समाचार
टाटाको एच फाइभ एसयूभी नेपालमा
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एचफाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरिएको छ । सिप्रदीले भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भइरहेको नाडा अटो सो २०१९ मा टाटा एचफाइभ सार्वजनिक गरेको हो । भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको मूल्य नेपालीबजारमा सुरुआती मूल्य ५६ लाख पचपन्न हजार रुपैयाँ तोकिएको छ ।
क्रियोटेक दुई लिटर टबी डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ । एचफाइभमा रहेको इन्जिनले १ सय३८ बिएच पावर र ३ सय ५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एचफाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो । आकर्षक रहेको टाटा एचफाइभमा पुस बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफंसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् ।
४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा मोटर्स लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो । ४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा ग्रुपको एक हिस्सा टाटा मोटर्स भारतकै र बृहत रेन्जमा इन्टिग्रेटेड, स्मार्ट तथा इमोबिलिटी सलुसनहरू प्रदान गर्ने एकमात्र ओइएम हो ।


