समाचार

बनेपा–६ वडा साँस्कृतिक मञ्चको पहिलो बैठक सम्पन्न, कला–संस्कृति संरक्षणमा जोड

माघ १४, बुधबार २०८२
बनेपा । बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको वडा साँस्कृतिक मञ्चको पहिलो बैठक सम्पन्न भएको छ। मञ्चको दोस्रो साधारण सभा माघ ३ गते सम्पन्न भएको थियो, जसबाट धनपति दाहाल अध्यक्षमा चयन हुनुभएको थियो।

साधारण सभा पश्चात मञ्चको पहिलो बैठक बसेको हो। बैठकका प्रमुख अतिथि सचितानन्द के.सी. रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष धनपति दाहालले गर्नुभएको थियो।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि के.सी.ले वडा नम्बर ६ बहुधार्मिक तथा बहुसाँस्कृतिक क्षेत्र रहेको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धन अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले भौतिक संरचना मात्रै विकास नभएको स्पष्ट पार्दै समाजभित्र लुकेर रहेका बहुलता, कला र संस्कृतिलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

समाजभित्र लुकेका भित्री विषयलाई बाहिर ल्याउन सबैको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उहाँले सबै वर्ग र समुदायलाई समेटेर कला र संस्कृति संरक्षणमा वडा कार्यालय लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कला र संगीतबिना जीवन निरस हुने स्मरण गराउँदै यस्ता साँस्कृतिक गतिविधिले मानिसलाई डिप्रेसनबाट जोगाउन सहयोग गर्ने र समाजमा सकारात्मक ऊर्जा थप्ने उहाँको भनाइ थियो। वडाले यसअघि साँस्कृतिक मञ्च स्थापना गरी सांगीतिक सामग्री खरिद गरे पनि त्यो प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उल्लेख गर्दै अबका दिनमा निरन्तरता पाउने अपेक्षा व्यक्त गर्नुभयो।

नव नियुक्त पदाधिकारीहरूलाई मञ्चमा देखिएका समस्या समाधान गर्दै चुनौतीलाई अवसरमा रूपान्तरण गर्न आग्रह गर्दै उहाँले विगतका कमजोरीहरूको समीक्षा गरी आगामी दिनमा प्रभावकारी काम गर्न निर्देशन दिनुभयो।

कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष धनपति दाहालले माघ ३ गते वडा साँस्कृतिक मञ्च पुनर्जागृत भएको जानकारी दिनुभयो। वडाभित्र रहेका कला र प्रतिभालाई संरक्षण गर्न संस्था गठन गरिएको भए पनि विगतमा विधागत रूपमा प्रगति हुन नसकेको उल्लेख गर्नुभयो। हाल मञ्च पुनः सक्रिय बनेको भन्दै नयाँ कार्यसमिति चयनसँगै गतिविधि सुरु भएकोमा खुशी व्यक्त गर्नुभयो।

“विहानीले दिनको संकेत गर्छ” भन्ने उक्ति स्मरण गर्दै उहाँले मञ्चका गतिविधिले सकारात्मक सन्देश दिएको बताउनुभयो। बैठकमा कार्यक्रमहरूको समीक्षा गरिएको र वडाभित्र रहेका प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने अपेक्षा रहेको उहाँको भनाइ थियो।

बैठकमा उपस्थित मध्य वडा सदस्य राजु तिमल्सिना , कलाकारहरूमध्ये मञ्चका  सचिव सुदिप पौडेल उपाध्यक्ष श्रवण रिमाल,सदस्यहरु इन्दिरा बस्नेत   अम्विका आचार्य , राजु श्रेष्ठ लगायत  आ–आफ्ना साझा धारणा राख्दै मञ्चलाई सक्रिय र प्रभावकारी बनाउन सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

#बनेपा
#वडासाँस्कृतिकमञ्च
#कला_संस्कृति
#बहुसाँस्कृतिकसमाज
#स्थानीयसंस्कृति
#बनेपा६
#साँस्कृतिकसंरक्षण
#कला_प्रतिभा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *