समाचार
काभ्रेमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त छ – काभ्रे प्रहरी

फागुन २० बुधबार ,२०८२
काभ्रेपलाञ्चोक । यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै काभ्रेपलाञ्चोक जिल्लाभर सुरक्षा व्यवस्था चुस्त बनाइएको छ।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाभर व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नेपाल प्रहरीका १ हजार ३४ जना सुरक्षाकर्मी सहित निर्वाचन प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू जिल्लाका विभिन्न मतदान केन्द्र तथा संवेदनशील क्षेत्रमा खटिएका छन्।
जिल्ला सुरक्षा व्यवस्थापनमा कुनै कसुर बाँकी नराखिएको बताउँदै काभ्रे जिल्ला प्रहरी प्रमुख कोमल शाहले आम मतदातालाई ढुक्कका साथ मतदानमा सहभागी हुन आग्रह गरेका छन्।
उहाँका अनुसार सम्भावित जोखिम क्षेत्रको पहिचान गरी आवश्यक सतर्कता अपनाइएको छ भने मतदानको दिन सुरक्षामा विशेष निगरानी राखिनेछ। जिल्ला प्रशासन र सुरक्षा निकायबीच समन्वयात्मक बैठकहरू सम्पन्न भइसकेका छन्।
सुरक्षा निकायले सबै राजनीतिक दल, उम्मेदवार तथा मतदातालाई संयमता अपनाउन र निर्वाचन आचारसंहिता पालना गर्न समेत अनुरोध गरेका छन्।
