फिर्ता भए आन्दोलनबाट स्वस्थकर्मि, आजदेखि स्वास्थ्य संस्था सुचारु

+
-

काठमाडौ । सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएपछि देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीले जारी राखेको आन्दोलन स्थगित भएको छ। यससँगै बिहीबारदेखि देशभरका स्वास्थ्य संस्थाको सेवा पूर्ण रूपमा सुचारु हुने भएको छ।

नारायणी अस्पताल, वीरगञ्जमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि नेपाल चिकित्सक संघको आह्वानमा देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका थिए।

बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री निसा मेहताको उपस्थितिमा सरकारका प्रतिनिधि र नेपाल चिकित्सक संघका पदाधिकारीबीच पाँच बुँदे सहमति भएपछि आन्दोलन फिर्ता लिइएको हो।

सहमतिअनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनका दफा २, ३ र १५ तथा मुलुकी अपराध संहिता, २०७४ का दफा २३२ र २३३ मा आवश्यक संशोधन गर्न आगामी प्रतिनिधिसभा अधिवेशनमा विधेयक पेस गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ।

यस्तै, नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहारमा संलग्न व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ बमोजिम कानुनी कारबाही अघि बढाउने प्रतिबद्धता सरकारले जनाएको छ।

नेपाल चिकित्सक संघले सहमतिपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको जनाएको छ। संघले बिहीबारदेखि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य सेवा सञ्चालन हुने जानकारी दिएको छ।