समाचार
एलआरआई स्कूलमा ३१औँ वार्षिकोत्सवको अवसरमा नमुना ‘बाल संसद´

फागुन २० बुधबार ,२०८२
काठमाडौँ । लर्निङ रिलम इन्टरनेश्नल स्कुल (LRI) ले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसरमा विद्यालय परिसरमा “बाल संसद” को नमुना सत्र भव्य रूपमा सम्पन्न गरेको छ। नेपाली विद्यार्थीहरूले नियमित रूपमा सञ्चालन गर्दै आएको उक्त नमुना संसद कार्यक्रम विद्यालयमै आयोजना गरिएको हो।
कार्यक्रम विद्यालयका प्राचार्य बादल प्रधान र निर्देशक डाक्टर देवकान्त जोशीकाे उपस्थितिमा पुर्व संसद सदस्य भरत राज गौतमले समुदघाटन गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले संसदीय प्रक्रिया, लोकतान्त्रिक अभ्यासको महत्त्व तथा युवापुस्ताको भूमिकाबारे प्रकाश पारे। साथै विद्यार्थीहरूलाई अनुशासन, जिम्मेवारी र नेतृत्व क्षमताको विकासतर्फ प्रेरित गरे।
नमुना संसद सत्रमा विद्यार्थीहरूले विभिन्न विधेयक प्रस्तुत गर्दै बहस–विवाद गरेका थिए। सभामुख, प्रधानमन्त्री, मन्त्री तथा विपक्षी दलका भूमिकामा विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रममार्फत बालबालिकामा लोकतान्त्रिक मूल्य–मान्यता, सार्वजनिक बोल्ने कला, समय व्यवस्थापन र निर्णय प्रक्रियाबारे व्यावहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्य राखिएको विद्यालयले जनाएको छ।
विद्यालयका प्राचार्य डा. बादल प्रधान, निर्देशक डा. देवकान्त जोशी तथा अन्य शिक्षक–अभिभावकको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। अभिभावकहरूले विद्यार्थीहरूको प्रस्तुतिको प्रशंसा गर्दै यस्ता कार्यक्रमले आत्मविश्वास र नेतृत्व विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
विद्यालयका अनुसार विगत केही वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको बाल संसद कार्यक्रमले विद्यार्थीहरूलाई जिम्मेवार नागरिक बन्न प्रेरित गर्दै आएको छ। आगामी दिनमा पनि यस्ता रचनात्मक तथा नेतृत्व विकासका कार्यक्रमलाई निरन्तरता दिइने विद्यालय प्रशासनले जनाएको छ।
