अ+
अ
अ-
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को नाफाका आधारमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र कामना सेवा विकास बैंक ले लाभांश वितरण गर्ने प्रस्ताव सार्वजनिक गरेका छन्। दुवै संस्था नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनी हुन्।
फर्स्ट माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८२/८३ मा १९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। संस्थाको प्रति सेयर आम्दानी (EPS) बढेर २२ रुपैयाँ २४ पैसा पुगेको छ। साथै, निष्क्रिय कर्जा (NPL) अघिल्लो वर्षको ३.८४ प्रतिशतबाट घटेर २.८० प्रतिशत मा झरेको छ, जुन यस क्षेत्रका धेरै संस्थाको तुलनामा सकारात्मक मानिएको छ। संस्थाले हालको नाफाका आधारमा १०.१३ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखाएको छ। बजार विश्लेषकहरूले बजार अवस्था अनुकूल रहेमा कम्पनीको सेयर मूल्य एक हजार रुपैयाँसम्म पुग्न सक्ने अनुमान गरेका छन्। हाल भने यसको सेयर करिब ७५० रुपैयाँ आसपास कारोबार भइरहेको छ।
यता, कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ मा ८९ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले अघिल्लो वर्षको तुलनामा करिब ४ प्रतिशत नाफा वृद्धि गरेको जनाएको छ। बैंकको निष्क्रिय कर्जा ३.४९ प्रतिशतबाट बढेर ३.७० प्रतिशत पुगेको भए पनि प्रति सेयर आम्दानी (EPS) १९ रुपैयाँबाट बढेर २३ रुपैयाँ पुगेको छ। प्रति सेयर नेटवर्थ १७१ रुपैयाँ रहेको बैंकले जनाएको छ। कामना सेवा विकास बैंकले पनि १५.१६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको उल्लेख गरेको छ। लाभांश घोषणापछि दुवै कम्पनीप्रति लगानीकर्ताको चासो बढ्ने अपेक्षा गरिएको छ।

