समाचार

राष्ट्रिय संकटको बेला काङ्ग्रेसको भूमिका नै शक्ति मापनको आधार : महामन्त्री गगन थापा

२०८२पुस २७ आइतबार 

काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली काङ्ग्रेस एक सशक्त शक्ति भएको दाबी गर्नुभएको छ। छ।

आज काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले काङ्ग्रेसको शक्ति चुनाव जित्नु वा हार्नुले मात्र मापन नहुने स्पष्ट पार्नुभयो। उहाँले राष्ट्रिय संकटका बेला काङ्ग्रेसले खेल्ने भूमिकाले नै पार्टीको वास्तविक हैसियत निर्धारण हुने उल्लेख गर्नुभयो।

महामन्त्री थापाले कार्यक्रममा सहभागी हुन पाएका र सहभागी हुन नसकेका सबै काङ्ग्रेस कार्यकर्ता समान भएको धारणा राख्दै पार्टीभित्र विभेदको कुनै स्थान नहुने बताउनुभयो।

सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै उहाँले जिम्मेवारीका हिसाबले पद तल–माथि हुन सक्ने भए पनि कसैले आफूलाई ठूलो ठान्ने घमण्ड गर्न नहुनेमा जोड दिनुभयो। पार्टीको शक्ति सामूहिकतामा निहित हुने भन्दै उहाँले नेतृत्वदेखि कार्यकर्तासम्म सबैले विनम्रता र उत्तरदायित्व बोध गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

महामन्त्री थापाले काङ्ग्रेस चुनावी प्रक्रियाबाट पछि नहट्ने स्पष्ट गर्दै लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको मतमार्फत अघि बढ्नु नै पार्टीको मूल बाटो भएको बताउनुभयो।विशेष महाधिवेशनमार्फत पार्टीलाई थप एकताबद्ध, अनुशासित र जनमुखी बनाउने सन्देश प्रवाह भएको सहभागीहरूको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *