमा पुग्ने मार्ग हो, कसैका लागि त्यो केवल धुलो र धुवाँको स्रोत हो, त कसैका लागि त्यो जीवन चलाउने व्यापारिक थलो हो। एउटै सडक, तर हजारौं अर्थहरू ! के सडकको आफ्नै कुनै अर्थ छ? सायद छैन। अर्थ त ती आँखाहरूले दिन्छन्, जो आफ्नै भोगाइको भारी बोकेर त्यहाँ हिँडिरहेका छन्। हामी जे खोज्छौँ, त्यही देख्छौँ। यदि हाम्रो मनमा शान्ति छ भने मरुभूमिको तातो हावामा पनि हामीलाई शितलताको आभास हुन सक्छ। तर यदि भित्र अशान्तिको भुमरी छ भने वातानुकूलित कोठाको नरम ओछ्यानमा पनि हामीलाई काँडा बिझेको महसुस हुन्छ। प्रख्यात साहित्यकार अनाइस निन्ले यसै सत्यलाई उद्घाटन गर्दै भनेकी छन्, “हामी संसारलाई त्यस्तो देख्दैनौँ जस्तो त्यो छ, बरु हामी त्यसलाई हामी जस्तो छौं त्यस्तो देख्छौँ।” हाम्रा संवेगहरूले निर्जीव वस्तुमा पनि प्राण भर्ने वा सुन्दर दृश्यलाई पनि विषाक्त बनाउने सामर्थ्य राख्छन्।
मानव इतिहासका पानाहरू पल्टाउँदा देखिन्छ कि ठूलाठूला युद्धहरू जमिनका लागि मात्र भएका थिएनन्, ती त फरकफरक दृष्टिकोणका टकरावहरू थिए। एउटाले जसलाई ‘धर्म’ देख्यो, अर्कोले त्यसैलाई ‘अधर्म’ ठान्यो। एउटाले जसलाई ‘स्वतन्त्रता’ भन्यो, अर्कोले त्यसलाई ‘विद्रोह’ को संज्ञा दियो। वास्तवमा सत्य त कतै बीचमा कतै मौन उभिएको थियो, तर मानिसहरूले आफ्नो अहङ्कारको रङ्ग दलेर त्यसलाई कुरुप बनाइदिए। जसरी दार्शनिक फ्रेडरिक नित्सेले दाबी गरेका थिए, “यहाँ कुनै तथ्यहरू छैनन्, छन् त केवल व्याख्याहरू मात्र।” हामी सत्यलाई देख्न चाहँदैनौँ, हामी त केवल आफ्नै धारणाको पुष्टि चाहन्छौं। हामी त्यस्ता मानिसहरूसँग संगत गर्न रुचाउँछौँ, जसले हाम्रो सोचाइलाई समर्थन गरुन्। यसरी हामी एउटा यस्तो कोठामा थुनिएका छौँ, जहाँ चारैतिर ऐनाहरू मात्र छन् र हामीलाई लाग्छ कि हामी पूरै संसार देखिरहेका छौं। तर वास्तवमा हामी केवल आफ्नै प्रतिविम्बहरू देखिरहेका हुन्छौँ।
मलाई कहिलेकाहीँ लाग्छ, यो संसार एउटा विशाल प्रतिध्वनि मात्र हो। तपाईं पहाडको टाकुरामा उभिएर ‘प्रेम’ भन्नुहोस्, पहाडले पनि ‘प्रेम’ नै फर्काउँछ। तपाई ‘घृणा’ भन्नुहोस्, प्रतिध्वनि पनि घृणाकै आउँछ। हामीले अरूमा देख्ने दोषहरू धेरैजसो हाम्रै अवचेतन मनका ती पाटाहरू हुन्, जसलाई हामीले स्वीकार गर्न सकेका छैनौँ। मनोविज्ञानमा यसलाई ‘प्रोजेक्सन’ भनिन्छ। जब हामी कसैलाई ‘स्वार्थी’ भन्छौँ, त्यतिबेला हामीले आफ्नो भित्र लुकेको स्वार्थको सानो अंश उसमा देखिरहेका हुन्छौँ। संसार त केवल एउटा पर्दा हो, जसमा हाम्रै मानसिक चलचित्र प्रदर्शन भइरहेको हुन्छ।
के हामी कहिल्यै संसारलाई ‘जस्तो छ त्यस्तै’ देख्न सक्छौं त? यो प्रश्नले मलाई धेरै रातहरूमा निद्राबाट ब्युझाएको छ। सायद त्यसका लागि हामीले आफ्नो ‘म’ लाई पूर्ण रूपमा त्याग्नुपर्ने हुन्छ। जबसम्म यो ‘म’ रूपी पर्खाल रहन्छ, तबसम्म दृश्यहरू विभाजित नै रहन्छन्। बुद्धले यसैलाई ‘शून्यता’ भनेका होलान्, जहाँ हेर्ने र हेरिने वस्तुबीचको दूरी समाप्त हुन्छ। तर हामी साधारण मानिसका लागि यो निकै कठिन यात्रा हो।
हामी त शब्द, भाषा, संस्कृति र परम्पराको जालोमा बाँधिएका छौं। हामीले कुनै वस्तु देख्नेबित्तिकै त्यसलाई एउटा नाम दिन्छौं, एउटा श्रेणीमा राख्छौँ र त्यसको मूल्यांकन गर्न थाल्छौँ। यसरी मूल्यांकन गर्ने प्रक्रिया सुरु हुनेबित्तिकै वस्तुको वास्तविक अस्तित्व ओझेलमा पर्छ र हाम्रो धारणा हाबी हुन्छ।
म एउटा लामो र एकान्त पदयात्रामा निस्किएको थिएँ, जहाँ उकाली र ओरालीहरू केवल जमिनका बनोट नभएर मेरा आफ्नै जीवनका उहापोहहरू जस्ता लाग्थे। त्यही पदयात्राका क्रममा एकपल्ट म पहाडको एउटा सानो गाउँमा पुगेको थिएँ। त्यहाँको एउटा वृद्ध बाले मलाई भन्नुभयो, ‘बाबु, यो हिमाल कहिले हाँस्छ, कहिले रुन्छ।’ मैले अचम्म मान्दै सोधें, ‘हिमाल पनि कतै रुन्छ र?’ उहाँले हाँस्दै भन्नुभयो, ‘तिम्रो मन रोएको दिन हेर्नू, हिमाल पनि आँसुले भिजेको देख्नेछौ।’ त्यो सरल गाउँलेको कुरामा कति ठूलो दर्शन लुकेको रहेछ ! हामी प्रकृतिको काखमा बसेर पनि प्रकृतिको भाषा बुझ्दैनौं, किनकि हामी आफ्नै विचारको कोलाहलमा व्यस्त छौँ। हामी चराको गीतमा संगीत होइन, आफ्नै उदासीको धुन सुन्छौँ। हामी फूलको सुगन्धमा सौन्दर्य होइन, आफ्नै अतृप्त इच्छाहरूको बास्ना खोज्छौँ।
संसारलाई हेर्ने हाम्रो यो तरिकाले हाम्रा सम्बन्धहरूलाई पनि परिभाषित गर्छ। हामी आफ्ना साथीभाइ, जीवनसाथी र सन्तानलाई पनि उनीहरूको मौलिकतामा देख्न सक्दैनौँ। हामी उनीहरूमा आफ्नै अपेक्षाहरूको प्रतिविम्ब खोज्छौँ। यदि उनीहरूले हाम्रा धारणाहरू अनुरूप व्यवहार गरेनन् भने हामीलाई लाग्छ कि उनीहरू फेरिए। तर वास्तवमा उनीहरू फेरिएका हुँदैनन्, केवल हाम्रो ‘अपेक्षाको ऐना’ चर्किएको हुन्छ। हामी अरूलाई आफू अनुकूल बनाउन खोज्छौँ, तर बिर्सिन्छौं कि हरेक मानिसको आफ्नै एउटा चश्मा छ र ऊ पनि संसारलाई आफ्नै ढङ्गले हेरिरहेको छ।
आजको यो डिजिटल युगमा त झन् हामी आफ्नै ‘इको च्याम्बर’ मा बन्द भएका छौँ। सामाजिक सञ्जालका अल्गोरिदमहरूले हामीलाई त्यही कुरा मात्र देखाउँछन्, जुन हामी देख्न चाहन्छौँ। यसले हाम्रो ‘म’ लाई अझ बलियो बनाएको छ र संसारलाई हेर्ने हाम्रो दृष्टिकोणलाई अझ साँघुरो पारेको छ। हामीलाई लाग्छ कि हाम्रो मोबाइलको स्क्रिनमा देखिने संसार नै अन्तिम सत्य हो। तर त्यो त केवल हाम्रो रुचि र बानीको एउटा फिल्टर गरिएको अंश मात्र हो। हामीले बिस्तारै अरूको दृष्टिकोण सुन्ने र बुझ्ने क्षमता गुमाउँदै गएका छौं। हामी सबै आ-आफ्नै ‘सत्य’ को टापुमा बसेका छौं र बीचको पुल भत्काउँदै छौँ।
मैले आफ्नै जीवनका पानाहरू पल्टाएर हेर्दा पाउँछु कि मेरा शत्रुहरू अरू कोही नभएर मेरै क्रोधका छायाहरू थिए। मेरा मित्रहरू अरू कोही नभएर मेरै प्रेमका विस्तारहरू थिए। संसार त एउटा विशाल प्रयोगशाला जस्तो रहेछ, जहाँ हामी आफैँमाथि प्रयोग गरिरहेका हुन्छौँ। यदि म आज खुसी छु भने मलाई लाग्छ कि संसार सुन्दर छ। यदि म दुखी छु भने मलाई लाग्छ कि यो संसार बस्न लायक छैन। तर संसार त दुवै स्थितिमा उस्तै थियो। यो त मेरो आन्तरिक ऊर्जाको स्तर हो, जसले बाहिरी जगतलाई रङ्गाइरहेको छ।
त्यसैले, यदि हामी संसारलाई बदल्न चाहन्छौँ भने सुरुमा आफूलाई बदल्नुपर्ने रहेछ। जब हाम्रो भित्रको प्रकाश उज्यालो हुन्छ, बाहिरको अँध्यारो आफैँ हराएर जान्छ। गान्धीले त्यसै भनेका होइनन्, “तिमी जे परिवर्तन संसारमा देख्न चाहन्छौ, पहिले आफैं त्यही बन।” हामी अरूको आँखाको कसिङ्गर देख्छौँ, तर आफ्नै आँखाको मुढो देख्दैनौँ। जब हामी आफ्ना पूर्वाग्रहहरूलाई त्यागेर अलिकति खुल्ला हृदयले संसारलाई हेर्न थाल्छौँ, तब मात्र हामीले विविधताको सौन्दर्यलाई बुझ्न सक्छौं।
यसरी हेर्दा, संसारलाई ‘म’ को चश्माबाट बाहिर निस्किएर हेर्नु नै वास्तविक ज्ञान हो। यो एउटा यस्तो यात्रा हो, जहाँ हामीले ‘थाहा छ’ भन्ने अहङ्कारबाट ‘थाहा छैन’ भन्ने विनम्रतातर्फ पाइला सार्नुपर्छ। जब म कुनै रूखलाई हेर्छु र त्यसलाई ‘रूख’ भन्ने विगतको नामकरण वा स्मृतिको लेपन नलगाई हेर्छु, त्यसको हरियोपन र जीवनलाई एउटा ताजापनमा महसुस गर्छु, तब मात्र म र त्यो रूखबीचको कृत्रिम पर्खाल ढल्छ। दार्शनिक जिद्द कृष्णमूर्तिले यसै अवस्थालाई ‘द्रष्टा र दृश्यको अभेद’ भनेका छन्। उनका अनुसार जबसम्म हामीभित्र ‘हेर्ने म’ र ‘हेरिने वस्तु’ बीच विभाजन रहन्छ, तबसम्म हामी सत्यलाई होइन, आफ्नै स्मृतिको प्रतिविम्बलाई मात्र देखिरहेका हुन्छौँ। त्यतिबेला म संसारलाई ‘म जस्तो छु’ भनेर होइन, बरु ‘संसार जस्तो छ’ त्यस्तै रूपमा अनुभव गर्छु। जसरी जर्मन दार्शनिक इमानुएल कान्टले पनि ‘फिनोमेना’ (हामीले देख्ने संसार) र ‘नुमेना’ (वस्तुको वास्तविक रूप) बीचको भिन्नता औंल्याएका थिए, हामी प्रायः आफ्नै मानसिक संरचनाले बनाएको ‘फिनोमेना’ मा मात्र अल्झिएका हुन्छौँ। तर यस्तो निष्काम र शुद्ध दृष्टिको क्षण विरलै आउँछ। धेरैजसो समय त म मेरै विचारको कारागारमा कैद हुन्छु।
