प्रवासबिचार/ब्लगमनोरञ्जनसमाचार
स्नेह सायमी र लक्ष्मी माली अग्रज स्रष्टासँग वर्तमान कवितामा

चैत १,आइतबार ,२०८२
काठमाडौ । वर्तमान कविता समूहद्वारा आयोजना गरिएको “अग्रज स्रष्टासँग वर्तमान कविता” कार्यक्रमको पहिलो शृंखला सम्पन्न भएको छ। यस कार्यक्रममा तीसको दशकदेखि कविता लेखनमा सक्रिय कवि स्नेह सायमी र कवि लक्ष्मी माली विशेष अग्रज स्रष्टाका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा वर्तमान कविता समूहका विश्व सिग्देलले “अग्रज स्रष्टासँग वर्तमान कविता” कार्यक्रमले अग्रज र अनुज पुस्ताबीचको संवाद विशेष अर्थपूर्ण हुने बताए। उनले अग्रज कविहरूले आफ्नो जीवन अनुभव, समयले दिएको संघर्ष र कविता सिर्जनामा संचित गरेको गहिरो संवेदना बोकेका हुने भएकाले अनुज पुस्ताले उनीहरूलाई सुन्नु आवश्यक रहेको उल्लेख गरे। अग्रज पुस्ताबाट अनुज कविहरूले भाषा र अभिव्यक्तिको परिपक्वता, साहित्यप्रतिको समर्पण, समाजप्रतिको उत्तरदायित्व र सिर्जनात्मक अनुशासन जस्ता मूल्यहरू ग्रहण गर्न सक्ने उनको भनाइ थियो।
त्यसैगरी अग्रज पुस्ताले पनि अनुज कविहरूलाई सुन्नु उत्तिकै महत्त्वपूर्ण हुने बताउँदै उनले नयाँ पुस्ताले समयको नयाँ संवेदना, परिवर्तनशील समाजका नयाँ प्रश्न र अभिव्यक्तिका नवीन शैलीहरू बोकेर आउने धारणा व्यक्त गरे। यसरी एक–अर्कालाई सुन्ने र बुझ्ने प्रक्रिया नै साहित्यलाई निरन्तर समृद्ध बनाउने पुल भएको उल्लेख गर्दै उनले आजको कार्यक्रमको रूपरेखा प्रस्तुत गरे र त्यसपछि अग्रज कवि स्नेह सायमीलाई बोल्नका लागि आमन्त्रण गरे।
काठमाडौँको रविभवनस्थित ‘रातो घर’ मा आयोजित सो विशेष साहित्यिक जमघटमा कवि स्नेह सायमीले आफ्नो पाँच दशक लामो काव्यिक यात्राका विविध आयामहरू प्रस्तुत गर्नुभयो। ३० को दशकदेखि नेपाली कवितामा अहोरात्र क्रियाशील सायमीले ८० वर्ष पुरानो सो घरको ऐतिहासिकतासँगै आफ्नो लेखनको सुरुवात, पञ्चायतकालीन संघर्ष र पारिजात दिदीसँग बिताएका अविस्मरणीय क्षणहरू स्मरण गर्नुभयो। २०३४-३६ को ताका शंकरदेव क्याम्पसमा पढ्दा अन्तर-क्याम्पस कविता प्रतियोगितामा प्रथम भएपछि दिग्गज कवि भूपि शेरचनसँग भएको भेट र उहाँबाट प्राप्त प्रोत्साहनले आफ्नो लेखनमा उर्जा थपेको उहाँले बताउनुभयो। तत्कालीन समयमा ‘अर्पण’ साप्ताहिकमा छापिएका मुक्त्तकदेखि ‘प्रतिभा प्रभा’ जस्ता साहित्यिक अभियान चलाउँदा प्रशासनले दिने सास्ती र निरंकुशताको समेत उहाँले चित्रण गर्नुभयो। सायमीले कार्यक्रममा ठिमीको सांस्कृतिक महत्त्व र परिवर्तनलाई समेटिएको ‘शंखधरको नुगःख्वा’, देशको दुरावस्था चित्रण गरिएको ‘राजमार्ग’ र आफ्नो चर्चित कविता ‘झोला’ वाचन गर्नुभयो। ‘झोला’ कवितामार्फत उहाँले २५ वर्षअघिको क्रान्तिकारी जोस र वर्तमानको प्रविधिमुखी समयबीचको तुलना गर्दै देशको झण्डा सिक्कामा कुँदिएको मार्मिक व्यङ्ग्य प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमकी अर्की प्रमुख स्रष्टा कवि लक्ष्मी मालीले आफ्नो बाल्यकालदेखिको साहित्यिक लगाव र संघर्षपूर्ण जीवनकथा प्रस्तुत गर्नुभयो। ४-५ कक्षादेखि नै कविता लेख्न सुरु गरेकी मालीलाई स्कुलको एक कार्यक्रममा भेट्न आएका महाकवि बालकृष्ण समले आफ्नै गाडीमा राखेर बालमन्दिर पुर्याएको क्षण उहाँले भावुक हुँदै सुनाउनुभयो। २०२८ सालमा ‘रत्नश्री’ मा पहिलो कविता छापिएपछि सुरु भएको उहाँको यात्रामा पारिवारिक जिम्मेवारी, बुबाको बिमारी र ३४ वर्ष लामो शिक्षण पेशाले गहिरो प्रभाव पारेको देखिन्छ। झापाको झ्यालपासियादेखि काठमाडौँका विद्यालयहरूमा हेडसरका रूपमा काम गर्दा उहाँले बालिका शिक्षाका लागि गरेको संघर्ष र बालविवाह विरुद्धको अभियान उहाँका कविताका मुख्य प्रेरणा हुन्। पारिजातको वैचारिक प्रभावले शोषित र उत्पीडितको पक्षमा लेख्न सिकाएको बताउँदै मालीले ‘नच्छे गल्ली’, ‘समर्पण’, ‘एकलव्य’ र ‘आमा तिम्रो नाम के हो’ जस्ता शक्तिशाली कविताहरू वाचन गर्नुभयो, जसमा आमाको अस्तित्व र पहिचानको प्रश्न सशक्त रूपमा उठाइएको थियो।
कार्यक्रममा सहभागी अन्य कविहरूले पनि आ-आफ्ना सिर्जनामार्फत समाजका विभिन्न पाटालाई उजागर गर्नुभयो। कवि भीष्म उप्रेतीले ‘बादल माथि मा’, ‘गुराँसको बोट’ र ‘मलाई चिन्न’ शीर्षकका कविता वाचन गर्दै प्रकृति र मानवीय धरातल बिर्सन नहुने सन्देश दिनुभयो। त्यस्तै विधान आचार्यले २०३६ देखि ४६ को दशकको विद्रोह र पञ्चायत कालको संघर्षलाई स्मरण गर्दै ‘पहाड उत्रेका’ र ‘ठिमी टु ठिमी’ कविता प्रस्तुत गर्नुभयो। कवि प्रोल्लास सिन्धुलीयले ‘जन्मजात क्रान्तिकारीको विज्ञप्ति’ र ‘सिमानाको हुलिया’ मार्फत देशको वर्तमान राजनीति र सहिदका सपनाहरूमाथि भइरहेको खेलबाडप्रति कडा व्यङ्ग्य प्रहार गर्नुभयो। महिलाका दुःख, सामाजिक पीडा र हिंसाका विरुद्धमा कवि अभय श्रेष्ठले ‘अखिल स्त्रीजनको दुखान्त प्रेम कथा’ र ‘गन्तव्य’ वाचन गर्नुभयो भने रिमा कार्कीले बलात्कारका घटना र महिला हिंसा विरुद्धको विद्रोही कविता ‘सृष्टिको प्रयोगशालामा’ प्रस्तुत गरी माहोललाई गम्भीर बनाउनुभयो।
यसैगरी, रीता बलामीले बालबालिकाको मनोविज्ञान समेटिएको ‘नकुट न मलाई’ कवितामार्फत स्नेह र मायाको सन्देश दिनुभयो भने अनिता लामाले ‘घर’ कवितामार्फत सहरका ठूला भवनभित्रको रित्तोपन र ममताको अभावलाई चित्रण गर्नुभयो। कवि बासुदेव अधिकारीले नयाँ पुस्ताको स्वभाव र प्रविधिप्रतिको आशक्तिलाई ‘जेन्जी (Gen Z) हरु’ र ‘मौनताको गीत’ मार्फत व्यक्त गर्नुभयो। रमी प्रियाले मानव मनका रहर र संघर्ष समेटिएको ‘रहर’ कविता सुनाउनुभयो भने चन्द्रबहादुर लामाले विश्वमा भइरहेका युद्ध र विस्थापनको पीडा झल्किने ‘खरानीका सपना र माटोको गन्ध’ र ‘हामी हरियो बिर्सिरहेका छौं’ वाचन गर्नुभयो। कार्यक्रमको अन्त्यतिर विश्व सिग्देलले ‘जोकर र देश’ र विश्व राजनीति र शक्ति राष्ट्रको दादागिरीमाथि व्यङ्ग्य गरिएको ‘बेगर मास्टर’ कविता प्रस्तुत गर्नुभएको थियो।
स्रष्टाको आफ्नै निवासमा पुगेर उहाँहरूको अनुभव सुन्ने र अनुज पुस्तासँग सिर्जना साटासाट गर्ने यस कार्यशैलीले नेपाली साहित्यमा पुस्तान्तरणको पुल निर्माण गर्न र सिर्जनात्मक अनुशासन कायम राख्न ठूलो योगदान पुर्याएको सहभागीहरूको निष्कर्ष थियो।