यस कारागारको झ्यालबाट नियाल्दा, यो संसार एउटा महान् अवसर प्रतीत हुन्छ- आफैलाई चिन्ने। हामीले बाहिर जे देख्छौँ, त्यसले हाम्रो भित्रको स्थितिलाई दर्शाउँछ। यदि हामीलाई संसार कुरुप लागिरहेको छ भने, यो एउटा संकेत हो कि हाम्रो भित्र कतै केही निको हुन बाँकी छ। यदि हामीलाई संसार प्रेमिल लागिरहेको छ भने, यसको अर्थ हो कि हाम्रो भित्र प्रेमको मुहान फुटेको छ। हामी संसारको व्याख्या गर्दैनौं, हामी त केवल आफ्नै अवस्थाको वर्णन गरिरहेका हुन्छौँ।
अँध्यारो हुँदै गएको छ। झ्याल बाहिरका दृश्यहरू विस्तारै धमिलिँदै छन्। अब मलाई बाहिरको संसार स्पष्ट देखिन छाडेको छ, तर मेरो भित्रको चेतना भने अझ सचेत भएको महसुस भइरहेको छ। यो अन्धकारमा पनि म त्यही देख्छु, जुन मेरो स्मृति र कल्पनामा जीवित छ। संसार त आखिर एउटा खेल रहेछ; दृष्टिको खेल। र यो खेलमा हामी नै दर्शक हौं, हामी नै पर्दा हौं र हामी नै सिनेमा हौँ। संसारलाई दोष दिनुको सट्टा, म आफ्नै दृष्टिलाई अझ निर्मल बनाउने कोसिस गर्छ। किनकि मलाई थाहा छ, भोलि बिहान जब सूर्य उदाउनेछ, संसार त्यस्तै देखिनेछ जस्तो म भोलि बिहान हुनेछु।
यही नै जीवनको सबैभन्दा ठूलो रहस्य र सत्य हो। हामी संसारका निर्माता हौं, किनकि हामी नै त्यसका दृष्टा हौं। जसको दृष्टिमा अमृत छ, उसका लागि यो जगत् नै स्वर्ग हो। जसको दृष्टिमा विष छ, उसका लागि यो जगत् नै नर्क हो। त्यसैले, संसारलाई बदल्ने व्यर्थको दौडभन्दा आफ्नै ‘म’ लाई सफा गर्ने यात्रा नै उत्तम रहेछ। जब ‘म’ मेटिन्छ, तब मात्र संसारको वास्तविक रूप प्रकट हुन्छ। तर जबसम्म ‘म’ रहन्छ, संसार केवल मेरो एउटा सानो र अपूर्ण छाया मात्र बनिरहनेछ।
आजको यो एकान्तमा म आफैलाई सोध्छु, “के म आज संसारलाई यसको वास्तविक रूपमा देख्न तयार छु? या म अझै आफ्नै भ्रमको रङ्गीन चश्मामै रमाउन चाहन्छु?” उत्तर सायद मौनतामा लुकेको छ। तर एउटा कुरा निश्चित छ कि मेरो संसार त्यति नै ठूलो छ, जति ठूलो मेरो हृदय छ। मेरो संसार त्यति नै सुन्दर छ, जति सुन्दर मेरो विचार छ। म जे हुँ, त्यही मेरो संसार हो। विचित्रको विरोधाभास त यो छ कि म जसलाई खोजिरहेको छु उसैले मलाई खोजिरहेको छ, तर हामी दुवै आफ्नै प्रतिविम्बसँग डराएर विपरीत दिशातिर भागिरहेका छौं। मैले जति धेरै बाहिरका दृश्यहरूमा स्पष्टता खोज्दै गएँ, उति नै धेरै मभित्रको अन्धकार उज्यालो र बाहिरको उज्यालो अन्धकार बनिदियो। सायद यो संसार एउटा यस्तो मरुभूमि हो जहाँ मृगतृष्णा नै वास्तविक पानी हो, र जसले पानी भेट्टाउँछ, ऊ तिर्खाले होइन बरु ‘तृप्ति’ को बोझले मर्छ। म त्यही स्वतन्त्रताको खोजीमा भौँतारिरहेको छु जसले मलाई मेरै विचारको कारागारबाट मुक्त गरोस्, तर बिर्सिरहेको छु कि त्यो कारागारको ढोका र साँचो दुवै म आफैं हूँ। अन्तिम प्रश्न त यो बाँकी रहन्छ- के म यो संसारलाई हेरिरहेको छु, या यो संसारले मलाई एउटा ‘आँखा’ बनाएर आफैलाई निहालिरहेको छ?”


